यो युद्ध दोस्रो ‘ग्रेट गेम’ कि तेस्रो विश्वयुद्ध ?

यो युद्ध दोस्रो ‘ग्रेट गेम’ कि तेस्रो विश्वयुद्ध ?

– नारायणबाबु थापा

रुस–युक्रेन युद्धले सय दिन पार गरिसकेको छ । दुवै देशका हजारौं सैनिक मारिएका छन् । करिब एक करोड ४० लाखजति युक्रेनी नागरिक ज्यान जोगाउन छिमेकी देश पुगेका छन् । विश्वकै भूगोलमा सबैभन्दा ठूलो र अन्य शक्तिको हिसाबले अमेरिकापछिको दोस्रोे शक्तिशाली देश कुनै बेला आफ्नै अधिनस्थ, एकै फेडरेसनमा रहेको छिमेकी देशमाथि आक्रमण गर्न किन उद्यत भयो होला ?

सन् १८५३ देखि ५६ सम्मको क्रिमिया युद्धमा रुसले चार लाख पचास हजारसहित बेलायत, फ्रान्स, पिडमण्ड सार्डिनिया, अष्ट्रिया र तुर्की अटोमन साम्राज्यले करिब सवा दुई लाख सैनिकको क्षति व्यहोर्नुप¥यो । अन्तमा पेरिसको सन्धिपश्चात् रुसको पश्चिमतर्फ बढ्ने अभियान एकाएक रोकिएन मात्र, जारकालीन रुसी साम्राज्यको बर्चश्व एवं शक्तिमाथि नै प्रश्न उब्जियो । त्यसपछि रुस अरब क्षेत्र र मध्य एसियातिर अघि बढ्न थाल्यो । सन् १९०५ मा एसियाको सानो देश जापानसँग मञ्चुरिया युद्धमा शक्तिशाली रुस पराजित भएपछि विश्व शक्ति सन्तुलनमा गहिरो प्रभाव पर्न गयो र रुसी जारको सत्ता एवं साम्राज्यकै प्रतिष्ठामा समेत असर गर्न पुग्यो ।

उता त्यो बेलाको शक्तिशाली साम्राज्य ब्रिटिशलाई भारततर्फ रुसको प्रभाव बढ्ला भन्ने डर भयो । यहींबाट विश्व सामरिक एवं कूटनीतिक इतिहासमा ‘ग्रेट गेम’ थालिएको हो । रुसी जारशाही कम्युनिष्ट बोल्सेभिकहरूको क्रान्तिबाट ढलेपछि पनि ग्रेट गेम भने चलिनै रह्यो । बोल्सेभिकहरू पनि पश्चिमतर्फ अघि बढ्ने र स्वयं बेलायतमा मजदुरमार्फत सत्ता हत्याउने प्रयास गर्न पछि परेनन् । पश्चिमतर्फको योजना सफल हुन नसक्ने देखेपछि उनीहरूको ध्यान मध्यएसियातिर सोझियो । तुर्केमेनिस्तान, कजाकस्तान, उब्जेकिस्तान, अजरबैजान, किर्गिस्तानसँगै समग्र ब्रिटिश इण्डियातर्फ अघि बढ्ने योजनामा ऊ लाग्न थाल्यो ।

जारकालिन अवस्थादेखि नै रुसलाई तातोपानीको समुद्रसम्म पुग्ने महत्वाकांक्षा थियो । जसका लागि शुरुमा इरानमार्फत र पछि अफगानिस्तान भएर ब्रिटिश भारत अधिनस्थ बलुचिस्तान हुँदै हिन्द महासागरसम्म फैलिने कोशिश भयो । यसै सिलसिलामा ब्रिटिश भारतको अफगानिस्तानसँग तीनवटा युद्ध भयो र रुसी अभियानलाई रोक्न अनेकन प्रयास गरिए ।

