अचेल ब्यारेकमा हाकिम भेटिए अचम्म

अचेल ब्यारेकमा हाकिम भेटिए अचम्म

प्रधानमन्त्रीका स्वकीय सचिवको बहिनी ज्वाइँ भएकै नाताले व्याचसमेत उछिनेर कन्फर्म एसएसपी हुँदै एकैचोटि डिआइजीमा ‘रकेट प्रमोशन’ पर्खिएका दीपेन्द्र कुँवर अस्तिको बढुवा सिफारिसमा छुटेका छन् । अनि, एकैचोटि विभिन्न दर्जाको बढुवासम्बन्धी सूचना प्रकाशित हुँदा सशस्त्रका हाकिमहरु छुट्टी लिएर काठमाडौंमा थुप्रिने अचम्मको रोग देखिएको छ ।

३८ जनालाई एसपीमा बढुवा गर्नका लागि सूचना प्रकाशित हुँदा सयभन्दा बढी डिएसपीहरु आ–आफ्ना गण–गुल्म छोडेर काठमाडौंमा दौडधुप गर्दैछन् । एसपी बनाउनुपर्ने अधिकृतको चाप बढेपछि अस्ति सोमवार सशस्त्रले सिसं १ मा भर्ना भएका ९ अधिकृतलाई एसएसपी बढुवामा सिफारिस गरेको छ । यसैमा हो, प्रधानमन्त्रीले आदेश दिइसकेका कामु एसएसपी छुटेको । अहिले सिफारिस भएका एसएसपीमध्येबाट तीनजना डिआइजी हुन्छन् ।

सिसं २ का अधिकृतहरु अहिले कामु एसएसपी छन् । तीन भाइले डिआइजीमा बढुवा पाएपछि बल्ल सिसं २ का कामुहरुले कन्फर्म एसएसपी पाउँदैछन् । तर, त्यसो गर्नका लागि नियमावली संशोधन हुनुपर्ने स्थिति छ । अहिले कामुलाई कन्फर्म हुन चार वर्ष पूरा हुनुपर्ने नियम छ, त्यसलाई घटाएर तीन वर्षे बनाउनका लागि गृहमा प्रस्ताव गइसकेको छ ।

सोमवारको बढुवा सिफारिसमा भर्ना हुँदादेखि एसएसपीसम्म एक नम्बरमा रहेका सुरेशकुमार श्रेष्ठ दुई नम्बरमा झरेका छन्, दुईका दीपेन्द्र शाह एक भए, चारका पुरुषोत्तम थापा तीन, दीपक अधिकारी चारबाट पाँचमा गएर अञ्जनी पोखरेल चारमा उक्लिएका छन् । त्योभन्दा तलका आ–आफ्नै वरियतामा कायम छन् । सय पूर्णााङ्कको बढुवामा ४० नम्बरको कार्यसम्पादन मूल्याङ्कनसहित ज्येष्ठता, पदक, शैक्षिक योग्यता, तालिम, भौगोलिक क्षेत्र (दुर्गम) को नम्बर जोडिएका आधारमा वरियता तलमाथि परेको हो ।

तीन साताअघि लुकाइएको सूचनावाला बढुवा यही हो । तलका पदमा बढुवा जाम हुँदा माथिबाटै खालि गर्दै लैजानुपर्ने स्थिति भएपछि फोन गरेर दावेदारहरुलाई एक घण्टाभित्र फर्म भर्न भनिएको थियो । त्यसअघि एमाले सांसद खगराज अधिकारीले संसदमै सूचना लुकाइएको कुरा उठाएपछि दबाब थेग्न नसक्दा यसरी बढुवा निस्किएको हो । सूचना लुकाउनुको कारण थियो, प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वाइँ दीपेन्द्र कुँवरलाई यही लटको पहिलो नम्बरमा एसएसपी बनाउँदै डिआइजीमा लैजाने ।

