कसले यी प्रश्नको जवाफ देला कमरेड !

कसले यी प्रश्नको जवाफ देला कमरेड !

क्रान्तिकारी कमरेडहरूका लागि यो देशका नागरिक भनेका व्यापारी, कर्मचारी र बृद्धबृद्धा मात्र हुन् ? होइन भने हिजो शासकका तातो गोलीसँग समेत नडराई युद्धमा होमिएका हामीजस्ता युवालाई खै प्रोत्साहन बजेटमा ? यही दिन देख्नका लागि लडिएको हो युद्ध ? मध्यमवर्गीय परिवारमा जन्मिएका हौँ हामी । दाजुले एसएलसी तहसम्मको शिक्षा लिनुभएको । ६० सालदेखि बेपत्ता हुनुभयो । १९ वर्ष व्यतित भइसक्यो । राज्यको नजरमा बेपत्ता नै हुनुहुन्छ । नेताका सन्तान यसैगरी बेपत्ता भएको भए मात्र थाहा पाउँथे होलान् सन्तान बेपत्ता हुँदा बुवा आमालाई कति चोट पर्छ भन्ने कुरा । राज्य नै लागेर गायब बनाइएका दाजु कहाँ हराए, जोखना हेरेर के पो पत्ता लाग्थ्यो र ?

परिवारको जेठा छोरा । बुवा–आमालाई सुख दिन्छु भन्नुहुन्थ्यो । भाइ बहिनीलाई धेरै पढाउँछु भन्नुहुन्थ्यो । तर, उहाँलाई तत्कालीन शाही सेनाद्वारा बेपत्ता पारियो । यो राज्यले अहिलेसम्म न मरेको खबर दिन्छ, न बाँचेको सूचना दिन्छ । न लास देखाउँछ न त सास नै दिन्छ । जब–जब दैलोमा दसैँ, तिहार, आमाको मुख हेर्ने औँसी वा यस्तै पर्व आउँछ अरूका घरमा उत्सव हुन्छ, हाम्रो घरमा बुवा–आमा टोलाउन थाल्नुहुन्छ ।

सन्तान हराउनुको असह्य पीडाले छटपटी हुन्छ बुवा/आमालाई । यहाँ बसेर दाजुको धेरै याद आयो त्यही कारण घर सार्नका लागि आग्रह गरेको पनि हो तर कुनै दिन छोरा फर्किएर आउँछ कि ? भन्ने आशाले कतै जान मान्नुहुन्न । आमाको मन न हो, कति पटक त दाजु आउन पनि सक्छ भनेर बढी भात पकाउनुभएको छ । जीवितै छ र सुखमा भए त पक्कै घर खोज्दै आउँथ्यो होला तै अंगभंग भएर, दुःख पाएर पो बसिरहेको छ कि भन्ने सम्झिँदा मुटु गाँठो परेर आउँछ । तर बेपत्ता भएको दाजु कहाँ आउनु ? अब त फोटाबाहेक याद आउने अरू सबै चिज फालिसकेका छौं । र पनि, टुप्लुक्क आइपुगिहाल्छ कि भन्ने आस बाँकी नै छ ।

जाे हिजाे रक्सीका भाँडा फुटाल्दै हिँडे आज उनिहरू नै भट्टी पसलमा रमाइरहेका देखिन्छन् । के काठमाडाैं जानकै लागि थियाे यति ठूलाे युद्ध ?

जनयुद्ध, जनआन्दोलनपश्चात् प्रमुख तीनै पार्टी सरकारमा उक्लिए÷ओर्लिए । संयोग अहिले पनि माओवादी सरकारमा छ । उसैले नीति तथा कार्यक्रम मात्र होइन, बजेट पनि ल्याएको छ । हिजो यिनैलाई सत्तामा पु¥याउने बेपत्ता नागरिकको परिवारलाई राहत हुने गरी खै बजेट आएको ? खै नीति तथा कार्यक्रम ल्याइएको ? बेपत्ता परिवारप्रति राज्य आफैं बेखबर हुन पुग्नुजस्तो दुःखद अरू के होला ? आफ्नै नेतृत्वमा माओवादी २ पटक सरकारमा पुग्यो ।