तिब्बतसमेत रुसीहरूको प्रभावमा पर्न लागेको आकलनको आधारमा लर्ड कर्जनको शासनकालताका कर्णेल याेंगहस्ब्याण्डको अभियानले ल्हासासम्म सैनिक अभियान गरी हजारौं तिब्बतीहरूलाई मा¥यो र केही हदसम्म आफ्नो प्रभावमा ल्याउन सफल भयो । चीनको पश्चिमी भागमा रहेको पहिलाको पूर्वी तुर्कमेनिस्तान, चिनिया“ तुर्कमेनिस्तान र हाल सिन्जियाङ राज्यको कसगारमा दशकौंसम्म कन्सुलर कार्यालय राखेर मध्यएसियामा पहिला जारकालीन रुस र पछि बोल्सोभिकहरूको गतिविधिउपर निगरानी राखिरह्यो ।

सन् १९१७ को रुसी बोल्सेभिक क्रान्तिपश्चात् मध्य एसियाली देशमा क्रान्तिको नाममा सोभियत प्रभाव विस्तार भयो तर त्यो बिल्कुल सैनिक अभियान मात्र थिएन, त्यसभित्र कम्युनिष्ट सत्ता स्थापना गर्ने लक्ष्य नै प्रमुख थियो । लेनिनले स्थापना गरेको कम्युनिष्ट इन्टरनेशनल, कोमिन्टर्नले उक्त कार्यलाई अघि बढायो । लेनिनले बेलायती साम्राज्यलाई पहिलो दुश्मनको रूपमा परिभाषित गरेस“गै ब्रिटेनले भारतीय सरकारलाई सोभियतहरूको गतिविधि बुझ्न आदेश ग¥यो ।

यसै सिलसिलामा गभर्नर जनरलले खुफिया एजेन्सीका कर्णेल फ्रेडरिक माक्सम्यान बेलेलाई सिन्जियांगको कसगार हुँदै मध्य एसिया खटाए । बुखारा, समरकन्द, तासकन्द, र दुसान्वेहरूमा सोभियतहरूले धावा बोले । सोभियत सत्तालाई स्वीकार नगर्ने र प्रतिरोध गर्नेहरूको नरसंहार गरियो । विदेशीहरूलाई कडाइ गर्दै धरपकड शुरु भयो । कर्णेल बेलें स्वयं छद्म भेषमा सोभियत सेक्रेट एजेण्टको रूप धारण गरेर बाँच्नुप¥यो ।

यति गर्दा पनि पहिचान खुलेको कारण लामो पैदल यात्रा तय गरेर मात्र तेहरान छिर्न सफल भए । पछि नेपालमा राजदूतसमेत भएर सेवा गरे । ग्रेट गेमको अन्तिम खेलाडीको रूपमा उनैलाई लिइन्छ । पिटर होपकर्कले ‘सेटिङ दि इष्ट एब्लाज’मा उल्लेख गरेअनुसार विश्वभरि कम्युनिष्ट सत्ता स्थापना गर्ने अभियानअन्तर्गत लेनिनको पालादेखि नै कमिन्टर्नको नेतृत्वदायी भूमिका निर्वाह गरेका लियोन ट्रटस्की, ग्रिगोरी जिनोभेभ र मिखाइल बोरोदिनहरू स्टालिनको शिकार हुन पुगे । भारतमा ब्रिटिश साम्राज्य हटाएर कम्युनिष्ट शासन स्थापना गर्ने अभियानमा लागेका महावेन्द्र नाथ रोय जस्ताले एकाएक मस्को छाड्नुप¥यो ।

कोमिन्टर्नले गरेको मध्य एसियाको रक्तपातपूर्ण कथित क्रान्तिलाई प्रतिरोध गर्दै पउल नजारोफ, एनभर पासा, बारोन स्टनबर्ग र चिनियाँ वारलर्ड मा जोङगिङहरूले असफल विद्रोह मच्चाए । नजारोफले चिनियाँ तुर्किस्तान पस्न बाध्य हुनुप¥यो । एनभर पासा लड्दा लड्दै मारिए, म्याड बारोनको उपमा पाएका स्टनबर्गले मंगोलियन सत्तालाई बचाउन अन्तिम प्रयास गरे तर सोभियत सेनाबाट पक्राउपश्चात् फायरिङ स्क्वाडको शिकार हुनुप¥यो, मा जोङगिङ लड्दा लड्दै बेपत्ता पारिए ।

