वर्षायाम लाग्यो, विपद् व्यवस्थापनमा परम्परागत सरकारी तयारी « Jana Aastha News Online
Logo
१३ असार २०७९, सोमबार
|  Mon Jun 27 2022
Logo
१३ असार २०७९, सोमबार
|  Mon Jun 27 2022

वर्षायाम लाग्यो, विपद् व्यवस्थापनमा परम्परागत सरकारी तयारी

प्रकाशित मिति :  २ असार २०७९, बिहीबार १६:३०


यो वर्षको मनसुन मुलुक भित्रिएको छ । हरेक वर्ष वर्षायाममा बाढी र पहिरोले वितण्डा मच्चाउने गर्छ । बाढी, पहिरो, हावाहुरी र चट्याङका कारण वर्षेनी हजारौं घरपरिवार पीडित र प्रभावित हुने गरेका छन् । अघिल्लो वर्ष असार १ गते सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको भेलबाढीले कसैले कल्पना नगरेको रुप देखाएको थियो ।

मनसुन सुरु भएलगत्तै नदी घरभित्र पसेको थियो । मेलम्ची बजारलाई नै उठिबास लगाइदिने गरी नदी उर्लियो । बाढीले धेरै जनधनको क्षति भयो भने हजारौं घरपरिवार विस्थापित भए । मेलम्चीमा मात्र नभएर अन्य थुप्रै ठाँउमा बाढीपहिरोले धेरै नोक्सानी गर्यो ।

वर्षा सुरु भएसँगै यतिखेर फेरि सर्वसाधारण त्रसित देखिन थालेका छन् । विपद् न्यूनीकरण तथा व्यवस्थापनमा सरकारको झिनो तयारीका कारण आमनागरिकले यो वर्ष पनि चैनको सास फेर्न पाएका छैनन् ।

पहाडमा बसोबास गर्नेलाई हरेक वर्ष पहिरोले सताउँछ । यता, तराई भेग चुर्लुम्मै डुबानमा पर्छ । बाढीपहिरोबाट वर्षेनी सयौंको ज्यान जाने गरेको छ भने दर्जनौंको अंगभंग हुन्छ । करोडौंको भौतिक संरचना पनि बाढीसँगै बग्छ । अघिल्ला वर्षको सरकारी तथ्याङ्कअनुसार बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या वर्षेनी उच्च हुँदै गएको छ ।

गत वर्ष बाढीपहिरोमा परेर दुई सय ५८ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । त्यसैगरी, एक सय ९२ जना घाइते र ६२ जना बेपत्ता भएको विवरणमा उल्लेख छ । बाढीपहिरोले ४५ वटा पक्की पुलमा क्षति पुर्याएको थियो ।

तीन वटा बेलिब्रीज र ८७ वटा झोलुङ्गे पुल ध्वस्त भएको थियो । प्राधिकरणका अनुसार एक हजार २२ वटा घर पूर्ण रुपमा क्षति भएको थियो । त्यस्तै, छ सय ३० वटा घरमा आंशिक क्षति भएको तथ्याङ्कक बताउँछ । ५८ वटा सरकारी भवन र ९३ वटा शिक्षण संस्था पूर्णरुपमा भत्किएको जनाइएको छ ।

तर हाम्रो समाज र समग्र मुलुकमा क्षति बेहोरिसकेपछि मात्र व्यवस्थापनमा जुट्ने प्रवृत्ति देखिन्छ । यसबाट वर्षेनी ठूलो धनजनको नोक्सानी हुन्छ । विपद्लाई समयमै न्यूनीकरण गर्न सके यसबाट हुने क्षति पनि कम हुन्छ । तर, यसतर्फ सरकारी निकायको ध्यान खासै गएको देखिदैन् ।

के छ सरकारी निकायको तयारी ?

प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार मनसुनमा आइपर्ने प्राकृतिक प्रकोपलाई मध्यनजर गर्दै विभिन्न योजना बनाइएको छ । विगतमा भएका घटनाको समीक्षा गर्दै पूर्वतयारी तथा प्रतिकार्य गरिएको उनको दाबी छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरेको उनको भनाइ छ ।

यो योजनाअन्तर्गत सबै तहका सरकारले विपद् व्यवस्थापन तथा न्यूनीकरणका निम्ति गर्नुपर्ने काम छुट्याइएको उनले जानकारी दिए । राहत सामग्रीलगायत अन्य आवश्यकीय सामग्रीहरुको विवरणसमेत तयार पारिसकेको प्रवक्ता भट्टराईले बताए ।

मनसुनबाट हुन सक्ने क्षतिको आकलन गर्दै गृह मन्त्रालयअन्तर्गत विपद् व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कोइरालाको संयोजकत्वमा सूचना तथा सञ्चार मन्त्रालय, सिँचाइ विभाग, सडक विभागलगायतसँग समन्वय गरेर कमाण्ड टोली गठन गरिएको छ । जोखिम अध्ययन र न्यूनीकरणका लागि पहिलोपटक कमाण्ड टोलीको गठन गरिएको हो ।

यता, विज्ञहरुले सरकारले राहत र उद्धारको व्यवस्था गरे पनि जोखिम न्यूनीकरणका लागि पक्की योजना नबनाएकोतर्फ औंल्याएका छन् । प्रभावकारी पूर्वतयारी नभएकाले यो वर्ष धेरै जनधनको क्षति हुने अड्कल उनीहरुको छ ।

विपद्को कारण के–के हुन् ?

मानवीय क्रियाकलाप र उनीहरुको प्रकृतितर्फ देखाइएको ज्यादतीका कारण प्राकृतिक प्रकोप निम्तिएको विज्ञहरु बताउँछन् । नदीनाला अतिक्रमण, जथाभावी डोजर चलाउनु, ढल निकासको उचित प्रबन्ध नहुनु, अव्यवस्थित शहरीकरण नै बाढीपहिरोको जल्दोबल्दो कारण हो । वनजंगल फँडानी, अनियन्त्रित गिट्टीबालुवाको उत्खनन्जस्ता क्रियाकलापले मुलुकलाई नै संकटतिर धकेलिरहेको छ । नेपालको हकमा हेर्ने हो भने विकासको नाममा विनाश भइरहेको विज्ञहरुको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !