‘पार्टी’ खाएर एमाले जनप्रतिनिधिले गरे विलासी भोजभतेर नगर्ने प्रण

‘पार्टी’ खाएर एमाले जनप्रतिनिधिले गरे विलासी भोजभतेर नगर्ने प्रण

नेकपा (एमाले) बाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले ‘सदाचारमा नमूना बन्ने’ संकल्प गरेका छन् । राजधानीमा आयोजित दुई दिने (हिजो र आज) तालिम तथा अभिमुखीकरण भेलापछि ‘काठमाडौं संकल्प’ जारी गर्दै उनीहरुले सदाचारी बन्ने प्रण गरेका हुन् ।

प्रशिक्षण भेलाले पारित २० बुँदे संकल्पमा भ्रष्टाचार नगर्ने, शासक नभई जनताको सेवक बन्ने, सुशासनका नमूना पालिका बनाउने, जनताको पीडामा अग्रपंक्तिमा उभिएर निस्वार्थ सेवाभावले काम गर्नेलगायत उल्लेख छ ।

साथै, धुम्रपान, मदिरापान र विलासी भोजभत्तेर नगर्ने पनि एमाले जनप्रतिनिधिहरुको अठोट छ । ‘धुम्रपान, सुर्तीजन्य पदार्थको प्रयोग, सार्वजनिक स्थानमा मदिरापान, विलासी भोजभत्तेर जस्ता कुरालाई निरुत्साहित गर्नेछौँ’, काठमाडौँ संकल्पको १६ नम्बर बुँदामा लेखिएको छ ।

पारदर्शिता, जवाफदेहिता र विधिको शासन र सुशासनमा विश्वास गर्ने प्रतिवद्धता जनाएका जनप्रतिनिधिहरुले आम सरोकारका सबै सूचनाहरुलाई पारदर्शी र सबैको पहुँचमा राख्ने संकल्प पनि गरेका छन् । त्यस्तै, पार्टीका सिद्धान्त, नीति र कार्यदिशाबाट दिशा निर्देशित हुने उनीहरुको प्रतिबद्धता छ ।

एमालेले नवनिर्वाचित आफ्ना जनप्रनिधिलाई प्रशिक्षण दिन काठमाडौंको सभागृहमा आयोजना गरेको भेलाको दोस्रो दिन संकल्पपत्र जारी गरेको हो ।

सदाचार र पारदर्शितामा जोड दिँदै विलासी नबन्ने र त्यस्ता भोज भतेरलाई निरुत्साहित गर्ने प्रण गराएको एमालेले तिनै जनप्रतिनिधिहरुलाई हिजो राती माइतीघर हाइटमा रहेको कार्की ब्याङ्क्वेटमा रात्रिभोज दिएको थियो । रात्रिभोजमा पार्टीका शीर्ष नेताहरु, सांसद, पालिका प्रमुख तथा उपप्रमुखहरूको सहभागिता थियो ।

टिप्पणीहरू