कृष्ण सेन इच्छुक, म र भद्रगोल जेल « Jana Aastha News Online
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022

कृष्ण सेन इच्छुक, म र भद्रगोल जेल

प्रकाशित मिति :  ३० जेष्ठ २०७९, सोमबार २१:३०


– दीपक खनाल

वि.सं. २०५६ वैशाख ९ गते पत्रकार एवं साहित्यकार कृष्ण सेन इच्छुकलाई काठमाडौंँको भद्रगोल (भद्रबन्दी) जेल ल्याइयो । उहाँलाई काठमाडौंँ, सुन्धाराको एक होटलबाट पक्रेर केही दिन हिरासतमा राखी त्यहाँ ल्याइएको हो । उहाँसँगै अधिवक्ता खिमलाल देवकोटालाई पनि भद्रगोलमै ल्याइयो । सत्ते होला, कस्सम, रामा राम, मैले सेन दाइलाई भौतिक रुपमा चिनेको थिइन । उहाँले पनि मलाई प्रत्यक्ष चिन्नुभएको थिएन, नामचाहिँ सुन्नुभएको रहेछ । मैले ज्वाला, योजना, जनआह्वान र जन्मभूमि साप्ताहिकमा लेख्ने गरेको र पछिल्लो चरणमा पक्राउ परेकाले नाम सुन्नुभएको रहेछ । हाम्रो परिचय हुँदा उहाँले भन्नुभयो, ‘ए, तपाईं नै हो दीपक खनाल भनेको ?’

मित्रमणि आचार्यको स्मृति दिवस पारेर महेन्द्ररत्न क्याम्पस ताहाचलमा आयोजित कार्यक्रममा एउटा मान्छेले मधुर स्वरमा उनका बारेमा प्रकाश पारिरहेको थियो । कोरियन खालको छत्रे टोपी लगाएको त्यो मान्छेलाई राम्ररी देख्न पाइएन । ऊ भन्दै थियो– मित्रमणि प्रतिबद्ध, संघर्षशील क्रान्तिकारी र चितवन रामपुरको कृषि क्याम्पसमा पढ्दा अत्यन्तै लोकप्रिय हुनुहुन्थ्यो । उहाँको त्यो लोकप्रियता र जुझारु क्रान्तिकारीपनदेखि तर्सिएर नेपाल विद्यार्थी संघका कार्यकर्ताले हत्या गरे । उहाँको विचार, भावना आजसम्म जीवित छ ।

यो अजर, अमर भइरहनेछ युग युग पर्यन्तसम्म । मैले उहाँको सम्झनामा शोकाञ्जली काव्य लेखेको छु । म र मित्रमणिबीच चिठीपत्रको माध्यमबाट वैचारिक र भावनात्मक सम्बन्ध भइरहन्थ्यो । हाम्रो सम्बन्धको सुरुवात चिठीबाट नै भएको हो । वि.सं.२०५३, २०५४ तिरै मेरो दिमागमा पसिसकेको त्यही मान्छे पो रहेछ कृष्ण सेन इच्छुक त । त्यतिबेला पो थाहा भयो जतिबेला हामी जेलमा घुलमिल हुँदै गयौँ । सेन दाइसित भौतिक रुपमा चिनजान हुनुअगाडि नै मैले उहाँका जेल, बन्दी छोराको पत्र, त्यो प्यारो प्यारो गाउँको नाम थवाङ हो, त्यो बर्मझिया, सिम्ठारो धान, प्रतिबन्धजस्ता मार्मिक कविता पढिसकेको थिएँ । आफू पनि साहित्यानुरागी भएकाले उहाँसित धेरै सिक्न पाइने भयो भनेर अत्यन्तै गद्गद् भएको थिएँ । उहाँ आएपछि जेल पनि उजेलो भए झैँ लाग्थ्यो ।

हामीबीच वैचारिक, भावनात्मक र लेखकीय सम्बन्ध बढ्दै गयो । लेखकको मर्म लेखकले नै बुझ्ने भएकाले होला बढी नजिकियौँ । कतिसम्म भने, हाम्रो भात पकाउने पालो बिहीबार र शुक्रवार पथ्र्याे । उहाँको पालोमा म सघाउँथें, मेरो पालोमा दाइले । भाँडा पनि सँगसँगै माझ्थ्यौँ । उहाँले भाँडा मस्काउँदा म पानी हाल्थेँ, मैले मस्काउँदा दाइले । जेलको त्यो चौघेरामा पनि प्रत्येक बिहान दौडन्थ्यौँ । भद्रगोलको त्यो भलिबल र फुटबल मैदानमा बसेर ध्यान, व्यायाम गर्दथ्यौँ । सँगसँगै पानी भरेर नुहाउँदथ्यौँ ।

