दिउँसोको घाममा काम नगर्न नेपाली दूतावासको आग्रह

दिउँसोको घाममा काम नगर्न नेपाली दूतावासको आग्रह

नेपाली कामदारहरुको रोजगारीको प्रमुख गन्तव्य मानिएको साउदी अरेबियामा श्रमिकहरुको लागि नयाँ नियम लागु भएको छ ।

त्यहाँस्थित नेपाली दूतावासले आज सार्वजनिक गरेको विज्ञप्तिमा दिउँसो १२ बजेदेखि ३ बजेको समयमा बाहिर घाममा काम नगर्न र नलगाउन आग्रह गरेको हो । साउदी मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयको सूचनाका आधारमा उक्त आग्रह गरिएको राजदूतावासले जनाएको छ । यो नियम भोलिदेखि सेप्टेम्बर १५ (तिन महिना) सम्म लागु हुने छ । अत्यधिक गर्मीका कारण कामदारको सुरक्षाको निम्ति साउदी सरकारले कामदारलाई रोजगारदाताले दिउँसो घाममा काम लगाउन नपाउने नियम ल्याएको हो ।

दूतावासले कुनै कम्पनी वा रोजगारदाताले नियमको अवज्ञा गरेर कामदारलाई आगामी तीन महिना मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म बाहिर घाममा काम गर्न लगाएको वा काम गर्न बाध्य पारेको खण्डमा श्रम मन्त्रालयको टोल फ्री नम्बर १९९११ मा सम्पर्क गरेर उजुरी गर्न समेत अनुरोध गरेको छ ।

साउदी अरेबियामा चार लाखभन्दा धेरै नेपालीले श्रम गरिरहेको अनुमान गरिएको छ ।

टिप्पणीहरू