एमसिसी भन्दै हामीलाई मूर्ख बनाइएको छ

एमसिसी भन्दै हामीलाई मूर्ख बनाइएको छ

– मेजर जनरल राजेन्द्र थापा (रिटायर्ड)

अवकाशप्राप्त जर्नेल राजेन्द्र थापा चिरपरिचित नाम हो । जागिरे जीवनको अन्तिममा पाँडे पजनीमा परेर उनीसहितका दर्जनौं सैनिक अधिकारीहरूको करियर सिध्याइयो । गीत, संगीत र साहित्य लेखनमा समेत चर्चित थापाले सेवामा रहँदा अमेरिका, सोभियत युनियन, चीन र भारतमा करिब सात वर्ष उच्चस्तरीय तालिम हासिल गरे, कूटनीतिक सेवा, राष्ट्रिय सुरक्षा र सैनिक कला, विज्ञान विषयमा डिग्री हासिल गरेका उनी सैनिक प्रवक्ता तथा राष्ट्रिय सुरक्षा परिषद्को को–कोअर्डिनेटर पनि थिए । गृहको केन्द्रीय सुरक्षा समन्वय समितिमा सदस्य पनि बने । अवकाशपछि राजनीति, कूटनीति र सुरक्षा विश्लेषण गर्दै आएका छन् ।

– हरि गजुरेल

भनिन्छ, अमेरिकाले नेपाललाई दिल्लीको आँखाबाट हेर्दै आएको छ । नेपाल र अमेरिकाबीचको सम्बन्धलाई कसरी सुधार्न सकिएला ?

– नेपाल–अमेरिका, नेपाल–चीन, नेपाल–भारत तीन वटाको सम्बन्धलाई ओदानको रूपमा हेर्नुपर्छ । हाम्रो स्वार्थका लागि ओदानको एउटा खुट्टा अमेरिका हो, अर्काेतिर चीन र भारत । शीतयुद्ध चल्दा हामी कतै पनि लाग्दैनौं भनेर असंलग्न परराष्ट्र नीति लिइयो । सन् १९८९ मा सोभियत संघ टुक्रियो । परराष्ट्र नीतिले राष्ट्रिय हित हेर्नुपर्छ । हाम्रो काम भारत, चीन, अमेरिका वा अरु मुलुकको हित हेर्ने होइन । हाम्रो हितका लागि जे पनि लिने, हितका लागि जे पनि दिने । हाम्रा नेताहरू बिकाउ भए भन्ने सबैलाई थाहा छ । अरुण, महाकाली वा माओवादी युद्ध सबैलाई कुनै छिमेकीले प्रयोग ग¥यो ।

जोसुकै प्रयोग भए पनि नोक्सानी त हामीलाई नै हुने हो । आजको अवस्थामा हामी अमेरिकालाई माइनस गरेर बस्न सक्छौं र ? उता हाम्रा दुई छिमेकी बहुत शक्तिशाली छन् । ती मुलुकबाट हामीलाई लाभ पनि छ । दुईवटा मुलुकको टक्कर भइरहेको स्थितिमा दुवैलाई नेपालको महŒव छ । काउन्टर हुन बन्द भएपछि हाम्रो महŒव कम हुन्छ । पहिला अमेरिका र भारतको द्वन्द्व हुँदा जति महŒव दिइन्थ्यो, पछि अमेरिका र भारत नजिक हुँदा हामीलाई अमेरिकाले भारतको आँखाले हेर्न थाल्यो । भारत त यो क्षेत्रको दादा हो । उसको आँखाले हेरेपछि उसले जे भन्यो त्यही मान्ने भयो । अमेरिकाले नेपाललाई हेर्दा आफ्नै आँखाले हेरोस् न ! रुसले हेर्दा पनि उसकै आँखाले हेरोस् । रुसले पहिला भारतको आँखाले हेर्दा युएनको मेम्बरसिप नै दिएन । यी कुरा हाम्रा नेता, विज्ञले सोचेनन् ।

नेपाली सेनाले अमेरिकाबाट के–कस्ता सहयोग प्राप्त गरेको छ ?