कोही आफूलाई जिउँदो शहीद मान्नुपर्छ भन्ने, कोही सम्मान पुगेन भन्ने । कोही आफू पहिला खानुपर्छ, नुहाउनुपर्छ भन्ने । कोही खाना मीठो भएन भन्ने ।

अरु काम के नै थियो र कालकोठरीमा ? प्रायःजसो सँगसँगै हुन्थ्यौँ । जेलभित्रको त्यो अम्बा अनि हलुवावेदको फेदमुनि बसेर चिसो हावा पिउँदै कवितागफ गरेको अहिलेजस्तै लाग्छ । त्यो दिन सम्झँदा उहाँ अहिले पनि अगाडि उभिरहे झैँ लाग्छ । त्यही छहारीमुनि बसेर कविता, मुक्तक सुन्ने, सुनाउने गर्दथ्यौँ । उहाँ कविता अलि भावनात्मक र कलायुक्त हुनुपर्छ, त्यसमा विचार मात्र थोपर्नु हुँदैन, कुनै न कुनै पंक्तिमा पूरा कविताको ओज आउनुपर्छ भन्नुहुन्थ्यो । उहाँलाई उहाँकै सिम्ठारो धान कविता धेरै मन पथ्र्याे । उहाँ भूपि शेरचनका पनि मुक्तक र कविता मनपर्ने बताउनुहुन्थ्यो । कस्तो संयोग ? हाम्रो कविता लेख्ने शैली मिल्दोरहेछ । उहाँ पनि ह्वात्तै कविता लेखिहान्नुहुन्थेन । दिमागमै कविताको गर्भाधान र आर्किटेक्ट गरेर लेख्नुहुन्थ्यो ।

उहाँले जेल र चन्द्रागिरि पहाडलाई जोडेर कविता लेख्ने बताउनुभएको थियो । नभन्दै जन्माएरै छाड्नुभयो बन्दी र चन्दागिरि । गफै गफमा उहाँलाई सोधेको थिएँ, कवि बन्ने इच्छा कसरी जाग्यो भनेर । ‘सानैदेखि कविता गुन्गुनाउन मन लाग्ने भएकाले राम्रो कवि बन्छु भनेर लेख्थेँ, शोषण, अन्याय, अत्याचार, दमन जस्ता परिवेशले लेख्ने भएँ, विचार बुझेपछि जनताको पक्षमा लेख्नुपर्छ भनेर लेख्न थालेँ,’ भन्नुभयो । अर्को कौतुहलता जाग्यो । सोधेँ, इच्छुक किन राख्नुभएको नि ? उहाँले भन्नुभयो, त्यतिबेलाका प्रायःजसो कविले नामपछाडि पुच्छर जोडेका हुन्थे । त्यो देखेर के राखौँ राखौँ भयो । अनि आफूलाई केही न केही गरिरहन र जान्न इच्छा हुने भएकाले इच्छुक राखेँ ।

एउटै उद्देश्य बोकेका आस्थाका बन्दीबीच जेलभित्र पनि झगडा हुँदोरहेछ । कोही आफूलाई जिउँदो शहीद मान्नुपर्छ भन्ने, कोही सम्मान पुगेन भन्ने । कोही आफू पहिला खानुपर्छ, नुहाउनुपर्छ भन्ने । कोही खाना मीठो भएन भन्ने । म त तीन छक परेँ । सँगै लड्ने, सँगै मर्ने कसम खाएर मोर्चामा होमिएकाबीच यस्तो हुन्छ होला भन्ने लाग्दै लाग्थेन । यता उता तान्न खोज्थे साथीहरू तर म कसैको भइन । दुश्मनको किल्लाभित्र स–सानो कुरामा झगडा गर्दा दुश्मनले झन् पेल्दैन ? भनेर तर्कन्थेँ । सेन दाइ आएपछि त्यस्तो गनफस्से झगडा मिलाउनुभयो । सेन दाइ खाना बनाउन रुचि राख्नुहुन्थ्यो । त्यत्तिकै सिपालु पनि । मासु बनाउन झन् बढी खतरा । अरुभन्दा सस्तो हुने भएकाले हप्ता हप्तामा राँगाको मासु मगाइन्थ्यो । सेन दाइ माासु बनाउन साह्रै इच्छुक । उहाँ आफूलाई मासु मनपर्ने चीज भन्नुहुन्थ्यो ।

