ठमेल लागुऔषध कारोबारीको निम्ति ‘राम राज्य’

ठमेल लागुऔषध कारोबारीको निम्ति ‘राम राज्य’

पछिल्लो एक साताको अवधिमा प्रहरीले सात जना दक्षिण अफ्रिकी नागरिकलाई लागुऔषधसहित समातेको छ । विभिन्न उडान हुँदै नेपाल भित्रिएका विदेशी नागरिकलाई लागुऔषध नियन्त्रण व्युरोको टोलीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ५१ केजी लागुऔषध (हेरोइन) बरामद भएको व्युरोले जनाएको छ । ती लागुऔषधको मूल्य एक अर्ब दुई करोड रहेको व्युरोको भनाइ छ । गत जेठ ३० गते पाँच जना र ३१ गते दुई जना सेतो हेरोइनसहित पक्राउ परेको व्युरोका प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

पछिल्लो समय दक्षिण अफ्रिकी नागरिकहरु लागुऔषधसहित भटाभट समातिन थालेका छन् । लागुऔषध ओसारपसारमा पक्राउ परेका अधिकांश महिला हुन् । यतिखेर काठमाडौंको ठमेलमा लागुऔषध कारोबारीको बिगबिगी भएको व्युरोले जनाएको छ ।

फ्लाई दुबईको उडानद्वारा काठमाडौं आएकी दुई जना अफ्रिकी महिलालाई प्रहरीले अस्ति ठमेलबाट पक्राउ गरेको थियो । उनीहरुको साथबाट १६ किलो सेतो हेरोइन बरामद भएको छ ।त्यस्तै, सोही ठाँउबाट अन्य चार जना पनि सेतो हेरोइनसहित समातिएका छन् । कतार एयरलायन्सको उडानद्वारा दोहा हुँदै हिजो काठमाडौं ओर्लिएकी एकजना महिला छ किलोग्राम हेरोइनसहित पक्राउ परेकी छिन् । सोही अवधिमा लागुऔषधसहित अर्की महिलालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

हाल उनीहरुलाई नियन्त्रणमा लिएर लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । दक्षिण अफ्रिकाबाट नेपाल भित्रिएकी केही महिलाहरुलाई पटकपटक लागुऔषध हेरोइनसहित पक्राउ परेपछि लागुऔषध नियन्त्रण व्युरोले निगरानी बढाएको थियो ।

टिप्पणीहरू