त्यसयता पटक–पटक संयुक्त सरकार चलायो । जुन पार्टीको लागि भनेर हाम्रो पारिवार युद्धमा होमिएको थियो, जुन पार्टीमा रहेर राज्यको सम्पूर्ण संयन्त्र बदल्न म आफैं पनि होमिएको थिएँ, जतिखेर एसएलसी दिँदै थिएँ, एसएलआर बोकेर राज्य संयन्त्र बदल्ने सपना देखायो नेतृत्वले । जुन बेला मैले पढ्नुपथ्र्यो, सम्पूर्ण इतिहास बदल्ने सपना देखाइयो र बुर्जुवा शिक्षाको खिलाफमा उभ्याइयो । पढ्न, स्कुल हिँडिरहेका साना केटाकेटीलाई नपढ्न म आफैँले अभिपे्ररित गरेँ ।

स्कुलमा किताब बोकेर दौडिरहेका केटाकेटीलाई यो शिक्षा प्रणालीविरुद्ध उठ्न उक्साएँ । र, म आफैं पनि यसको विरुद्धमा हिँडेँ । पढाइ छाडँे, जुन बेला मेरो दाइ राज्यद्वारा बेपत्ता पारिएको थियो । त्यसको बदलामा मैले बाटो मोडेको थिएँ र अठोट गरेको थिएँ– राज्यको अत्याचार र कुरीतिविरुद्ध लड्ने । तर, मैले दुःखसाथ भन्नै पर्छ, आज कतै जागिर खोज्दा यिनै माओवादी बनेर आएकाहरु किन माग्छन् बुर्जुवा शिक्षाको प्रमाण पत्र ? जसले हामीलाई युद्धमा अघि हिँडाए, उनीहरूले नै आफ्ना छोराछोरी आलिसान बोर्डिङ स्कुलमा हालेका मात्र छैनन् । उच्च शिक्षा अध्ययनका लागि विदेश पठाइरहेका छन् ।

गाउँमा जनताका छोराछोरीको आँखामा पट्टी बाँधेर पढ्नबाट टाढा पु¥याइयो तर हाम्रा कैयौं नेताका छोराछोरी काठमाडौं, दिल्ली, अमेरिकामा पढिरहेका रहेछन्प/ढाइरहेका रहेछन् । के यिनीहरूविरुद्ध फेरि अर्को जनयुद्ध हुनुपर्ने हो ? यसको जवाफ कसले दिने ? छोरीलाई पिचएडी गराउँदै गरेका डा बाबुराम भट्टराईले दिन सक्छन् वा हालै मात्र छोरीलाई अध्ययनका लागि बाहिर पठाएका देवेन्द्र पौडेलले जवाफ दिन्छन् ?

मलाई लाग्थ्यो परिवर्तित राज्य व्यवस्थामा डाक्टरले त डाक्टरी पेशा नै गर्ने हो, अनि इञ्जिनियरले इञ्जिनियरिङ नै ! माओवादीको राज्य सत्ता आए पनि उच्च ठाउँमा पुग्ने त सम्बन्धित विषयमा जो विज्ञ छ, सीपयुक्त छन्, उनै त हो । फेरि हामीलाई नेतृत्व गर्ने नेताहरू आफैं यही शिक्षाले दीक्षित छन् । आज उनीहरू नपढेका हुँदा हुन् त कसरी यत्रो युद्धलाई हाँक्न सम्भव हुन्थ्यो होला र ? नत्र मेरो गाउँको रामबहादुर कँडेल जस्तै गाउँमै बिलाइहाल्थ्यो नि ! परिवर्तनपछिको यो घडीमा मैले सोचेका ती कुरा यथार्थ भएका छन्, फिल्मी रिलजस्तै घुमिरहेका छन् । जसले पढेका थिए, जसले उच्च शिक्षा लिएका थिए तिनीहरू नै टाठाबाठा भएका छन् । अनि विभिन्न ठाउँमा भर्ना भएका छन् ।

आज हामी आफैं जागिर खान उनीहरूलाई भन्न जाँदा पढेको प्रमाण पत्र माग्छन् भने भन्नुस् कसरी दिऊँ म प्रमाण पत्र ? राज्यले सिधै खाडी मुलुक जानुहोस् कमरेड भनेको त होइन ? हिजो जसलाई रेडकर्नर नोटिसमा राखियो, ब्ल्याक लिस्टमा पारियो उनीहरूकै बिजनेसमा आज जागिर खोज्न किन जाने ? अनि जुन नेता पढ्नु हुँदैन भन्थे तिनीहरूकै छोराछोरी चाइना/इण्डिया पढेर तिनै ब्ल्याक लिस्टमा पारिएका उद्योगपतिसँग कुम जोडेको देख्दा सहन गाह्रो छ । हुन त सहनेकै छाती अचानो हुन्छ भन्छन् । सपनाबाट ब्युँतिएझैँ भाकाे छु, यो पेटले म बेरोजगार छु भन्दैन । बाँच्नका लागि पनि खानु त प¥यो नै ! जुन पेटका लागि युद्ध÷आन्दोलन गरिएको थियो । आज ती सबै कुनै नाटकझैँ लाग्न थालेको छ । म त रंगमञ्चमा नाचिरहेको नर्तकी झैँ भएछु । फेरि नयाँ शीराबाट यस्ता प्रवृत्तिका मान्छेविरुद्ध हिँड्न मन लाग्छ । तर कसरी ?

