काठमाडौंमा गठबन्धनको आवश्यकतै थिएन

काठमाडौंमा गठबन्धनको आवश्यकतै थिएन

राष्ट्रिय राजनीतिलाई ‘सिम्बोलिक’ रूपमा प्रहार गर्ने ठाउँ हो काठमाडौँ महानगरपालिका । यही काठमाडौंले कहिले नानीमैयाँ दाहाललाई माननीय बनाइदिन्छ त कहिले चोल्चे सार्की र बालेन साहलाई जिताइदिन्छ । यसरी स्वतन्त्र उम्मेदवारहरू विजयी हुनुमा दलहरूले टिकट वितरणमा अपनाएको स्वेच्छाचारी प्रवृत्ति कारक हो भनिँदैछ तर नेपाली कांग्रेस काठमाडौँका सभापति कृष्ण (सबुज) बानियाँँ, काठमाडौँ महानगरपालिकाको हकमा यो कुरा मान्न तयार छैनन् । १४ औं महाधिवेशनमा प्रकाशमान सिंह र गगन थापाको प्यानलबाट दोस्रो कार्यकालका लागि सभापतिमा दोहोरिएका सबुजले देउवा–सिटौला समूहका उम्मेदवार उपेन्द्र कार्कीलाई भारी मतान्तरले पराजित गरेका थिए । बानियाँँको पहिलो कार्यकालमा काठमाडौँ कांग्रेसलाई ‘प्रकाशमान सिंहले क्लब हाउस’ जस्तो बनाउन खोजेको आरोप कतिपयले लगाएका छन् । काठमाडौँ जिल्लाले जे निणर्य गर्नु परेपनि बानियाँ चाक्सीबारीस्थित प्रकाशमानको दैलोमा पुग्ने गरेको उनकै टिमका सहकर्मीहरू गुनासो पोख्छन् तर २४ वर्षअघि नै काठमाडौँ, गोंगबु गाविस अध्यक्ष चलाउँदा कसैले एउटै नोट अफ डिसेन्ट नलेखेको र सबैलाई समेटेर काम गर्ने स्वभाव भएको उनको तर्क छ । रमाइलोचाहिँ उनी सभापतिमा दोहोरिँदा प्रकाश अधिकारी पनि टोखा नगरपालिकाको मेयरमा दोहोरिएका छन् । कृष्ण गोंगबुको अध्यक्ष हुँदा त्यतिबेला प्रकाश उपाध्यक्षको जिम्मेवारीमा थिए ।

– हरि गजुरेल

स्थानीय तह निर्वाचनको मतपरिणाम अपेक्षित थियो वा अनपेक्षित ?

– काठमाडौँको हकमा भन्नुपर्दा केही राम्रो मत कांग्रेसले पाएको छ । यद्यपि कांग्रेसले सैद्धान्तिक रूपमा केही कुरा सुधार्नु पर्ने जरुरी देखिएको छ । केही वडा र पालिकाहरू जित्ने पक्का थियो तर ती गुमाएका छौं ।

महानगरपालिकाको नतिजा यस्तै आउने सोच्नुभएको थियो ?

– काठमाडौँ महानगरपालिकाको हकमा आश्चर्यचकित र अनपेक्षित नतिजा आएको छ । महानगरवासीले समय समयमा यस्तै नतिजा दिइरहनुभएको छ । यो नतिजा लोकतन्त्र, सरकार, राजनीतिक दलप्रतिको तीव्र असन्तुष्टि हो भन्ने लागेको छ ।

चाहे काठमाडौँमा बालेन साह होस् वा धरानमा हर्क साम्पाङ, तिनलाई जिताएर शहरी मतदाता राजनीतिक दलसँग यतिविघ्न चिढिनुको कारण के होला ?

– यो ०६२/६३ को आन्दोलनको उपलब्धि हो । दलले जनताका मागलाई राम्रोसँग सम्बोधन गर्न नसकेका हुन् कि ? त्यस्तो तानाशाह भएको अवस्थामा पनि एक जना महिला नानीमैयाँ दाहालले हल्लाएको ठाउँ होइन र यो ?

रामचन्द्र पौडेलले त वंशवादका आधारमा सिर्जना सिंहले काठमाडौँ महानगरको टिकट पाएका कारण कांग्रेस पराजित भयो भनिरहनुभएको छ । टिकट वितरणमा नेतृत्व चुकेको पो हो कि ?

