भाउजु कमरेडले प्रेमीकी पत्नी भकुरेको घटना बुझ्न जाँचबुझ समिति गठन

भाउजु कमरेडले प्रेमीकी पत्नी भकुरेको घटना बुझ्न जाँचबुझ समिति गठन

लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीको घटनाको बिषयमा छानबिन गर्न प्रदेश सरकारले जाँचबुझ समिति गठन गरेको छ । आज बसेको प्रदेश क्याविनेट बैठकले आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ समिति बनाएको हो ।

समितिको अरु दुई सदस्यमा महिला बालबालिका तथा कानुन मन्त्री रमा घर्तीमगर र मुख्य न्यायधिवक्ता श्रीकृष्ण सुवेदी छन् । मंगलबार स्वास्थ्य राज्यमन्त्री वलीले प्रेमी एकराज बस्नेतकी श्रीमती र छोरीलाई गालामा चड्कन हानेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई अभद्र व्यवहार गरेको आरोपमा नियन्त्रणमा लिएको थियो ।

दाङको तुलसीपुरस्थित बस्नेतको घरभित्रै पसेर कुटपिट गरेपछि बस्नेतकी श्रीमती मिना भण्डारीले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् । तुलसीपुर प्रहरीमा जाहेरी परेपछि थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय दाङ पठाइएकोमा लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसी सोनामको विशेष आग्रहपछि रातारात हिरासतबाट छुटाएर बुटवल ल्याइएको थियो ।

हिरासतबाट छुटाएर बुटवल ल्याएलगत्तै ‘अस्वस्थ’ भएपछि उपचारको निम्ति उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । मुख्यमन्त्रीको चाहनामा वारदातस्थलबाट वलीलाई अन्यत्र लैजानु र अस्वस्थ भन्दै अस्पताल भर्ना गरिनुले घटना सामसुम पार्ने सुनियोजित षड्यन्त्र हुनसक्ने आशंका भैरहेका बेला सरकारले जाँचबुझ समिति बनाएको हो।

टिप्पणीहरू