स्वयं चिनियाँ नेता सन यातसेन बोल्सेभिकहरूसँग नरम भए पनि उनको निधनपश्चात् सत्तामा आएका तर रेड जनरलको रूपमा चिनिएका च्याङ काइसेकको उदयले चीनमा बोल्सेभिक प्रभावलाई नराम्रो झट्का लाग्यो । चीनमा क्रान्ति सफल पार्न खटिएका मिखाइल बोरोदिनले क्याण्टोन नरसंहारपश्चात् हजारौं माइलको यात्रा तय गर्दै रुस फर्कन बाध्य हुनुप¥यो भने उनकी श्रीमती फायना बोरोदिनलाई क्रान्ति भड्काउन भूमिका खेलेको आरोपमा कोमिन्ताङहरूले झण्डै सफाया गरे । मुश्किलले जापान हुँदै भाग्न सफल भइन् । सोभियतहरूको पूर्वमा आगो लगाउने सेटिङले नराम्रो धक्का खायो ।

बेलायतलाई मुख्य दुश्मनको रूपमा परिभाषित गर्दै सकेसम्म हिन्द महासागरसम्म विस्तार गर्ने सोच राखेको सोभियत सत्तालाई त्यो बेला धक्का लाग्यो जब जर्मनीमा हिटलरको उदय भयो । नाजी सैनिकहरू मस्कोको करिब १८ माइल नजिकसम्म धावा बोल्दै अघि बढेपछि सोभियत संघ महान् देशभक्तिपूर्ण युद्धको नाममा बेलायतीसँग हात मिलाउन बाध्य हुनुप¥यो ।

सन् २०१४ मा एकाएक रुसी नागरिकको बाहुल्यताको नाममा सैन्य बलमार्फत कब्जामा लिइएको क्रिमियादेखि शुरु भएको रुस–युक्रेनको दुश्मनी अझै पूर्व क्षेत्रस्थित डोनेत्क्स र लुहान्स्कमा पृथकतावादीलाई उक्साएपछि र युक्रेनले आफ्नो सार्वभौमिकता जोगाउन पश्चिमा सैन्य गठबन्धन नेटोको सहारा खोजेपछि एकाएक चरम दुश्मनीको रूपमा परिणत हुन पुग्यो । यसै सिलसिलामा फेब्रुअरी २४ बाट लामो तयारीपश्चात् चौतर्फी रूपमा रुसले हमला गर्न थाल्यो ।

तर, केही दिनमै युक्रेनले रुसी सेना सामुन्ने घुँडा टेक्छ भन्ने आकलन मिथ्या सावित भएको छ । पश्चिमी जगतले लगाएको चौतर्फी नाकाबन्दीले रुसको अर्थतन्त्रमा नराम्रो असर पारिसकेको छ । यति मात्र नभई समग्र विश्वसमेत इन्धन तथा खाद्यान्नको संकट झेलिरहेको छ । लामो समय तटस्थ रूपमा रहेका र नेटो सैन्य सम्झौताको सदस्य नलिएका स्वीडेन र फिनल्याण्डले नेटो गुटमा सामेल भएर भविष्यमा हुन सक्ने रुसी सैनिक आक्रमणको सामना गर्ने भनेपछि रुस झन् एक्लिन थालेको देखिन्छ ।

अमेरिका, बेलायत, जर्मनजस्ता शक्तिशाली देशले युक्रेनलाई अत्याधुनिक सैनिक उपकरण घोषणा गरेरै उपलब्ध गराइरहेका छन् । स्वेच्छिक रूपमा रुसको प्रतिरोधी युद्धमा हजारौंको संख्यामा विदेशी स्वयंसेवीसमेत लडिरहेका छन् । हालै आएर अमेरिकाले ‘हाई मोबिलिटी आर्टिलरी रकेट सिष्टम’ उपलब्ध गराउन गइरहेको छ र उक्त हतियार चलाउनका लागि युक्रेनी सेनालाई आवश्यक तालिम प्रदान गरिरहेको छ ।