म बेपत्ता परिवारको एक साधारण छोरी हुँ, हाल माओवादी गोरखा जिल्ला सदस्य हुँ । माक्र्सवादी सुन्दरताको आज पनि पक्षपाती नै हुँ छु । यसैको आधारमा समानताका लागि लडिरहेको छु । तर, मलाई यो नेपालमा त मालेमावादीको नयाँ तरिकाले नै ब्याख्या गर्नु पर्दछ र प्रयोग पनि गर्नुपर्दछ जस्तो लाग्न थालेको छ । अहिले पनि हाम्रो मुलुकमा ६५ प्रतिशत बढी कम्युनिष्ट धारका पार्टीहरू छन्, टुक्रै टुक्रा जिन्दगीमा रमाइरहेका । यस्तो मुलुकमा फेरि कांग्रेसीहरूकै राज चलिरहेको छ । तैपनि न कसैको बुिद्ध पलाएको छ, न त सुध्रिएको नै ! समाजका सर्वहारा वर्ग सधैँ  उस्तै छन्, पीडित वर्ग उस्तै छन् बरु हिजो युद्ध गर्ने कतिपय आज शासकजस्ता भएका छन् उनीहरूले त बिर्सिए होला ती दिन । हिजो देखिएको सुन्दर नेपाल र आमाको तस्बिर । केवल केही मात्रा र संरचना बदलिएको होला । तर, मान्छेको/जनताको जीवनस्तर भने जहाँको तहीँ छ । बरु दुब्ला नेताहरू मोटाएका छन् ।

हिजो गाउँ–गाउँमा जसले बहु विवाह गर्छ त्यस्ता पीडकलाई भाटे कारबाही गर्दै हिँडियो । त्यसका विरुद्ध आवाज उठाइयो तर आज त्यही संगठनमा विकराल स्थिति छ । जो हिजो रक्सीका भाँडा फुटाल्दै हिँडे आज उनीहरू नै भट्टी पसलमा रमाइरहेका देखिन्छन् । खै, यहाँ नेतृत्व, खै यहाँ लगाम ? के काठमाडौं जानकै लागि थियो यति ठूलो युद्ध ? कुनै पनि पार्टीले जब आफ्नो गल्ती ढाकछोप गर्छ, अरूको गल्तीमा बोल्ने अधिकार उसलाई हुँदैन । अहिलेसम्म मेरो अध्ययनमा यस्तो लाग्छ नेपालमा सबै जना अरूकै गल्ती भजाएर, अरूकै कमजोरी खोतलेर हिँड्नमा व्यस्त छन् ।

हामीकहाँका सबै पार्टीले पहिले आफ्नो कमजोरी सुधार्ने हो भने आज हजारौं युवा दैनिक खाडी मुलुक जानुपर्ने थिएन । तातो घाममा पसिना बगाउनुपर्ने थिएन । नेताहरूका लागि हामीजस्ता कार्यकर्ता चाहिएको बेला भाँडो, नचाहिएको बेला ठाँडो भइयो । पार्टी खुला समाजमा आइसकेपछि पनि गरेर खान सिकाएको भए, आफ्नै बारीमा उभिन सिकाएको भए सायद बिदेसिनुपर्ने थिएन होला । क्रान्तिकारी कमरेडले ल्याएको बजेटले न त हामीजस्ता बेपत्ता परिवारका सदस्यलाई मलम लगाइन्छ न त हिजो युद्धमा हिँडेका हामीजस्ता कार्यकर्ताको प्रोत्साहन नै गरिन्छ । आज यही दिन देख्नका लागि लडिएको थियो युद्ध ? यसैका लागि बेपत्ता हुनु परेको हो, हाम्रो दाजु ?

– स्मारिका, बेपत्ता परिवारको सदस्य

टिप्पणीहरू