कसैले भने जति पेले पनि हुने

कसैले भने जति पेले पनि हुने

मुलुक कोरोनाको कहरमा छ । यस्तो बेलासमेत केही लुब्ध  कर्मचारी,मेडिकल माफियाहरु चाहिँ कमिसनको चक्करमै रुमल्लिरहेका छन् । खोजेजस्तो र सोचेजस्तो कमिसन नमिलेकै कारण स्वास्थ्य सामाग्री खरिद प्रक्रिया चार महिनादेखि अल्झाइरहेका छन् ।

गत माघ २५ गतेदेखि स्वास्थ्य सामाग्री खरिद प्रक्रिया अघि बढेको हो । त्यही टेण्डर प्रक्रिया अघि बढेसँगै डा.रोशन पोखरेललाई मन्त्रालयमा तानेर  स्वास्थ्य सेवा विभागको हाकिम बनाइएका पात्र हुन् महेन्द्रमान श्रेष्ठ । नेपालमा गत २३  जनवरीमा कोरोना संक्रमित बिरामी भेटिएसँगै स्वास्थ्य सेवा विभागले  टेण्डर प्रक्रिया अघि बढाएको थियो ।

प्रक्रियामा सहभागी हुन नेपालका व्यवसायिक औषधि कम्पनीहरुले बुझाएको कोटेशन अढाई महिनासम्म श्रेष्ठले घर्रामा थन्काएको आरोप व्यवसायीहरु लगाउँछन् ।

४५ दिनपछि पहिलो कोटेशन रद्ध गरी  ११ चैत्रमा अर्काे टेण्डर खोलियो र टेण्डर खोलेको एकाध घण्टा नबित्दै ओम्नी ग्रुपले टेण्डर हत्यायो । झण्डै डेढ करोडमा ओम्नीसँगको टेण्डर पनि धेरै टिकेन । ४८ प्रतिशतभन्दा मंहगोमा ओम्नीसँग मेडिकल सामान खरिदको सम्झौता भएको फेला परेपछि २५ चैत्रमा ओबिसिआई (ओम्नी) सँगको मेडिकल सामान खरिद सम्झौता रद्द भयो ।

यो कम्पनीलाई कालोसूचीमा राख्नबाट जोगाउने ढंगले उनै महानिर्देशक श्रेष्ठले पत्र पठाएको चर्चा सार्वजनिक खरिद अनुगमन कार्यलयका कर्मचारीहरु सुनाँउछन् ।

सरकारले निर्णय गर्यो कि अब जिटुजी अर्थात सरकार  सरकारबीच सम्झौता गरी मेडिकल सामाग्री भित्राउने ।
उता सेनामार्फत ल्याउन खोजिएको मेडिकल  सामाग्री चीनमै अल्झिएको अबस्था छ ।

सरकारले सेनालाई मेडिकल सामाग्री भित्राउने जिम्मा दिएकै साता दिन नबित्दै उनै महेन्द्रहरुले अर्काे टेण्डर खोल्न भ्याए ३२ करोड बराबरको  । ५ वैशाखसम्ममा ५ कम्पनी मेडिकल सामाग्री खरिद गर्न इच्छुक देखिए तर महाशक्ति सप्लायर्स र पाइनियोर होल्डिङलाई यो प्रक्रियामा छिर्न दिइएन ।

महेन्द्रहरुकै जोडबलमा सामान खरिद गर्ने जिम्मा पाए लुम्बिनी हेल्थ केयर प्रालि,ओम सर्जिकल कन्सर्न प्रालि र हाम्रो मेडिकल कन्सर्नले ।

यी तीन कम्पनीले १५ दिनभित्र अर्थात २० वैशाखभित्र मेडिकल सामाग्री बुझाइसक्नुपर्ने सम्झौतामा उल्लेख थियो ।

आजको  मितिसम्म पनि लुम्बिनीबाहेकका अरु दुईले सम्झौताअनुसार सामग्री स्वास्थ्य सेवा विभागमा बुझाएका छैनन् । यी दुई कम्पनीले सरकारले दिएको छुटमा चीनबाट मेडिकल सामाग्री लिएर आए पनि त्यो सामाग्री विभागलाई नबुझाएर कालोबजारी गरी बजारमा पठाएको स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु सुनाउँछन् ।

सम्झौताअनुसार मेडिकल सामाग्री नबुझाएको भन्दै विभागले तेश्रो पटकसम्म सामान बुझाउन पत्राचार गरेको छ त्यो पनि झारा टराई शैलीमा । यसरी मेडिकल सामाग्री नबुझाउनेमध्येका हुन्  रामशरण भण्डारी,हेम्स अस्पतालका लगानीकर्ता र ओम मेडिको कन्र्सनका पनि सञ्चालक ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार,स्वास्थ्य सेवा विभागका हाकिम,आपूर्ति शाखाका कर्मचारीहरुको मिलेमतोमा यसरी चीनबाट ल्याइएको मेडिकल सामाग्री बुझाउन आनाकानी गर्ने दुई व्यापारीलाई सुनपानी छर्केर चोखाउने प्रयास हुँदैछ ।

टिप्पणीहरू