परेको बेला सहयोग गर्ने मान्छे कोही हुँदो रहेनछ । नातागोता, कुलकुटुम्ब सबै देखाउने दाँत हुँदारहेछन् । आपतविपतमा जसले सहयोग गर्छ त्यो नै आफ्नो मान्छे हुँदोरहेछ । सर्वाेच्चमा मेरो रिट हालिदिने मान्छे कोही भएनन् शुरुमा । कतिलाई थाहै भएन, कति डरले अघि सर्नै सकेनन् । अन्ततः विद्यार्थी नेता अधिवक्ता फणिन्द्र देवकोटाले म जेल परेको थाहा पाउनुभएछ । वर्गीय नाता त छँदैथियो, अर्काे नाताको कुरा गर्दा म उहाँको भानिज भाइ । ०५३ को स्ववियू चुनावमा दाइ ल र म आरआरमा खट्दाको याद घरी घरी आइरहन्छ । अनि त्यो चुनावको दिन राति आरआरदेखि भक्तपुरको सानोठिमी क्याम्पससम्म हिँडेर जाँदा र राति नै त्यहाँदेखि हिँडेरै सोह्रखुट्टेसम्म फर्कँदा पहिलो दिन लगाएको प्लाष्टिकको जुत्ताले खुट्टामा फोरा उठेर हैरान भएको क्षण कहिल्यै बिर्सन सक्दिन । फणिन्द्र दाइले सर्वाेच्च अदालतमा रिट हालिदिनुभएछ । मैले जितेँ ।

५१ रातपछि ५२ प्रभातका दिन २०५६ साल जेठ ९ गते आइतबार सेन दाइ जेल गएको ठीक एक महिनामा उहाँलगायतलाई छोडेर जेलबाट छुट्ने भएँ । धादिङका ती गोरे गोरे तामाङ, जसले जेल लगिएकै दिन मेरो कानमा आएर त्यहाँको नियम सुटुक्क सुनाएका थिए, यसो यसो गर्न पर्छ है सर, नत्र यहाँका दाइ नाइके, भाइ नाइकेले कारबाही गर्छन् भनेर । अनि ती श्याम (सायद थर राई हुनुपर्छ), जो मेरो सामु रुँदै आएर एउटा निवेदन लेखी दिन भनेका थिए । न्युरोडतिरको साहुजीले आफ्नै आँखा अगाडि बहिनीलाई बलात्कार गरेपछि प्रतिकार गर्दा जेल हालिएको भन्थे उनी । त्यसैको विषयमा अंगे्रजीमा निवेदन लेखिदिन भनेका थिए मलाई । उनी त्यो निवदेन बाहिर पठाएर आफ्नो पीडा सार्वजनिक गर्न चाहन्थे । के गरे रामजाने । नैकापका रामकृष्ण थापा, सेनामा जागिर खाँदा गल्ती गरेकाले जेल परेको हुँ भन्थे । जो त्यतिबेला नै जेल बसेको १८ वर्ष भइसकेको थियो । छोरा जन्मेको दिन जेल परेका उनी जेलबाटै कमाएर परिवार पाल्थे । आदि आदि पात्र थिए जेलमा ।

पछाडि फर्कदैँ, हेर्दै बाटो छल्दै एकछिन भृकृटीमण्डपको चौरमा बसेर लुकी लुकी सातदोबाटोस्थित कोठामा पुगेँ । एक दिन सेन दाइलाई वीर अस्पताल ल्याएको थाहा पाएँ । उहाँलाई फिस्टुला भएर त्यहाँ ल्याइएको रहेछ । त्यहाँबाट फर्केपछि भावुक भएर लेखेको थिएँ, भद्र बन्दी शीर्षकमा कविता । पछि उहाँलाई राजविराज जेल लगियो । नेपाल पत्रकार महासंघको सक्रियतामा त्यहाँबाट छोडेर महासंघको अद्वैतमार्गस्थित कार्यालयमा ल्याइएको थियो । उहाँ र मेरो त्यहाँ पनि भेट भयो । एक दिनको कुरा हो । त्यतिबेला बागबजार सरिसकेको थिएँ । क्याम्पसबाट आएर कपडा फेर्दै थिएँ, सेन दाइ टुप्लुक्क आइपुग्नुभयो । खान खानुभो ? भन्नुभयो । छैन भनेँ । ल दाजुभाइ सँगै खाने भन्नुभयो । खुसी हुँदै खाना बनाउन लागेँ । त्यो मेरो पुरानो प्रतिगामी स्टोभले हावा फालिरहन्थ्यो । बल्ल बल्ल खाना तयार भयो र दाजुभाइ बागबजारस्थित जनादेशको कार्यालयमा गयौँँ । सेन दाइ सम्पादक हुँदा उहाँलाई सघाउन त्यहाँ गइरहन्थेँ ।

