अमेरिकी दूतावासपछि सेनाले पनि मुख खोल्यो

अमेरिकी दूतावासपछि सेनाले पनि मुख खोल्यो

नेपाली सेनाले अमेरिकी सेनासँग गर्न लागिएको भनिएको रणनीतिक साझेदारी कार्यक्रम (एसपीपी) को बारेमा ध्यानाकर्षण भएको जनाएको छ ।

पछिल्ला केही दिनदेखि प्रकाशित र प्रशारित एसपीपी सम्बन्धी समाचारप्रति चासो राख्दै सेनाले दुई मुलुकका सेनाबीच लामो समयदेखि सहयोग र सहकार्य रहँदै आएको सेनाको भनाइ छ ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिमा एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको प्रष्ट पारिएको छ ।उसले त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत नभएको उल्लेख गर्दै लेखेको छ, ‘नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भूराजनैतिक अवस्थिति एवम् सामरिक संवेदनशीलतामा प्रतिकूल असर पार्ने गरि कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत अथार्थतामा नेपाली सेना सदैव प्रष्ट र सचेत रहेको जानकारी गराइन्छ ।’

यसअघि काठमाडौंस्थित अमेरिकी दूतावासले पनि एसपीपी सम्बन्धी समाचारमा कुनै सत्यता नभएको टिप्पणी गरेको थियो । उसले आजै अबेर दुष्प्रचार नगर्न चेतावनी दिँदै आफ्ना धारणा सार्वजनिक गरेको हो ।दूतावसले भनेको छ, ‘नेपालसँग कुनै पनि सैन्य गठबन्धन भएको वा प्रस्तावित गरिएको छैन । १० बुँदे सहमति गरिएको छैन र अमेरिकाले नेपाललाई एसपीपीमा सहभागी हुन दबाब दिएको छैन ।’

टिप्पणीहरू