श्री नानक देवका रोचक नेपाल प्रसंग « Jana Aastha News Online
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022

श्री नानक देवका रोचक नेपाल प्रसंग

प्रकाशित मिति :  ३१ जेष्ठ २०७९, मंगलवार ०८:००


– उमेश ढकाल

सिख मतका आचार्य श्री गुरु नानक देवजीको जन्म संवत १५२६ वैशाख २ गते तदनुसार १५ अप्रिल सन् १४६९ मा राईभोइ तलवण्डी (हाल नानकाणा साहिव नामले प्रसिद्ध छ) मा भएको हो । यो स्थान हाल पाकिस्तानमा पर्छ । श्री गुरुजीका माता त्रिप्ता र पिता कल्याणदास कालु चन्द पटवारी हुनुहुन्थ्यो । पिताले नानक देवजीलाई सन १५३२,१५३५ र १५३९ मा क्रमशः गोपाल पण्डित, ब्रजलाल पण्डित र मौलाना कुतुबुद्दिनकहाँ क्रमशः हिन्दी, संस्कृत एवं फारसी पढ्न पठाएकोमा पढ्नुको बदला आफ्नो आध्यामिक बलद्वारा सबैलाई शिष्य बनाउनुभयो ।

गुरु नानक देवजीले हिन्दू, मुस्लिम सबैलाई समान ठान्नुभयो, अछुतलाई बराबरी गर्नुभयो । राजयोगी गुरु नानक देवजीको चार यात्रा प्रसिद्ध छ । पहिला यमुनावाद जानुभयो र एक बढई (अछुत जाति)े घरमा खाना खानुभयो, छुवाछुतको भ्रम हटाउनुभयो । यमुनावाद हाल पाकिस्तानमा पर्छ ।

सम्वत् १५५४ बाट दक्षिण, पश्चिम र उत्तरको भ्रमण गर्नुभयो । करिब २२/२३ वर्ष भ्रमणमा बिताउनुभयो । अर्वुद गिरि (माउन्ट आबु) रामेश्वरम् सिंहल द्वीप (श्रीलंका) भ्रमण गर्नुभयो । गढवाल, हेमकुट, गोरखपुर, सिक्किम, भुटान, नेपाल, तिब्बत, ढाका पुग्नुभयो र पश्चिम पाकिस्तान, बलुचिस्तान, मक्का, अफगानिस्तान, इराक आदि स्थानको भ्रमण गर्नुभयो ।

भनिन्छ, उहाँ वि.सं. १५७५÷७६ ताका नेपालमा ११ महिना रहनुभयो । त्यसबेलाको नेपाल विशेषगरी काठमाडाँै तन्त्र साधनाको उर्वरभूमि थियो । अमूल्य जडीबुटीको भण्डार थियो । नानक देवजीले १७५ वर्षको एक साधुसित नेपालमा भेटेर प्रश्न गर्नुभयो, ‘तपाईंको दीर्घ जीवनको रहस्य के हो ?’ अन्न खान्न, मूलको पानी पिउँछु, कन्दमूल र जडीबुटी सेवन गर्छु भन्ने जवाफ साधुबाट प्राप्त भयो ।

सुरेन्दरसिंह कोहलीको पुस्तक ट्राभल अफ गुरु नानकमा उहाँले सन् १५१४—१५१५ मा उत्तर प्रदेशको सीमा सीतामढीबाट नेपाल भ्रमण गरेको उल्लेख छ । नानक देवजी पशुपतिनाथमा बसेको, राजाहरूले धार्मिक एवं अन्य खाले निर्देशन लिएको र सोलुखुम्बुको त्याङबोचे गुम्बा पनि पुगेको दावी गरिएको छ । भारतीय राजदूत मञ्जिवसिंह पुरीले पनि सिख हेरिटेज इन नेपाल पुस्तकको भूमिकामा यस्तै दाबी गर्नुभएको छ ।

गुरु नानक काठमाडौंमा सर्वप्रथम साधु (बाला) बसेको ठाउँमा (बालाजु ?) बस्नुभयो । विद्वान्वाला र मर्दानामध्ये बालाको बासस्थान भएर बालाजु नामकरण भएको विषयमा थप अनुसन्धान हुन भने बाँकी नै छ । अहिले पनि नयाँबजार विष्णुमती किनारमा गुरुनानक मठ छ, जहाँ गुरु ग्रन्थ साहेव संरक्षण गरेर राखिएको छ । बहुतै कम हस्तलिखित गुरु ग्रन्थ साहेबमध्ये केही प्रति नेपालमा छ भनिन्छ । गुरु नानकका अनुयायीहरूले ज्ञानेश्वर, शोभाभगवती, कालमोचन, पशुपतिको भष्मेश्वरमा मठ (निर्मल अखडा) स्थापना गरेका छन् । सिंहदरबारभित्रको मठ सिंहदरबार निर्माण गर्ने क्रममा शोभाभगवतीतिर सारियो । त्यहाँ करिब २७ रोपनी जग्गा र मठ अहिले पनि छ ।