– टिकट वितरणमा १९ को २० भयो होला तर सिर्जना भाउजुको व्यक्तित्वमाथि जसरी टिप्पणी भइरहेको छ त्यो साह्रै निकृष्ट काम हो । उहाँ राजनीतिक परिवारकी महिला, गणेशमानसिंह र मंगलादेवी सिंहकी बुहारी, प्रकाशमान सिंहकी श्रीमती । कुनै पद नलिइकन घर सम्हालेर बस्दा पनि उहाँ राजनीतिबाट टाढा हुनुहुन्थेन । आफ्नै किसिमले समाजमा भिजिरहनुभएको र पार्टीको काम पनि गरिरहनुभएको नेतृ ।

प्रधानमन्त्रीको पद पनि त्याग गरेको परिवारबाट आउनुभएकी । जतिखेर गणेशमान सिंह जेलमा हुनुहुन्थ्यो, मंगलादेवीले महिलाले सबैखाले अधिकार पाउनुपर्छ भनेर लड्नुभएको थियो । शिक्षामा अवसर पाउनुपर्छ भनेर लड्ने परिवारको सदस्य उहाँ । कोही मानिसहरू विरासतको कुरा गरिरहेका छन् । हाँसो उठ्छ । कोही नेताका श्रीमती भएकाले टिकट पायो पनि भन्दैछन् ।

उहाँ राजनीतिक पृष्ठभूमिबाट आउनु भएको होइन र ? विवाहअघि पनि उहाँ राजनीतिमै हुनुहुन्थ्यो । त्यो इतिहास किन बिर्सिएको ? उहाँले निभाएको भूमिका र पार्टीप्रतिको जिम्मेवारी पनि बुझ्नुपर्छ । प्रकाशमानलाई त्यहाँसम्म पुग्नमा उहाँको त्याग र योगदान बिर्सन हुँदैन । कांग्रेसले काठमाडौँजस्तो महानगरपालिकामा महिला नेत्रीलाई उभ्याउने साहसिक काम ग¥यो । त्यसको लागि पार्टीप्रति आभार व्यक्त गर्दछु । एमालेले महिलालाई राष्ट्रपति बनाउन हुँदा काँग्रेसले मेयर बनाउन हुन्थेन र !

०७४ सालमा राजुराज जोशीलाई उठाउनुभयो । अहिले सिर्जना सिंहलाई । एकाथरी कांग्रेसीको चिन्ता छ, टिकट वितरणमा परिवारिकरण हुँदै जाने हो भने जेन्युइन मान्छेले टिकटै नपाउने र महानगरपालिका सधैँ हारिने भयो । कुरा यस्तै हो ?

– असजिलो र अप्ठ्यारो पर्दा घचेट्ने र ठूलो आवाजले चिच्याउने काम जहाँ पनि हुन्छ । जित्दा खेरी सुवर्णलेपन हुन्छ । असफल भए पनि दाग लागेको, चेप्टो, अनुहार, वर्ग नमिलेको अनेकन टिप्पणी हुन्छ हामीकहाँ । यी सबै गफका लागि गफ मात्र हुन् । सिर्जना सिंह गणेशमानको घरमा जन्मिएको महिला हो र ! गणेशमान, प्रकाशमानलाई सफल बनाउन उहाँहरूको भूमिका छ कि छैन ? त्यो पाटोचाहिँ खोज्नु पर्दैन ?

स्थानीय निर्वाचनमा कांग्रेसको सिट त धेरै आयो तर यो गठबन्धन कांग्रेसको पक्षमा सफल भयो कि भएन ?

– जनताले कम्युनिष्ट पार्टीलाई दुई तिहाइ जनमत दिएर सरकार चलाउन पठाए तर जनमतको दुरूपयोग भयो । केपी ओलीको दम्भ र तानाशाही शैलीविरुद्ध वर्तमान गठबन्धन जन्मिएको हो । हिसाबै खोज्ने हो भने त गठबन्धन भएपछि कि नाफा हुन्छ कि घाटा । पार्टीभित्र काठमाडौँको हकमा टिकट वितरण गर्दा केही समस्या देखिएकै हो । गोकर्णेश्वर नगरपालिकामा मेयर हुनुहुन्थ्यो सन्तोष चालिसे, ०७४ सालमा कम्युनिष्टको गठबन्धन हुँदा पनि जितेको ।

