‘एमाले सांसदले पैसा र अस्मिता दुबै लुटे, राजनीतिक संरक्षणमा उनैलाई जोगाए’

‘एमाले सांसदले पैसा र अस्मिता दुबै लुटे, राजनीतिक संरक्षणमा उनैलाई जोगाए’

बलात्कार अभियोगमा जेल परेर धरौटीमा छुटेका र उनै महिलाको ३० लाख रुपैयाँ झ्वाम पारेको आरोपमा अरु दुई वटा मुद्दा खेपिरहेका एमाले सांसद मोहन बानियाँलाई राजनीतिक संरक्षणमा उन्मुक्ति दिन खोजिएको भन्दै पीडित महिलाले हारगुहार गरेकी छन् । हेलिकप्टर चढेर मुगु–नेपालगञ्ज–काठमाडौँ ओहोरदोहोर गरिरहेका र चालु संसद बैठकमा भाग लिरहेका बानियाँलाई प्रहरीले ‘फरार’ भनेपछि ती महिलाले न्याय माग्दै हारगुहार गरेकी हुन् ।

एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री बानियाँबाट दोहोरो अन्यायमा परेकी महिला हुन्, जुम्लाकी शान्ती शाही । मुगुका बानियाँ र शान्तिबीच लामो समयदेखि लेनदेनसहितको सघन सम्बन्ध थियो । शाहीसँग ३० लाख रुपैयाँ सापटी लिएका बानियाँले पैसा फिर्ता गर्न आनाकानी गरेपछि बढेको विवादले ६–७ वर्षदेखिको उनीहरुको अन्तरंग सम्बन्ध गत माघमा बाहिरिएको हो । र, अहिले मुद्दा मामिलाको तहमा पुगेको छ ।

सांसद बानियाँले माघ १९ गते नेपालगञ्जको होटलमा पैसा लिन बोलाएर बलात्कार गरेको भन्दै माघ २७ गते शान्तिले जिल्ला प्रहरी कार्यालय, बाँकेमा उजुरी दिएकी थिइन् । उजुरीपछि फागुन १६ गते सांसद बानियाँ नेपालगञ्ज विमानस्थलबाट पक्राउ परे । तर, उनलाई जिल्ला अदालत बाँकेले चैत २ गते धरौटीमा रिहा गर्न आदेश दिएपछि अहिले उनी निलम्बित सांसद पद फिर्ता पाएर निस्फिक्रीसँग डुलिरहेका छन् ।

धरौटी बुझाएर छुटेका सांसद बानियाँले त्यसपछि पनि सापटी रकम फिर्ता गर्न नचाहेपछि शान्तिले चेक अनादर र बैंकिंग कसूरसम्बन्धी दुइवटा मुद्दा हालेकी छन् । जिल्ला अदालतमा २५ लाखको चेकअनादर र जिल्ला प्रहरी कार्यालयमा पाँच लाखको बैंकिङ कसूरको मुद्दा हाले पनि प्रहरीको बेवास्ताले बानियाँ पक्राउ नपरेको शान्तिले गुनासो गरिन् । एमालेको पोलिटब्युरो सदस्यसमेत रहेका बानियाँको राजनीतिक प्रभावका आधारमा प्रहरीले जानाजान जोगाउन खोजेको उनको आशंका छ ।

‘यहाँको प्रहरीले एउटा चिठी मुगुलाई र अर्को काठमाडौँ बानेश्वरलाई पठाएको भन्छ । जिप्रका बाँकेले पत्र पठाएको दर्ता नम्बर पनि देखाएको छ । बानेश्वरलाई फोन गर्दा टोली नै खटाएर हामी पक्राउ गर्ने तयारीमा छौं तर के गर्नु कहीँ भेटिएको छैन भनेर टारिरहेको छ’, गुनासो गर्दै उनले भनिन्, ‘संसदमा गइरहेको छ, बोलिरहेको छ तर, प्रहरीले भेटिएन भन्छ । यसले सरासर उसलाई बचाउने खेल भइरहेको स्पष्ट हुन्छ ।’

यसअघि बलात्कारको मुद्दामा पनि त्यसैगरी धरौटीमा छुटाइएको उनले दाबी गरिन् । मुद्दा चलिरहेका बेला जिल्ला अदालतले आफूलाई जुम्ला पठाएर एकपक्षीय कुरा सुनेको र धरौटीमा छाड्न आदेश दिएको शान्तिको भनाइ छ । भन्छिन्, ‘मलाई स्कुलको काम मिलाएर आउनु भनेर जुम्ला पठाए, मैले वकिल राख्न पनि पाइन, सरकारी वकिलसँग कुराकानी गर्न पनि पाइन । आखिर एकलौटी कुरा सुनेर अदालतले धरौटीमा छाडिदियो ।’

तर, आफू अन्तिमसम्म न्यायको निम्ति लडिरहने हिम्मत जुटाएर लडाईंमा होमिएको भन्दै उनले भनिन्, ‘जिल्लाको फैसला आएको छैन । सर्वोच्च छ, उच्च अदालत छ न्याय कसो नपाइएला !’

बानियाँबाट आफू दोहोरो पीडामा परेको दुःखेसो पोखेकी शाहीले आफ्नो अस्मिता लुटिएको र जीवनभर पसिना बगाएर कमाएको पैसा पनि खाइदिएको बताइन् । ‘पीडित जो पनि हुन्छ, तर म जस्तो पीडित कोही छैन । अस्मिता लुट्यो, पसिनाले कमाएको ३५ लाख पनि लुट्यो । उ मज्जाले संसद बैठकमा बसेको छ तर नेपाल प्रहरीले भेटिएन भन्छ । मलाई कसले न्याय दिने ? पीडितको आवाज कसले बोलिदिने ?’

मुगुका बानियाँ एमालेबाट समानुपातिक सांसद हुन् । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनी केही समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने विना विभागीय मन्त्री भएका थिए । शान्ति जुम्लाको हिमा गाउँपालिका–५, बाझागारस्थित रुपाकोट आधारभूत सामुदायिक विद्यालयकी प्रिन्सिपल हुन् ।

शिक्षित महिला भएर पनि सांसदजस्तो व्यक्तिबाट पीडामा परेकी शान्तिको चिन्तासँगै प्रश्न छ, ‘म जत्तिको महिलालाई यस्तो गर्छन् भने यस्ता समस्यामा परेका अरु सोझा दिदीबहिनीहरुलाई यिनीहरुले के गर्लान् ?’ यत्रो अपराध गर्दासमेत एमालेले उनलाई पार्टीको जिम्मेवारीबाट नहटाएकोमा पनि उनले गुनासो गरिन् ।

टिप्पणीहरू