जर्साप ! ‘पञ्चायतको घाऊ’ अझै दुख्दैन ?

जर्साप ! ‘पञ्चायतको घाऊ’ अझै दुख्दैन ?

– पुरुषोत्तम लम्साल

पूर्वसैनिक सचिव, श्रीपेच र श्रीपेचधारी महाराजका बलशाली अंगरक्षक जर्नेल श्री ऋषिकुमार पाँडे सय वर्ष पुग्न अब पाँच वर्ष बाँकी रहेछ । बहत्तर जिल्ला त्रिहत्तर घरको उखानमा मिसाएर ब्याख्या गरिने जर्नेल श्रीमान्को शान, शौकत र ऐशआरामको जिन्दगीमाथि पहिले अलिअलि धमिरा लागेको सुनिएको थियो । तर अहिले बिल्कुलै धमिरा लागेको खबर जनआस्था साप्ताहिकमा पढ्दा कस्तोकस्तो लाग्यो ।

शास्त्र भन्छ कुल कुलीन, घर कुलीन र सार्वजनिक ओहोदा कुलीन भए पनि यदि कर्म र सोचले अकारण कसैलाई घात गर्दछ भने त्यो पाप हो । भागवत गीताका अनुसार अहंकारपूर्वक आफ्नो स्वार्थका लागि यदि कुनै कर्म गरिएको रहेछ वा भएको रहेछ भने त्यो पनि पाप हो । जसरी जीब्रोका स्वादका लागि कसैको बली चढाउनु पाप हो त्यसैगरी ब्यक्तिगत हितका लागि अरुलाई आघात गर्नु पनि पाप हो भन्दछ शास्त्रले । जर्साब, यतिबेला मलाई तपाईका सेनाले तात्कालीन पश्चिम १ नम्बर जिल्लाको नुवाकोटमा पर्ने भाल्डाँडामा लगाएको ‘प्वाँले’का कारण घरबारविहीन भएका ढ्याके मिजार जस्ता दर्जनौं पात्रहरूको पीडा र रोदनको आवृत्तिमा तपाईले भोगिरहेको कष्टसाध्य जिन्दगी पुनरावृत्ति भयो ।

अनि सोचें, कदाचित जर्साबले जीवनमा एकपटक गीता पढुन्, पहिले पढेको भए पुनः एकपटक दोहो¥याउन्, उमेरका कारण पढ्न नसके स्वस्थानी कथा झैं कसैबाट गीता श्रवण गरुन् र मोहको गंगा तरेर हिजोका उनका कर्मले पीडित भएका हाम्रा गाउँलेलाई ल भैगो भन्दिउन् । जर्साप ! ऊ बेला पनि मैले क्षेत्रपाटीस्थित आवासको वैठक कक्षमा बिन्ती बिसाको थें, ‘यो वैभव जम्मा गरिरहँदा भाल्डाँडाको घाऊ दुख्दैन ?’ भनेर । निमुखाले गरिखाएका एकाध गह्रा र सुर्का छाडेर तपाई गरिब हुनुहुन्न भन्दा ’अहो! तपाईंका लाललाल आँखा र भयानक मौनता !’

अनि त तपाईंले मलाई आफ्नै औंलाले पल्टाउँदै यो बेलायती महारानीको पत्र, यो जर्मन शीर्षक हिटलरले उपहार दिएको चक्कु भन्दै देखाउनु भा’थ्यो । ‘दुनियाँ मविरुद्ध लाग्यो र एकपटक पनि मसँग नसोधी बीसौं वर्ष समाचार बनाए र बजाए’ भन्ने गुनासो तपाईंकै शैलीमा पहिलोपटक सोध्ने क्रममा भन्नुभाथ्यो – यो राजनीति हो भनेर ।

तर तपाइले पनि नीति चैं झिकेर राज मात्र गर्नखोज्दा जन्मिएको हो नि भाल्डाँडामा पञ्चायतको एउटा घाऊ । होइन र? तपाइकाे कारण भूमिहीन बनेका, सुकुम्बासी बनेका ती गाउँलेका आँशुले तपाईंको बाटो छेकिरहेझैं लाग्दैन रु स्वर्ग भोगेर नरकजस्तो कहरको जिन्दगी बाँच्नपर्दा ग्लानि भइरहेको छ भने आध्यत्मिक शान्ति प्राप्त गर्न पनि ती गाउँलेका लुटिएको खुशी फिर्ता गर्दिनुस् जर्साप । यो पनि मोक्ष प्राप्त गर्ने एउटा बाटो हो । यसो भैदिए तपाईको व्यक्तित्वलाई होइन, सत्ता र शक्तिका कारण सृजित हुने प्रवृत्तिलाई केन्द्रमा राखेर पञ्चायतको घाऊ शीर्षकमा जहाँ, जे–जति लेखें त्यसका लागि मैले पनि तपाईसँग क्षमा माग्न पाउँथें ।

जर्साप, बोल्न सक्नुहुन्छ भने बोल्नुस् । तपाईंसँग इतिहासका बिष्फोटक सूचनाको भण्डार छ । त्यो भण्डारमा मोतीजस्ता चमचमपूर्ण कथाहरू पनि छन् । काजी कालु पाण्डेदेखिका विरासतले भरिएका तपाईको पूर्वजको इतिहास नै ज्याद्रो छ । तपाईसँग दोस्रो विश्वयुद्धदेखिका अनुभवका यावत् किस्सा छन् । नेपालको पहिलो रेडियोको अंग्रेजी समाचारका कथा छन् ।

८० वर्षअघिदेखिको सहिद स्मारक लिगदेखि नेपालको पहिलो गल्फ मैदानमा बनाइएका प्वालहरूका कथा छन् । बाग्मतीमा ¥याफ्टिङ गर्ने, काश्मिर मिसनका उभिने गोर्खाली सेनाका वृतान्त छन् । नेपालका दुई ठूला राजमार्गमा देखिएको भूराजनीतिका पत्रपत्रदेखि रसुवाको गणेश हिमाल शिशा परियोेजनाबाट कसरी भारतीय पक्षले नेपालको खनिजमा आँखा गाडेको थियो भन्ने सूचना छन् ।

जर्साप ! अस्पतालको जिन्नगी अजब सकसपूर्ण हुन्छ । अझ विशालकाय परिवारबाट एक्लिंदै, एक्लिंदै गएर नितान्त एक्लो हुनुको पीडा दुस्वप्न जस्तो हुन्छ होला । यो बेला अलिकति ब्रह्म खोलेर पञ्चायतको घाऊको त्यो एउटा अध्यायलाई बन्द गरिंदिंदा तपाईलाई पनि वैतरणी तर्न सहज हुन्छ ।

पूजापाठ, होम, रुद्री लगाएर ब्राह्मणलाई दान दिनभन्दा भाल्डाँडाका विपन्न वर्गको लुटिएको खुशी फिर्ता गरिदिनुभयो भने गौदान गरेको भन्दा पुण्य मिल्ला । किनकि, जसरी अरुको धन वा सम्पत्ति हडप्ने इच्छा पनि पाप हो त्यसरी नै अरुको धन वा सम्पत्ति हत्याउने विचार त्यागिदिनु धर्म हो ।

अपि चेदसी पापेभ्यः सर्वेभ्यः पापकृत्तमः
सर्वं ज्ञानप्लवेनैव वृजिनं सन्तरिष्यसि ।

टिप्पणीहरू