किन नेपाल धाइधाइ विवाह गर्छन् विदेशी ?

किन नेपाल धाइधाइ विवाह गर्छन् विदेशी ?

पछिल्लो समय नेपालमा विदेशीसँग विवाह गर्ने चलन ह्वात्तै बढेको छ । आफ्नो भविष्य सुरक्षित हुने देखेरै त होला, नेपाली चेलीहरू विदेशी नागरिकसँग विवाह गर्न राजीखुशी हुने गरेको । नत्र विदेशी भनेपछि आफ्नो हजुरबुवा समानका व्यक्तिसँग किन कसैले विवाह गर्छ !

नेपाली र विदेशीबीच बिहे हुन्छ भन्ने कुरा त सबैलाई थाहै छ । किनकि यो परम्परा नै बनिसकेको छ तर अहिले विदेशी केटा र केटीसमेत नेपालमा आएर लगनगाँठो कस्न थालेका छन् । विदेशीहरू नेपाल आएर विवाह गर्नुको कारण के हो ? सर्वत्र चर्चाको विषय बनेको छ ।

ललितपुर जिल्ला अदालतमा यसबीच थुप्रै विदेशी नागरिकले विवाह दर्ता गराएका छन् । तीमध्ये हो, अष्ट्रेलियन जोडी । दर्ता प्रमाणपत्र नम्बर– ०७६–०२–०११९ मा उल्लिखित विवाहमा श्रेस्तेदार नगेन्द्रकुमार कालाखेतीले हस्ताक्षर गरेका छन् ।

अष्ट्रेलियन नागरिक ब्रेन्ट टेभोर डाउनिसले कारली श्री ब¥र्यानसँग ललितपुर जिल्ला अदालतबाट वैवाहिक जीवन शुरु गरेका हुन् । २०७६ फागुन २ गते दुवै जना अदालतमा उपस्थित भई मुलुकी देवानी संहिता, २०७४ को दफा ७७ बमोजिम दर्ता गरी विवाह बन्धनमा बाँधिएका थिए । अदालतले सोही संहिताको दफा ८०, उपदफा (२) बमोजिम विवाह दर्ता गराएको हो ।

त्यसैगरी, हालै मात्र संयुक्त राज्य अमेरिकाका केनेथ भ्याल्डेज गत जेठ १३ गते काठमाडौं बस्ने जुनु गिरीसँग वैवाहिक जीवनमा बाँधिएका छन् । शाखा अधिकृत राजेन्द्र लुइँटेलले उनलाई प्रमाणपत्र प्रदान गरेका छन् । उनीहरूको विवाह ०७८–०२–०२३५ नम्बरमा दर्ता भएको छ ।

दुवै जनाले एकअर्कालाई पतिपत्नीका रूपमा स्वीकार गर्छु भनेर मञ्जुरी जनाएपछि विवाह स्वीकृत गरेको अदालतले जनाएको छ । अध्यागमन विभागले केही दिनअघि मात्र ललितपुर जिल्ला अदालतलाई परिपत्र गर्दै अष्ट्रेलियन नागरिक ब्रेन्ट टेभोर डाउनिस र कारली श्री बर्यानले विवाह गरेका हुन् कि होइनन् यसको जवाफ पठाउन आग्रह गरेको छ ।सोही विभागले अचेल विवाह दर्तासम्बन्धी अभिलेखहरू अदालतसँग माग्न थालेको छ । पहिले विवाह दर्ता गर्ने काम जिल्ला प्रशासन कार्यालयले हेथ्र्याे । नयाँ मुलुकी ऐन जारी भएपछि अदालती विवाहलाई मात्र मान्यता दिइएको छ ।

जसकारण कतै विभागले भीसा एक्स्टेन्सनको बेला ‘फ्रड’ चेक गर्न लागेको त होइनन् भन्ने प्रश्न उब्जिएको छ । यता, विभागका महानिर्देशक नारायण भट्टराईले भन्नुभयो, ‘जो वैवाहिक भिसा लिन आउँछ, उसको हकमा प्रमाणपत्र चाहिन्छ । विदेशी–विदेशी नागरिक आएर नेपालमा विवाह गर्नु हाम्रो टाउको दुखाइको विषय होइन ।’ तर, विदेशी–विदेशी यहाँ आएर विवाह बन्धनमा बाँधिनु भने अचम्म भैदिएको छ ।

सँगै प्रश्न उब्जेको छ– अदालतले के आधारमा विदेशी नागरिकको विवाह दर्ता गरिदिन्छ ? अदालतमा हाजिर भएर हामी अब पतिपत्नी भयौं भन्दैमा पुग्छ ?
वरिष्ठ अधिवक्ता शशी अधिकारीले विदेशी नागरिकको विवाहलाई नेपाली कानुनले मान्यता दिएको जानकारी दिनुभएको छ । ‘आफ्नो मुलुकको कानुन अंग्रेजीमा उतारेर ल्याएपछि उनीहरूको विवाह दर्ता गरिन्छ’ उहाँले भन्नुभयो ।

साथै, सम्बन्धित मुलुकको नागरिकता, राजदूतावासले अविवाहित हुन् भनेर प्रमाणित गरेको कागजात पनि अनिवार्य पेश गर्नुपर्ने हुन्छ । अधिकारीका अनुसार पछिल्लो समय विदेशीहरू नेपालमै रोजगारी र यहीं बसोवास गर्ने भएकाले विवाह गर्ने क्रम बढेको हो ।

त्यसैगरी, अधिवक्ता विष्णुप्रसाद तिमिल्सनाका अनुसार नेपालमा अदालती विवाह गर्न सस्तो पर्ने भएकाले यहाँ ओइरिनेको संख्या बढेको हो ।

टिप्पणीहरू