– अमेरिका शक्तिशाली भएर निस्किएपछि उसले एसियामा रुचि देखायो । भारतमा ब्रिटिश थियो, डर भएन । नेपाल महŒवपूर्ण भन्ने सोच्यो र १९४७ मा नेपालसँगै सम्बन्ध राख्यो । उता अमेरिकाले बुझ्यो कि नेपालको विकास भएको खण्डमा मात्र उसलाई लाभ हुन्छ । ०१८ सालपछि कृषिमा चमत्कार भयो । ब्रोइलर कुखुरा, बंगुर, माछाका लागि ।

०१९ सालमा अमेरिकाले जीप, वायरलेस, ट्रक दियो । त्यतिखेर जर्नेलहरू साइकल चढ्थे । म मेजर हुँदासम्म त्यही वायरलेस सेट प्रयोग गथ्र्याैं । उसको इन्ट्रेस्टमा ती चीज दियो तर हाम्रो हितमा प्रयोग भएन । यहाँ धेरै चिज छ अमेरिकाको । उसको स्वार्थका लागि गरेको भए पनि हित त हाम्रो भयो नि !

नेपाल–भारत, नेपाल–चीन, नेपाल–अमेरिका सम्बन्ध सन्तुलित हुन नसक्नुमा कसको खोट देख्नुहुन्छ ?

– अहिलेको चीन चाहन्छ, कम्युनिष्ट पार्टी बढुन् तर हाम्रा पार्टीहरूले चीन र भारतसँग समदूरीको सम्बन्ध राख्नुप¥यो, उनीहरूको दासजस्तो भएर काम गर्नु भएन । नेपालको स्थिरता भए न चीन र भारतका लागि पनि फाइदा हुने हो । भारतले नेपाललाई मर्न नदिने, बाँच्न पनि नदिने अवस्थामा राखे पनि भद्रगोलले काम नहुने रहेछ भनेर नाकाबन्दी लगायो । चीन र भारतलाई कन्भिन्स गराउने काम त हाम्रो हो ।

एमसिसीको सबालमा नेपालका राष्ट्रवादी भनिनेहरू नांगिए भन्नुभयो, कसरी ?

– एमसिसीको व्यापक विरोध भयो । यसलाई राष्ट्रघात भनियो । अमेरिकी सेना आउँछ, नेपाली महिलालाई बलात्कार गर्छ भनियो । त्यो पत्याउने मूर्ख कस्तो हो ? हाम्रो र अमेरिकाको स्वार्थमा एउटा छिमेकी मुलुक संलग्न हुन हुन्छ वा हुँदैन ? चीन र नेपालको सम्बन्धमा भारत संलग्न हुन हुन्छ कि हुँदैन ? एमसिसीका सवालमा मान्छेलाई बेवकुफ बनाइएको छ । जापान सरकारले भक्तपुरको सडक बनायो । उसकै पैसा, शर्त पनि उसैको । यहाँका मान्छे लगाएर काम सकायो । हामीकहाँ त ऋण लिने र शर्त पनि उसैको हुन्छ । पहिला युएसएडमार्फत पैसा आउँथ्यो । ट्विन टावरको घटनापछि अमेरिकाले दिएको पैसाबाट कि त उग्र आतंककारी पैदा भयो, कि त भ्रष्टाचारी । त्यहीपछि उसले पैसा होइन, प्रोजेक्टमार्फत पैसा पठाउन थालेको हो ।

एमसिसीको पैसा आउने भनेको पूर्वाधार विकासमा लगाउन हो । पूर्वाधार नभई देश बन्दैन । महेन्द्रले पूर्वाधार विकास गरे, ०४६ सालपछि गिरिजाले पूर्वाधारै नष्ट पारिदिए । आज नेपाल सबै कुरामा भारतसँग निर्भर छ । ०४६ देखि ०७९ सम्म आइपुग्दा हामी कसरी खत्तम भयौं ? त्यही बुझेरै उसले पूर्वाधारमा पैसा पठाएको हो । हामीले आग्रह गरेर प्रोजेक्टका लागि पैसा दिएको हो । एमसिसीले यदि चीनको अहित हुन्थ्यो भने गर्नुहुँदैन । चीनले हामीलाई दिएको प्रोजेक्टले भारतको अहित हुन्छ भने त्यो लिन हुँदैन । हाम्रो जमिनमा आएको प्रोजेक्टले चीन र भारतको अहित हुन्छ भने त्यो लिन हुँदैन ।