तर, संसदमै कुरा उठेपछि दीपेन्द्र बढुवामा छुटेका छन् । अब उनले नियमावली संशोधन भएर कामु एसएसपीले कन्फर्म एसएसपी हुने अवधीअनुसार नै बढुवा पाउने छन् । यदि त्यो बढुवाबाट एक नम्बरमा परे भने सिसं १ बाट एकजना आइजी भएपछि केही महिनाका लागि आइजी हुनसक्छन् । सिसं २ का अधिकृत कुँवर सिसं १ र २ का कूल एसएसपीमध्ये सबैभन्दा तल २० औँ नम्बरका हुन् । उनले व्याच टपेर एक नम्बरमा आउन खोजेका थिए । पहिला पनि यसैगरी ७० नम्बरबाट ११ मा आएका हुन् ।

अब बाँकी रहेका ११ एसएसपीमध्ये उनी पहिलो नम्बरमा कन्फर्म हुने र एआइजी हुँदासम्म सिसं १ को लाइनमा गएर बस्ने, अर्थात् ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ खेलमा लागेका छन् । ‘ढाड’ भनेको सिसं २ का व्याचीहरु र ‘टाउको’ भनेको १ का सिनियरहरु हुन् । तर, यो खेलो त्यतिबेलासम्म शेरबहादुर देउवा नै प्रधानमन्त्री रहेसम्ममात्रै चल्छ । यसअघि नारायण पौडेललाई आइजी बनाउने खेलो बिग्रिसकेको छ ।

अब तीन वर्ष अहिलेका राजु अर्याल नै रहने र त्यसपछिको तीन वर्ष नारायण पौडेल हुने गरी आइजी पदको चार वर्षे पदावधि घटाउन लागिएको छ । यसअघिका १० औँ आइजी शैलेन्द्र खनालमात्र त्यस्ता भाग्यमानी हुन्, जसले दिन गनेर पूरै चार वर्ष खाए । यस्तो मौका त्यसअघिका आइजीसँग पनि थियो । तर, संस्थापक आइजी कृष्णमोहन श्रेष्ठ द्वन्द्वकालमा मारिए । त्यसपछिका सहवीर थापालाई ०६२/६३ को जनआन्दोलनले खाइदियो । उनीपछिका बासुदेव वलीलाई ३० वर्षेले लग्यो भने कोषराज वन्तसँग चार वर्ष चलाउने समय थियो, तर उनलाई पनि अख्तियारले लग्यो ।

किशोरकुमार लामा र पुष्पराम केसीले छोटो समयका लागि आइजी चलाए, ३० वर्षेका कारण छिट्टै घर गए । अहिले देखिएका अफिसर हुन्, वंशी दाहाल । उनले शैलेन्द्रले हुन्छ भन्दाभन्दै नम्बर बिगारीदिएका रहेछन् । उनको हकमा अहिले नै एआइजीको दरबन्दी थपिए टिक्छन्, नत्र डिआइजीमै घर जानुपर्ने स्थितिमा छन् । यसअघि डोटीकै ठाकुरमोहन श्रेष्ठ, सुरज श्रेष्ठ र प्रविण श्रेष्ठहरु पनि ‘होलान्–होलान्’ भन्दाभन्दै चिप्लिए । अब सशस्त्र प्रहरीमा नेपाली सेनाबाट समायोजन भएकामध्ये एकमात्र बाँकी छन्, सीपी गौतम ।

०६० साउनमा भर्ना भएका सिसं ३ का अधिकृतहरु अहिले एसपी बढुवाका लागि योग्य मानिएका छन् । त्यो व्याचमा ८०–९० जना भर्ना भएका थिए । तर, दरबन्दी छ, जम्मा ३८ जनाको । त्यसभित्रै पुराना आठ जना छन् । १८ जनाको पहिलो लट र २२ जनाको अर्को लट बढुवा हुन बाँकी छ । र, यही ३८ जनाभित्र पछिल्लो लटका अफिसरलाई पनि छिराउनुपर्ने चटारोले गर्दा सशस्त्रमा थेगिनसक्नुको दबाब र तनाव बढेको हो । भनिन्छ, सूचना निकाल्ने परिपाटी यसमा दोषी छ । आखिर जागिर खाएकै मितिदेखि सबैको रेकर्ड हेडक्वार्टरको कप्रले राखेकै हुन्छ ।