सेन दाइकै प्रधानसम्पादकत्वमा जनदिशा दैनिक आउन थाल्यो । त्यसको कार्यालय थियो ज्ञानेश्वरमा । त्यहाँ मेरा मित्र दीपेन्द्र रोकाया पनि जोडिनुभएको थियो । एक दिन सेन दाइसँगै त्यहाँ पनि पुगेको थिएँ । तपाईं अब यतै काम गर्नुपर्छ, म व्यवस्थापनसँग कुरा गर्छु भन्नुभएको थियो । एक दिन उहाँ र म इन्द्रेणी अफसेट प्रेसमा सँगै गएर पुरानो बसपार्कसम्म हिँडेको बेला पनि उहाँले त्यसै भन्नुभएको थियो तर विडम्बना सरकार र नेकपा (माओवादी) को पहिलो वार्ता असफल भयो । २०५८ साल मंसिर ११ गते संकटकाल लागेपछि कुनै कुराकानी, भेटघाटको परिस्थिति बनेन । को कहाँ, को कहाँ सबै तितरबितर । एक्कासी सेन दाइहरू पक्राउ परेको खबर सुनियो । साह्रै औडाहा भयो । त्यो बेलामा पत्रकार महासंघले समेत आन्दोलनमा उत्रने साहस गरेन ।

सरकार पत्रकार, साहित्यकार केही भन्दिन भन्दै जंगबहादुर भएको थियो । अधिकांश क्रान्तिकारी पत्रकार जेल परिसकेका थिए । सायद म आधिकारिक रुपमा कहीँ नजोडिएको र प्रजातान्त्रिक लाइनको जन्मभूमि साप्ताहिकमा पनि काम गर्ने भएकाले जोगिएको थिएँ यसपालि, नत्र त सिआइडीहरूले जन्मभूमि साप्ताहिकको कार्यालयसम्म पछ्याएका थिए । पाटन मंगलबजार घर भएको एउटा सिआइडीले त आफ्नो अनुसन्धान विभागको परिचयपत्र देखाउँदै माओवादीका सूचना दिनु, तपाईंलाई पक्राउ हैन, जागिरै हुन्छ भनेको थियो । काष्ठमण्डपअगाडि मैले त्यो सिआइडीलाई छाँसेको अस्ति जस्तो लाग्छ । नेपाली काँग्रेसका नेतामाझ चिनिएका वरिष्ठ पत्रकार गणेशवल्लभ प्रधानकहाँ काम गरेकाले उसले मलाई त्यसरी भन्न सकेको हुनसक्छ । नत्र सिआइडीलले कहाँ आफ्नो परिचय खुलाउँछ र ?

सेन दाइसँगको सम्बन्ध, सम्पर्क टुटेपछि म एक्लोजस्तो भएर बस्न प¥यो । कुनै सम्पर्क भएन । द्वन्द्वले मुलुक जलेको बेलामा आफैँले अनेक सम्पर्क सूत्र खोज्दा शंका, उपशंका होला भनेर कुनै पहल गरिन । नत्र उही फणिन्द्र दाइ हिँड्दा हिँड्दै एकदिन वीर अस्पताल छेउमा भेटिनुभएको थियो । उहाँले सँगै खाजा पनि खुवाउनुभयो । केही भनिन । फेरि उहाँको जिम्मा सञ्चारतिर थिएन । एकपटक सोह्रखुट्टेको उकालोमा बिना मगरसँग जम्काभेट भएको थियो ।

उहाँलाई त हामीले नै आरआरमा संगठित गरेको । उहाँसँग पनि केही कुरा भएन । आँखा आँखाले सञ्चार गरेर छुट्एिका थियौँ । त्यस्तै स्वयम्भू हुँदै रत्नपार्क जाने गाडीमा संगीता खड्का पनि हुनुहुँदोरहेछ । उहाँसँग देखादेख मात्र भयो । थप केही कुरा भएन । अन्ततः एक्कासी सेन दाइ मारिएको खबर २०५९ असार १२ गतेको जनआस्थामा छापिएपछि निकै मर्माहत भएँ । त्यो बेलाको जिन्दगीमा त्यति साह्रै रोएको पहिलो दिन त्यही थियो । हुन त आफ्नै गाउँका वरिष्ठ नेता सुरेश बाग्लेलगायत विभिन्न व्यक्तिको हत्यामा मन द्रविभूत नभएको होइन, तर सेन दाइको हत्याको खबरले बढी पीडाबोध भयो किनकि सँगै जोडिएको र मन मिल्ने आत्मीय मान्छेको यादले झन् बढी दुख्ने रहेछ ।


प्रतिक्रिया दिनुहोस !