जनता मूर्ख छ, उनीहरूमा चेतना छैन भने के गर्ने त ? यत्रो वर्ष केही नभएर अचानक अन्तिम समयमा विरोध गरिनु भनेको कसैको स्वार्थ होइन ? एमसिसीको विरोधमा सडकदेखि सदनसम्म कुर्लनेहरू उक्त सम्झौता पास हुनासाथ कसरी पानीको फोकाझैँ फुटे ? उक्त सम्झौता अनुमोदन भएको एक मीनेटमै बानेश्वरमा जारी महिनौंको विद्रोह एकाएक किन साम्य हुन पुग्यो ? यदि, यो राष्ट्रघात नै थियो भने झन मर्न र मार्न सडक कब्जा गरेर क्रान्तिको लागि गोली खानुपथ्र्याे । तर राष्ट्रघात भइसकेपछि पनि किन चुपचाप ? जब एमसिसी पास भयो त्यसपछि सबै खेल सकियो । किनभने कसैको निम्ति उक्त सम्झौता रोक्नु मात्र लक्ष्य थियो । तर रोक्न सकेनन् ।

एमसिसी राष्ट्रघात हो भने पास भएको भोलिपल्ट देशमा आगो लाग्नुपथ्र्याे । यदि, राष्ट्रघाती कदम नै थियो भने श्रीलंकामाझै नेताहरूलाई जुत्ताको माला लगाइदिनुपथ्र्यो । आफ्नै पार्टीका नेतालाई कसले त्यस्तो गर्ने ? यस्तो प्रोपोगण्डामा हाम्रो नयाँ पुस्ता लागिरह्यो भने मुलुकमा जतिसुकै राजनीतिक परिवर्तन आएर पनि के गर्ने ? तिनीहरूलाई जहिले पनि चीन, भारतले प्रयोग गरिरहने भयो । नाकाबन्दीमा कसरी जनतालाई बेवकुफ बनाइयो । जनतालाई भोकै राख्नेहरू राष्ट्रवादी कहलिए । डिप्लोम्याटिक तवरले समस्या सामाधान गर्ने पो राष्ट्रवादी ! राष्ट्रवादी त त्यो हो जस्ले मुलुकलाई विपतमा जानबाट बचाउँछ । तर, यहाँ त देशलाई नोक्सानीमा पु¥याएर लडाइँमा लैजाने नक्कली राष्ट्रवादको बिगबिगी छ ।

कालापानी र लिपुलेकको कुरालाई कसरी लिनुहुन्छ ?

– भारत नेपाल, नेपाल र चीनबीच सीमा समस्या छ । संसारको कुन मुलुक छैन, जहाँ सीमाको समस्या नभएको होस् ? शक्तिशाली मुलुकले आक्रमण गर्छ र यस्ता समस्या समाधान गर्छ । २०३० देखि सीमा कमिशन गठन भएको छ । महाकाली सन्धिको समयमा हामीबाट ठूलो ब्लण्डर भएको छ । कालापानी हाम्रो रहेछ भन्ने कुरा उठ्न थाल्यो । गीतबाट उत्तेजित बनाउन थालियो, माछी मार्न जाऊ न दाजै कालापानीमा भनेर । यस्ता नक्कली राष्ट्रवादले समस्या नै पर्छ ।

अर्काे विकल्प लिजमा दिने हो । सरकार त्यो मनस्थितिमा पुगिसकेको थियो, जसरी हङकङ बेलायतले लिजमा लिएको थियो । अहिले फेरि लिम्पियाधुराको कुरा निस्कियो । त्यसलाई राजनीतिकरण गरियो । नक्शामै हालियो । कुनै पनि मुलुकमा देशको नक्सा संविधानमा हालिँदैन । छिमेकीको सम्बन्धमा जनतालाई भड्काउनु हुँदैन । नक्सा त परिवर्तनशील हुन्छ । संविधानमै लेखिसकेपछि त्योभन्दा बढी जमिन हामीलाई अब चाहिएन !