एकजना एसपी भन्छन्, ‘सूचना निकाल्नुको सट्टा मापदण्ड बनाएर भित्रभित्रै काम गरेको भए यस्तो दबाब हुने थिएन ।’ एसपीबाट एसएसपी हुनेमात्रै हैन, इन्स्पेक्टरबाट डिएसपीका लागि पनि यस्तै दौडधुप शुरु भएको छ । अहिले सिसं ७ को टोलीबाट डिएसपी बढुवाका लागि सूचना प्रकाशित भएको छ । उक्त व्याचका एक सय २२ जना इन्स्पेक्टर सबै छुट्टी लिएर काठमाडौं दौडिएका छन् । उनीहरु बढुवाका निम्ति काठमाडौंमा विभिन्न दलका नेता, व्यापारी र बिचौलिया खोज्दै छन् । यसै पनि देश जनप्रतिनिधिले भरिभराऊ छ । सबैका ठूलादेखि सानासम्मको पहुँच हुने नै भयो । भनिन्छ पनि, ‘प्रत्येक गाउँमा सांसद छन्, प्रत्येक टोलमा बिचौलिया †’ शक्तिकेन्द्रलाई प्रभावमा पारेर बढुवा हात पार्न हाकिमहरु यही भाउँतोमा दौडिरहेका छन् ।

घुमुवा फिर्ता

ठूलै हल्लिखल्लीका साथ सशस्त्रका घुमुवाहरु फिर्ता बोलाइयो । तर, फिर्ता भएको फौज फेरि पुरानै काममा लागिसकेको छ । उनीहरुले हल्चोक मुख्यालयको आदेशलाई गृहबाट बदर गराएका छन् ।

यसक्रममा मुख्यालय तानिएका रुपन्देही र पश्चिम नवलपरासीका सात घुमुवा भर्खरै फिर्ता भएका छन् । तानिएर फिर्ता हुनेमा बाहिनीका असई नीलकण्ठ भण्डारी, सहायक हवल्दार पुण्य पौडेल, प्रदीपजंग राणा, विष्णुबहादुर खड्का, जवान सन्निराम चौधरी र रञ्जित गैरेलगायतका हुन् । सहायक हवल्दार पौडेल, राणा र चौधरी रुपन्देही फिर्ता भए ।

जेठ १७ मा मानवस्रोत विभागका प्रमुख नारायणदत्त पौडेलद्वारा हस्ताक्षरित सञ्चार नं. ५०४२ को पत्रबाट उनीहरु गण्डकी र कर्णाली प्रदेशमा काज खटिएका थिए । तर, पत्र गायव पारी रुपन्देहीको टोलीलाई यथास्थितिमा फर्काइएको हो । पश्चिम नवलपरासीका जवानहरुलाई चाहिँ पहँुच नपुग्दा बाहिनीमा सरसफाईको काममा लगाइएको छ ।

कपिलवस्तुस्थित गणका एसपी सूर्यबहादुर सेन ओलीले एकजना घुमुवालाई ड्राइभर भन्दै आफूसँग राख्नका लागि आइजी राजु अर्याललाई झुक्याउँदा आपत परेको छ । उनले सहायक हवल्दार नरेश अर्याललाई ड्राइभर भनी राखेका थिए । आइजीले थाहा पाएपछि हेडक्वार्टर तानिए । उनलाई एसएसपी युवराज अर्यालले संरक्षण गर्दै आइरहेको स्रोतले जनाएको छ ।

रुपन्देही र कपिलवस्तुमा परिचालित घुमुवाहरुको पहुँच कोषराज वन्त आइजी हुँदादेखि नै ‘माथि–माथि’ को छ । तिनलाई एसएसपी युवराज अर्याल र एसपी होमबहादुर ज्ञवालीको संरक्षण रहेको बुझिएको छ ।

टिप्पणीहरू