पहिल्यै उपलब्ध गराएको एम. ७७७ हाउत्जरको तुलनामा यो निकै असरदार हुने र रुसका सैन्य ठेगाना तथा बमवर्षक हेलिकोप्टर तथा विमानलाई सहजै निशाना बनाउन सक्ने ठानिएको छ । यसैगरी बेलायतले एफएच ७० हाउत्जर, फ्रान्सले १५५ एएएम, सेल्फ प्रोपेल्ड हाउत्जरजस्ता हतियार उपलब्ध गराइसकेको छ । यसैगरी क्यानाडा, स्पेन, बेल्जियम, नेदरल्याण्ड, इटाली, ग्रिस, जापान र अष्ट्रेलिया गरी करिब ३१ देशले प्रत्यक्ष सैनिक उपकरण उपलब्ध गराएर आफूलाई रुसीविरुद्धको युद्धमा युक्रेनसँगको ऐक्यबद्धता देखाएका छन् ।

यसरी हेर्दा छद्म रूपमा तेस्रोे विश्वयुद्ध एक प्रकारले शुरु भैसकेको प्रतित हुन जान्छ । मात्र मोर्चागत रूपमा युद्ध फ्रण्टियरमा बहुर्राष्ट्रिय सेनाहरू आमुन्ने सामुन्ने नभइसकेका होलान् तर युद्ध विश्वजगतकै दायरामा आइसकेको देखिन्छ । प्रथम विश्वयुद्धको बोस्नियाको सेरायेभो र दोस्रोे विश्वयुद्धको वार्सा ब्लिजक्रिगजस्ता कारण बाहिर नदेखिने गरी प्रकट नभएका मात्र हुन्, त्यो भन्दा बढी अन्तरनिहित परिघटना विश्व परिदृश्यले देखाइरहेको छ ।

आफूभन्दा सबै तवरमा सानो र कमजोर युक्रेनले लामो समयसम्म रुसी प्रतिरोधको सामना मात्र गरेको छैन, हजारौं सैनिक एवं गैरसैनिक नागरिकको हताहतीको बाबजुद पनि रुसी सेनालाई चौतफी मोर्चामा दरिलो टक्कर दिइरहेको छ । विभिन्न स्रोेतबाट पुष्टि भएअनुसार १२ जना रुसी जनरल मारिएका छन् । शुरुवाती आक्रमणको नेतृत्व गरेका रुसी कर्णेल जनरल गेन्नादी जिद्को बदलिएका छन् ।

उनको क्षमतामा प्रश्न उठाउँदै चेचेन युद्ध र पछि सिरिया युद्धका कमाण्डर जनरल अलेक्सान्दर दभोर्निकोभ जसलाई पश्चिमाहरूले उनले सिरियामा अपनाएको सैन्य नीतिलाई ‘स्कर्च अर्थ ट्याक्टिसियन’को रूपमा चिन्छन्, ले कमाण्ड सम्हालेका छन् । जल, थल र हवाई तीनै क्षेत्रबाट युक्रेन उपर हरसम्भव उपायद्वारा आक्रमण गरे पनि रुसी सैनिकको मनोबल भने गिर्दो अवस्थामा रहेको पाइन्छ ।

विश्व रंगमञ्चमा दोस्रोे ग्रेट गेमको मञ्चन भइरहेको छ, यसमा पनि पहिलाको जस्तै एक पात्र रुस नै छ भने अर्कोतर्फ बेलायतलगायत सारा पश्चिमा युक्रेनलाई मध्य एसिया तथा अफगानिस्तान हुन नदिन सक्दो कूटनीतिक, आर्थिक र सामरिक सबै तवरमा प्रयासरत देखिन्छन् । यसै परिदृश्यमा हेर्दा तेस्रोे विश्वयुद्ध छद्म रूपमा सञ्चालित छ भनेर विश्वजगतले लिइरहेको छ ।

(लेखक, पूर्वसशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, हाल सुरक्षा र न्याय अध्ययन केन्द्रमा आबद्ध हुनुहुन्छ ।)

टिप्पणीहरू