हालसालै भएको युएस जनरलको नेपाल भ्रमणलाई एउटा अवकाशप्राप्त सैनिकको नजरले कसरी लिनुभएको छ ?

– सन् १९४७ मा अमेरिकासँग नेपालको सम्बन्ध भएपछि त्यताका भिआइपीहरू आइरहेका छन् । यताबाट भिआइपीहरू गइरहेका छन् । यो रेगुलर प्रोसेस हो । अहिलेका मिडिया नै नेपाल र अमेरिका, नेपाल र भारतबीचको सम्बन्ध खराब होस् भनेर खेलिरहेका छन् ।

लामो समय रुसमा बस्नुभयो । रुस र युक्रेनको युद्धलाई कसरी लिइरहनुभएको छ ?

– युक्रेनसँग प्रशस्त सम्पत्ति छ । ऊ नेटोमा नलागेको भए सबैभन्दा धनी मुलुक हुन्थ्यो । यो लडाइँ महिनाैँ जान्छ भनेर पहिल्यै भनेको थिएँ मैले । यो लडाइँ सकिएपछि पनि रसियाले छाड्दैन, अफगानिस्तानमा बसेझैं वर्षाैँसम्म आफ्नो प्रभाव जमाएर बसिरहन्छ । यो रसियाका निम्ति मृत्यु र जीवनसँगको सम्बन्धित प्वाइन्ट छ । रसियन सेनासँग सूचना कम रहेछ । जेलेस्की गइसक्थे अमेरिकाले लेटेस्ट हतियार नदिएको भए ।

यी दुई देश मिलाऊ भनेर जो आयो त्यसलाई अमेरिकाले उडाइदिने । पुरै प्रेस, आइएनजिओ र एनजिओ अमेरिकाको कन्ट्रोलमा । अहिले नेपालको पोजिसन युक्रेनको जस्तो छ । चीनबाट नेपाललाई कुनै ठूलो सुरक्षा खतरा हैन तर जमिनको मामलामा नेपालमा चीनको प्रभाव परेको खण्डमा भारतलाई ठूलो खतरा हुन्छ । यदि तराईसम्म चिनियाँ फोर्स आएको खण्डमा के हुन्छ ? त्यसैले नेपाल–चीन सम्बन्धमा भारतलाई घुसाउनु हुँदैन । भारत–नेपाल सम्बन्धमा चीनलाई घुसाउनु हुँदैन । जनता खराबभन्दा पनि जनतालाई यस्ता इस्युमा उठाउने तत्व खराब हो ।

सेनापतिपिच्छे सैनिक प्रशासनमा देखिने फरक–फरक नीतिले सैन्य सेवाको हित गर्छ कि हानि गर्छ ?

– कहिले फास्ट ट्र्याक भनेको छ । कहिले लास्ट ट्र्याक । भद्रगोल भइरहेको छ । तपाईं नेपालगञ्ज जानु छ, हरेक ठाउँमा गाडी चेञ्ज गर्दै जानु भयो भने के हालत हुन्छ ? संस्था पनि हरेक पटक परिवर्तन गर्न खोजेर बिग्रिएको हो । भारतको सेनामा त्यस्तो परिवर्तन छैन । सेनापति परिवर्तन हुनेबित्तिकै नीति परिवर्तन गर्ने, गणपति फेरिएलगत्तै नीति बदल्ने गरेर नेपाली सेनाको संगठन कहिल्यै बलियो र स्थिर हुँदैन । मान्छेले जागिर खाएको २५ वर्षपछि नयाँ नियम लगाइदिँदा के हाल हुन्छ ? त्यसको भुक्तभोगी हाम्रो व्याच हो ।

