‘विवाहमा २० वर्षको उमेर हद लगाउँदा अपराध बढ्यो’

‘विवाहमा २० वर्षको उमेर हद लगाउँदा अपराध बढ्यो’

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले अब विवाह गर्नैको निम्ति २० वर्षको उमेर कुर्न नपर्ने बताउनुभएको छ । उहाँले आजको प्रतिनिधिसभा बैठकमा बोल्दै विवाहको उमेर २० वर्षबाट घटाउन कानुन संशोधन प्रक्रिया थालिएको जानकारी दिनुभएको हो ।

कानुन मन्त्रालयले विवाह गर्न न्यूनतम उमेर २० वर्ष राख्दा अपराध बढेको र बाल विवाहमा सजाय भइरहेको आधारमा कानुन संशोधन थालेको पनि उहाँले जानकारी दिनुभएको छ ।

‘विवाहको उमेर १८ वर्ष बनाउनेबारे अध्ययन भइरहेको छ । किनभने व्यक्तिले १६ वर्षको उमेरमा नागरिकता पाउँछ, १८ वर्षमा मतदान गर्न भने २० वर्ष नपुगी विवाह गर्न नपाइने कानुन छ,’ उहाँले भन्नुभयो ‘विवाह गर्न २० वर्ष कुर्नुपर्ने कुनै कारण देखिँदैन । यसले बरु अपराध बढाउने काम गरिरहेको छ अनि बालविवाहमा सजाय पनि भइरहेको छ ।’

यता, मन्त्रीको उक्त भनाइ सार्वजनिक लगत्तै कतिपयले उमेर ढल्केपछि विवाह गरेका महिलाहरुको पाठेघरमा धेरै समस्या सुनिएको पक्षलाई पनि उजागर गरेका छन् ।

टिप्पणीहरू