पशुपतिको नित्य पूजा गर्दा शिव लिंगमा फुलको माला लगाइदिनुपर्छ, जसलाई शिरमाला भनिन्छ, पशुपतिको भश्मेश्वर मठ (निर्मल अखडा) बाट ल्याउने गरिन्छ । यो प्रचलन राणाकालदेखिकै हो भनिन्छ । सबै धर्मको सहअस्तित्वका लागि जंगबहादुरका छोरा जितजंगले मठहरूलाई जमिन दिने र पशुपतिको शिरमाला मठ (निर्मल अखडा) बाट ल्याउने लगायत प्रचलन शुरुवात गरेको विश्वास छ । पशुपतिमा बाँदरले दुखः दिने, फुल बगैँचा राम्रो नहुने हँुदा यो प्रचलन चलेको हुन सक्छ । हाल निर्मल अखडाले किनेर माला दिने र त्यसबापत पशुपति क्षेत्र विकास कोषले रकम दिने गर्दछ ।

ज्ञानेश्वरमा गुरु नानक देवजीले ध्यान समाधि गरेको ठाउँ अहिले मठ पनि छ । त्यो स्थानमा पानी नभएकाले दुःख थियो । गुरुजीले आफ्नो योग साधनाको बलमा पानी निकाल्नुभयो भनिन्छ । सो स्थानमा ज्ञानधारा छ । सो धारामा २०७२ सालको भूकम्पपछि पानी अलि घटेको छ । यो राजा यक्ष मल्लको समयको कुरा हो । गुरुनानक देवजीले ज्ञान गोष्ठी गरेको भएर सो स्थानको नाम ज्ञानेश्वर रहेको भनिन्छ ।

गुरु नानक देवजीले काठमाडाँैमा रहँदा गोरखनाथ पन्थी र अरु तान्त्रिक समुदायलाई सम्झाउनुभयो, तन्त्र साधना गरी भयानक रुप धारणमार्फत रुप परिवर्तन गरेर मुिक्त पाइन्न, उड्ने, उडाउने शक्ति देखाएर हुन्न भन्नुभयो । संवत् १८१३ मा नानकको मृत्युको तीन सय वर्षपछि, गुरु ग्रन्थसाहिब गद्दीमा राखेर मठ सञ्चालन गर्ने प्रचलन शुरु भएको जयप्रकाश मल्लले भष्मेश्वर मठलाई २० रोपनी जग्गा दिएको इतिहास पढ्न पाइन्छ ।

गुरु नानकदेवजीका छोराहरूले उदासी सम्प्रदायको स्थापना गरे । त्यस्तै बाबा चन्द्रजीको अखडा थापाथलीमा पनि छ । पञ्जाबी सिख राजकुमारी रानी भएर दरबारमा भित्रिएको कथा पनि छ ।

एकपटक भ्रमण गर्र्र्दै गुरु नानकदेवजी हरिद्वार पुग्नुभयो, जहाँ तमाम हिन्दू धर्मावलम्बी स्नानपछि पूर्वतर्फ फर्केर सूर्यलाई गंगाजल अर्पण गर्दै रहेको देखेर पश्चिम फर्की जल अर्पण गर्न थाल्नुभयो । सबैले आलोचना गरेपछि जवाफ दिनुभयो, ‘मेरोे पञ्जाबमा रहेको खेतमा सुख्खा लागेकाले पानी हाल्दै छु ।’ हिन्दू धर्मावलम्बीले भने– हरिद्वारबाट पञ्जाबमा पानी हाल्न सकिन्छ ? असम्भव । नानकदेवजीले जवाफ दिनुभयो– त्यसोभए तपाईंहरूले चढाएको पानी सूर्यसम्म पुग्छ त ? सबै नाजवाफ ।

नौ वर्षको उमेरमा जनै धारण गर्न पण्डितजीले तयार गरेपछि उहाँले यो रक्षाबन्धन कति बलियो छ भनी सोध्नुभयो । पण्डितजीले यो चुँडिन्छ र बर्सेनि रक्षाबन्धनको समयमा नयाँ धारण गर्नुपर्ने बताउनुभयो । त्यसोभए मलाई त्यस्तो चुँडिने हैन, नटुट्ने, नचुँडिने धागो दिनुहोस्, तपाईंसँग कुनै धागो छ जसले मान्छेलाई सन्तोषी, दयालु र संयमित बनाउँछ, त्यस्तो धागो छ भने लगाइदिनुस् हैन भने म यस्तो धागो धारण गर्न तयार छैन भन्नुभयो ।

२२/२३ वर्षको भ्रमणपछि संवत १५७५ मा आफँैले पहिले आवाद गरेको (संवत १५६१) शहर कर्तारपुरमा भक्तसँग संगत र लङ्गर (खाना निःशुल्क) मा रहन लाग्नुभयो र ७० वर्षको उमेरमा संवत १५९६ सन १५३९ सेप्टेम्बर २२ का दिन निधन भयो । उहाँँको अन्तिम संस्कार गर्न हिन्दू–मुस्लिम र सिखबीच विवाद भयो किनकि सबैले उहाँलाई आफ्नो गुरु मान्थे । छोपिएको लाश झगडाकै बीच गायब भयो । मुस्लिम, हिन्दू र सिखले त्यही लाश छोपिएकोे कपडा आधा–आधा लगेर आ–आफ्नो रीति परम्पराअनुसार अन्तिम संस्कार गरे भनिन्छ ।


प्रतिक्रिया दिनुहोस !