घनश्यामको पुर्जीमाथि एमालेले थप दु:ख नगर्ने

घनश्यामको पुर्जीमाथि एमालेले थप दु:ख नगर्ने

नेकपा एमालेले पूर्वमन्त्री तथा स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथिको कारवाही प्रक्रिया हाललाई यत्तिकै अल्मल्याउने भएको छ । एमालेपंक्ति र आमरुपमा समेत चासोका साथ हेरिएको ‘भुसाल प्रकरण’ आज बस्ने सचिवालय बैठकको एजेण्डामा नपरेपछि तत्काल छलफलमा नआउने भएको हो ।

हिजो बसेको केन्द्रीय कार्यालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षालाई सचिवालय बैठकको एजेण्डा बनाएको छ । तर, अनुशासन आयोगले पठाएको भुसालमाथिको कारवाहीको सिफारिसबारे छुट्टै एजेण्डा छैन ।

नेता भुसालले स्थानीय तह निर्वाचनमा पार्टी पराजयको जिम्मा अध्यक्ष केपी शर्मा ओलीले लिनुपर्ने अभिव्यक्ति दिनुभएको थियो । अध्यक्षको सार्वजनिक आलोचना गरेको भन्दै केशव बडाल अध्यक्ष रहेको अनुशासन आयोगले भुसाललाई कारवाही गर्न पार्टीलाई सिफारिस गरेको थियो । त्यसयता एमालेमा खैलाबैला मच्चिएको छ ।

उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, सचिव योगेश भट्टराई, नेता डा.भीमबहादुर रावल,पूर्वमुख्यमन्त्री भीम आचार्यलगायतले सार्वजनिकरुपमै भुसाललाई कारवाही नगर्न अध्यक्ष ओलीलाई चेतावनी दिनुभएको छ। शाक्यले त बालकोट पुगी ओलीलाई भेटेरै कारवाही प्रक्रिया अघि बढाइए त्यसले निम्त्याउने क्षति सामान्य नहुने भन्दै सचेत गराएको बताइन्छ ।

‘छोरी कुटेर बुहारी तर्साएझैँ घनश्याममाथि कारवाही गरेर आलोचकहरुलाई साइजमा राख्ने र बैठकमा आफूविरोधी मत मत्थर पार्ने रणनीति थियो’,

त्यसो त,ओली पक्षकै कतिपय तल्लो तहका नेता-कार्यकर्ताले पनि सामाजिक सञ्जालमा भुसाललाई कारवाही गर्न नहुने धारणा राखेका छन् । चुनावपछि पार्टी कमजोर भएको र वैचारिक नेताको पहिचान बनाएका भुसाललाई कारवाही गर्दा आगामी संसदीय निर्वाचनमा थप क्षति हुने भन्दै उनीहरुले आवेगमा निर्णय नगर्न नेतृत्वलाई सुझाव दिएका छन् । आम तहमा समेत भुसालले सदाशयता पाइरहनुभएको छ ।

हरहालतमा भुसाललाई ठेगान लगाउने तयारीका साथ स्पष्टीकरण सोधिएको भएपनि यहि दबाबका कारण सचिवालय बैठकको एजेण्डामा यो विषय नपरेको एमालेका एक नेताले बताए । ‘छोरी कुटेर बुहारी तर्साएझैँ घनश्याममाथि कारवाही गरेर आलोचकहरुलाई साइजमा राख्ने र बैठकमा आफूविरोधी मत मत्थर पार्ने रणनीति थियो’, भन्छन्, ‘परिस्थिति उहाँहरुले सोचेजसरी अघि बढेन ।’

एमाले सचिवालय बैठक आज दिउँसो १ बजेलाई बोलाइएको छ । अध्यक्ष ओलीले बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सत्तापक्षको धाँधली र पार्टीभित्रको अन्तर्घातका कारण अपेक्षाकृत नतिजा प्राप्त नभएको बताउँदै आउनुभएको छ ।

टिप्पणीहरू