ईश्वरले चुनौती दिएको केही घण्टामै प्रमाण छताछुल्ल, सेनाले दिउँसै रात पार्यो

ईश्वरले चुनौती दिएको केही घण्टामै प्रमाण छताछुल्ल, सेनाले दिउँसै रात पार्यो

नेपाली सेनाले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बखत २०७२ कात्तिकमा नै अमेरिकालाई पत्र लेखेको रहस्य बाहिरिएको छ । एसपीपी सम्झौतामा नेपालले हस्ताक्षर गर्न लागेको विषयले राजनीति तरङ्गित भइरहेका बेला उक्त पत्र बाहिरिएको हो ।

सन् २०१५ अक्टोबर २७ अर्थात् २०७२ कात्तिक १० गते तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई पत्र लेखेर नेपाल सरकारका तर्फबाट आधिकारिक रुपमा एसएसपीमा सहभागी हुन अनुरोध गरेको तथ्य बाहिर आएको हो । सेनाले पत्र लेखेको १५ दिनअघि मात्रै ओली प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । उहाँ २०७२ असोज २५ गते पहिलो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।

यो प्रकरणमा नेपाली सेनाले पनि ‘दिउँसै रात पारेको’ पुष्टि भएको छ । हिजोमात्रै विज्ञप्ति निकालेर सेनाले एसपीपीमा सहभागी हुन कुनै पत्राचार नगरेको दाबी गरेको थियो । तर, आज बाहिरिएको पत्रमा नेपालमा एसपीपी कार्यान्वयन गर्न पाउनु नेपालका लागि सम्मानको विषय हुने उल्लेख गरिएको छ ।

सेनाले विदेशी मुलुकको राजदूतावासलाई लेखेको पत्र परराष्ट्र मन्त्रालयमार्फत नपठाई सिधै राजदूतलाई सम्बोधन गरी पठाएको थियो । बोधार्थ रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई भने दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको यसै महिना हुने अमेरिका भ्रमणका बेला एसपीपी सम्झौता गर्न लागिएको सूचना बाहिरिएपछि यसको चौतर्फी विरोध भइरहेको छ । मुलुकलाई अमेरिकाको सैन्य गठबन्धनमा सामेल गराउने रणनीतिका साथ यस्तो घातक सम्झौतामा हस्ताक्षर गर्न लागेको भन्दै सदनदेखि सडकसम्म आवाज चर्किएको हो । सत्ता र प्रमुख प्रतिपक्षका नेताहरु जुहारी खेलिरहेका छन् ।

आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले एसपीपी सम्झौता अघि बढाएको दाबी गरेपछि एमाले उपाध्यक्ष ईश्वर पोखरेलले खण्डन गर्नुभएको थियो । प्रतिनिधिसभाको बैठकमा बोल्दै पोखरेलले प्रचण्डको नाम उल्लेख नगरी भन्नुभएको थियो, ‘ओली सरकारको पालामा एसपीपी भएको भन्ने सत्तारुढ दलका नेताको अभिव्यक्ति भ्रामक हो । यसमा कुनै सत्यता छैन । म प्रमाण पेश गर्न चुनौती दिन्छु ।’

सन् २०१५ र २०१७ मा प्रस्ताव आएको र त्यतिबेला क्रमशः नेपाली काँग्रेसबाट सुशील कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री रहेको भन्दै पोखरेलले ओली नेतृत्वको सरकारको पालामा आफू रक्षामन्त्री रहेकाले यस्तो कुनै सम्झौता नभएको दाबी गर्नुभएको थियो । तर, पोखरेलले प्रमाण पेश गर्न चुनौती दिएको केही घण्टा नबित्दै ओली प्रधानमन्त्री भएका बखत नेपाली सेनाले एसपीपीमा संलग्न हुन अमेरिकालाई पत्राचार गरेको प्रमाण बाहिरिएको छ ।

टिप्पणीहरू