कुलबहादुरलाई चिफ बनाउनका लागि हामीलाई सिध्याइयो । दरबारले उठाएको कटवाल, ऋषिकुमारले उठाएको कुलबहादुर, त्यस्ता व्यक्तिले शक्तिकेन्द्र समाउने हुन् । जब सेनामा राजनीति उठ्छ, त्यहाँ द्वन्द्व हुन्छ । फास्ट ट्र्याकले नेपाली सेनाको एउटा पुस्तालाई ध्वस्तै पारिदियो । हामीलाई ऋषिकुमार पाँडेले ध्वस्त पारे, उसैगरी दामोदर पाँडेको पालामा पनि पाँडे पजनी भयो ।

खरिद, विकास निर्माण र अन्य आर्थिक मामिलामा सेनाको सक्रियता बढिरहेको छ । सेना सुरक्षामा भन्दा व्यावसायिक गतिविधिमा बढी तल्लीन भएन र ?

– आज नेपालमा जहाँ पनि सेनालाई गाली गरिएको हुन्छ । ठेक्का लिन्छ, व्यापार गर्छ भनेर । मन्त्री र नेताहरूलाई त नेपाली सेनासँग मिलेर ठेक्कापट्टाको काम गरेपछि बात पनि लाग्दैन । राजनीतिक व्यक्तिको स्वार्थका लागि, हाम्रो विकास निर्माणमा खटिने केही हाकिमका लाभका लागि एक लाख सेनाको बदनाम गर्ने कि नगर्ने ?औषधि, फास्ट ट्र्याक हाम्रो काम हो ? नेपाली सेनाले विकास निर्माणको काम गर्ने भनेको दुर्गम, विकट ठाउँमा मात्र हो । तर, ठेक्का लिएर गर्ने होइन । यस्ता ठेक्कापट्टाको काम नेपाली सेनालाई लगाउने सरकारको आलोचना हुँदैन तर यहाँ त सेनाको मात्र आलोचना गरिन्छ ।

अरु सेवाका कर्मचारीले संगठनभित्र न्याय नपाउँदा भन्न जाने, कुरा गर्न मिल्ने ठाउँ हुन्छन् । तर, सेनामा अन्याय भयो भनेर भन्न जाने र सुनाउने ठाउँ नहुँदा कति अधिकृतले आफ्नो करिअर गुमाए ?

– जसले पद पाउँदैन, उसले अखबारमार्फत अन्यायमा परेँ भन्छ । कति साँच्चै अन्यायमा पनि परेका छन् । हाम्रो लट नै अन्यायमा परेको हो । २१ सालको ब्याचपछि ०२८ सालको ब्याचबीच द्वन्द्व भयो । पहिले अन्याय पर्दा जाने ठाउँ दरबार मात्र थियो । अहिले अदालत जान पाइने भएको छ । अन्यन्त्र सिष्टम छ । कानुन, ऐनअनुसार चल्छ । हाम्रो पनि राम्रो कमाण्डरले हेरिरहेका छन् ।

बटालियन कमाण्डरको मन ठीक छैन भने उसले चम्चेको मात्र कुरा सुन्छ तर बाहिर आएका सबै विषय अन्याय होइन । अखबारले पो अन्याय भन्यो । त्यसरी छापिएपछि अन्याय भएको हो कि होइन भनेर नेपाली सेनाले खोज खबर गर्नुपर्ने हो । त्यसका लागि दुई पक्षकै कुरा सुन्नुपर्छ अनि पो अन्याय भएको हो वा होइन भन्ने कुरा थाहा हुन्छ ।

‘बेहोसीपछि त होसमा आउँदा क्या दामी भो’ भन्ने गीत यहाँले आफ्नै सैनिक जीवनसँग सम्बन्धित भएर लेख्नुभएको भनिन्छ । वास्तविकता के हो ?

– शक्तिकेन्द्रमा रहेकाहरू एकाएक भुइँमा पुग्दा कुन हालत हुन्छ ? सत्तामा हुँदा जो मै हुँ भन्छन् । मन्त्री, जर्साब, कर्साब, आइजी, डिआइजी, सचिवहरूलाई कसले छुन सक्छ ? खुस्किएपछि कसले गन्छ ? एक जना डिआइजीले रिटायर्डपछि मेरो गार्डले फोन नै उठाएन भनेर भन्दै हिँडे । त्यही बिम्बलाई प्रयोग गरेर लेखिएको हो ।

टिप्पणीहरू