चलचित्र क्षेत्रमा कसले देखाउला चमत्कार ?

चलचित्र क्षेत्रमा कसले देखाउला चमत्कार ?

‘भूतले खाजा खाने बेला’ चारतारे दल बदलेका भुवन केसीलाई कांग्रेसले पत्याएर गोपीकृष्णनगरस्थित चलचित्र विकास बोर्डको कुर्सीमा बसाल्ला ? वा पुरानै अध्यक्ष राजकुमार राई दोहोरिएलान् ? कांग्रेसी निकट चलचित्रकर्मीबीच चर्चा छ ।

कुनै समय खाँट्टी एमालेको रूपमा चिनिएका भुवनले बल्खु पुगेर पूर्व प्रधानमन्त्री झलनाथ खनालको हातबाट सदस्यता लिएका थिए । ०७० सालको संसदीय निर्वाचनमा पार्टीले टिकट खोसेपछि रन्थनिएका उनी चलचित्र विकास बोर्डमा जान चाहन्थे तर बालकोटको रोजाइमा परे दयाराम दाहाल । एमालेबाट केही लाभ नपाएपछि केही महिनाअघि मात्र जय नेपाल पार्टीमा प्रवेश गरेका हुन् । त्यसअघि राप्रपामा पस्न खोजेका थिए ।

जसका लागि तारन्तार राजेन्द्र लिङ्देनसँग वार्ता गरे तर कुरा मिलेन । स्वागत नेपालको पार्टीबाट काठमाडौंको मेयरमा उठ्न खोजे सफल भएनन् । यी सबै गतिविधिका बावजुद भुवन कांग्रेसी बने । उनी हठात् कांग्रेसी बन्नुको पछाडि नजर गोपीकृष्ण नगरस्थित चलचित्र विकास बोर्ड हो भनिँदै छ । र, त्यही बोर्ड अस्ति शुक्रबारदेखि अध्यक्षविहीन बन्न पुगेको छ ।

बोर्डको नेतृत्वमा चलचित्र क्षेत्रको व्यक्ति हुँदा कायपलट हुने अपेक्षा गरिएको थियो तर हालै बोर्डबाट बाहिरिएका दाहालले पनि खासै ‘माखो मार्न’ सकेनन् । दुई वर्षे कार्यकालमा स्टोरी बैंक, नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरणमा हातेमालो, प्लस टु तहमा नेपाली सिनेमाको पढाइ, काभ्रेको साँगामा इन्डोर स्टुडियोको सुरुवात लगायतका केही राम्रा काम प्रारम्भ भएको बताएका छन् ।

चलचित्रसम्बन्धी विधेयक र राष्ट्रिय चलचित्र नीति आफ्नो कार्यकालमा लागू गर्न नसकेको दाहाल बताउँछन् । चलचित्र विधेयक अर्थ मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त गर्न कानुन मन्त्रालय जाने तयारीमा छ । कानुनबाट फर्केर सञ्चारमा आएपछि यो लागू हुन्छ । चलचित्र नीति पनि यसैगरी मन्त्रालयमा अड्किएर रहेको छ ।

यस अलवा शक्तिकेन्द्रको दैलो चहार्नेमा सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, रमेश बुढाथोकी, नारायण पुरी, नरेश पौडेलदेखि रवीन्द्र खड्कासम्म छन् । यीमध्यबाट बोर्ड अध्यक्षमा कसले बाजी मार्ने हो हेर्न बाँकी छ ।

टिप्पणीहरू