त्यतिखेर काठमाडौँभित्रका चार वटा पालिका जित्दा गोकर्णेश्वर पनि एउटा थियो । सरकारी निकायले नै गरेको मूल्यांकनमा उत्कृष्ट नगरपालिका हो त्यो । त्यस्तो ठाउँमा दोहो¥याइनु पर्दथ्यो तर उहाँले टिकटै पाउनुभएन । सन्तोषले नै राजनीतिमा ल्याउनुभएका जुनियर मान्छेका निम्ति टिकट खोसिँदा अरु हराउनतिर लाग्छन् तर उहाँ पार्टीको निर्णय भन्दै जिताउन मैदानमा निस्कनु भयो ।

त्यति हुँदाहुँदै पनि हामीले कठिनका साथ जित हासिल ग¥यौं । देशको सन्दर्भमा गठबन्धन आवश्यक होला तर काठमाडौँको सन्दर्भमा आवश्यकता थिएन भनेर मैले भन्दै आएको थिएँ । गठबन्धनकै कारण चिन्ह यताउति परेर मत मत बदर हुँदा महानगरपालिकामा उपमेयर गुमायौं ।

चुनावी परिणामपछि गठबन्धनका सहयात्री नै कांग्रेसबाट असहयोग भयो भनिरहेका छन् । गुनासो मात्रै हो वा तपाईंहरूबाट असहयोग नै भएको हो ?

– गठबन्धन हुँदा कांग्रेसको पक्षमा मत धेरै खस्यो र कांग्रेस अगाडि गएको हो । गठबन्धन निर्वाचन जित्नका लागि भएको हो । गठबन्धन गरिसकेपछि तय गरेको उम्मेदवारले नै जित्नुपर्छ । जित्ने परिस्थिति सिर्जना गराउनुपर्छ ।

मैले काठमाडौँमा गठबन्धन भएलगत्तै साथीहरूलाई अहिले हामीले तपाईंहरूलाई सँगै लिएर जाने हो । भोलिका लागि संगठन निर्माण गर्ने परिस्थितिसम्म हामीले बनाउने हो । पहिल्यै तपाईंहरूलाई काठमाडौँमा जिताउने परिस्थिति हुँदैन होला भनेको थिएँ ।

महानगरपालिकाको मेयरमा तपार्इंहरू पराजित हुनुभयो तर उपमेयरमा गठबन्धनका उम्मेदवारलाई मत नजानु, उम्मेदवार नभएको रूख चिह्नमा ६२ हजार बढी मत खस्नु । यसमा चाहिँ कमजोरी कसको त ?

– उम्मेदवारै नभएको ठाउँमा अर्थात् मतपत्रमा निर्वाचन आयोगले किन चिह्न राखेर पठायो ? यसैमा निर्वाचन आयोगको ठूलो कमजोरी भयो । दोस्रो पाटो पार्टीले पनि मतदातालाई राम्रोसँग बुझाउन सकेन ।

अघिल्लो पटक जितेका पालिका गुमाउनुपर्ने प्रवृत्ति यसपटक देशव्यापी नै देखियो । यसबाट जोगिन स्थानीय जनप्रतिनिधिले के कुरालाई ध्यान दिएर काम गर्नुपर्ला ?

– कांग्रेसले पहिला जितेका ठाउँमा गुम्नुभन्दा अहिले धेरै ठाउँमा जित्न सफल भएका छौं । काठमाडौँ महानगरपालिकामा ०७४ सालमा १४ वटा वार्ड जितेका थियौं अहिले १९ वटा ल्याउन सफल भयौं । ०७४ सालमा ४ वटा नगरपालिका मात्र जितेका थियौं अहिले ७ वटा हात पार्न सफल भएका छौं ।

बालेन साहका अगाडि के–के चुनौती देख्नुहुन्छ ? कांग्रेसका १९ वडाध्यक्ष छन् । तपाईंहरूसँग बहुमत छ । काम गर्न दिनुहुन्छ वा अवरोध सिर्जना गर्नुहुन्छ ?

– अवसर प्राप्त गरेपछि चुनौती त सँगसँगै आउँछन् नै ! उहाँ असफल हुने भन्ने कुरै हुँदैन । कोही पनि जनमतलाई मात्र हेरेर काम गरेको खण्डमा असफल हुँदैन । असफल तब हुन्छ जब आर्थिक शुभलाभको आधारमा काम गर्न, भागबण्डा गर्न थालिन्छ । कमजोरी स्वार्थ रह्यो भने चुनौती हुने हो !

उहाँबाट जनताले जे आशा गर्नुभएको छ, त्यहीअनुसार काम गर्नुभए त चुनौती नै देखिँदैन नि ! अस्ति वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले विधि विधानको कुरा न गर्नुभएको हो । निर्णय सुनाउने कर्मचारीले होइन नि !

टिप्पणीहरू