इम्बोस्ड नम्बरले आफ्नो भाषा मिचिने, अपराधी उम्कने डर

इम्बोस्ड नम्बरले आफ्नो भाषा मिचिने, अपराधी उम्कने डर

यातायात व्यवस्था विभागबाट सवारी साधनमा इम्बोस्ड नम्बर अनिवार्य गर्ने गरी अघिल्लाे शुक्रबार फेरि अर्को सूचना आयो । सूचनाअनुसार विभागले अन्यथा कानुनी कारवाहीमा उत्रने चेतावनीसमेत दिएको छ ।

यसअघि पनि यस्तै खालको सूचना जारी भएको थियो । जसअनुसार मंसिर १ देखि नयाँ दर्ता हुने, फागुनदेखि नामसारी गरिने र जेठ १ देखि नवीकरण गर्ने सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गरिसक्नुपर्ने थियो । यो नियम लागू गर्न विभाग असफल भइरहेका बेला फेरि अर्को सूचना आएको छ ।

इम्बोइस्ड नम्बरको देवनागरी लिपि तथा वर्ण अक्षर बचाऊ अभियानका अभियन्ताले चर्को विरोध जनाइरहेका छन् । आफ्नो भाषाको संसारकै सर्वोत्कृष्ट देवनागरी लिपि, वर्णाक्षर, अंक र सार्वभौमसत्तासम्पन्न राष्ट्र र आमनागरिकको गोपनीयताको संवैधानिक हकसमेत सधैंका लागि समाप्त पार्न खोजिएको भन्दै भाषा अभियन्ताको उग्र विरोध छ ।

उनीहरूले यो निर्णय विषाक्त उद्देश्य र योजनामा ल्याइएको गम्भीर आरोपसमेत लगाएका छन् । जबर्जस्ती लादेर लागू गर्न खोजे आत्मघाती हुने चेतावनी अभियन्ताले दिँदै आएका छन् ।

सवारी तथा यातायात व्यवस्था नियमावलीको अनुसूची ६ मा नम्बर प्लेटमा प्रयोग हुने अंक र अक्षर देवनागरी लिपिमा स्पष्ट लेखिएको हुनुपर्ने भनिएको छ । तर, यातायात व्यवस्था विभागले नियमावलीविपरीत गई इम्बोइस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग गर्ने गरी डेकाटुर टाइगर कम्पनीसँग सम्झौता गरेपछि विवाद झन् चर्कियो ।

नागरिक समाज र सांसदहरूलेसमेत चर्को विरोध गरे । सबै नेपाली नागरिकले अंग्रेजी भाषा नबुझ्ने र त्यसको प्रयोग गर्दा संविधानको मर्म, नेपाली भाषा तथा राष्ट्रियतामाथि गम्भीर आघात पुग्ने भन्दै विवाद शुरु भएको थियो ।

सबै सर्वसाधारणले अंग्रेजी अक्षर र नम्बर बुझ्ने सामथ्र्य राख्दैनन् । आरोपी भागेको अवस्थामा प्रहरीलाई त्यस्तो सवारी साधनको नम्बर भन्न नसकिने अवस्था आउने जोखिम छ । चलनचल्तीको नम्बर हेर्न सर्वसाधारणलाई बानी परिसकेको छ । बिल्कुल फरक ढर्रामा टाँसिने हुँदा अनाक्षर मात्र होइन, साक्षरलाई पनि झ्याप्प ठम्याउन मुश्किल छ । एकछिन घोरिएर नपढेसम्म गाह्रो हुन्छ ।

इम्बोस्ड नम्बर प्लेटको ठेक्का बंगलादेश र अमेरिकाको डेकाटुर–टाइगर आईटी कम्पनीले ज्वाइन्ट भेन्चरमा लिएका हुन् । २०७८ असारमै ठेक्का सम्झौता सकिएको हो । फेरि २८ महिनाका लागि म्याद थप भएको छ । अब १६ महिनाभित्रै २४ लाख ७५ हजार इम्बोस्ड नम्बर वितरण गर्ने तयारी छ ।

अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट जडान वा वितरणमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट निवेदनसमेत दायर भएको थियो । गम्भीर महत्वको यस्तो रिटलाई सर्वोच्च अदालतले पनि हल्का ढंगले लिएको भन्दै आलोचना भइरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच न्यायाधीशको इजलासबाट रिट खारेज गर्ने फैसला भएपछि स्वार्थ समूह हौसिएको हो ।

सर्वोच्चमा मुद्दा पर्नुअघि विभागले चार हजार नम्बर वितरण गरिसकेको थियो । जतिबेला प्रदेशको नामकरण भइसकेको थिएन । हालै नामकरण गरिएको ‘बागमती’ प्रदेशलाई त्यतिवेला ‘प्रदेश ३’लेखिन्थ्यो ।

त्यतिबेला वितरित इम्बोस्ड नम्बर प्लेटमा ‘स्टेट ३’ लेखिएको छ । जसअनुसार सवारीधनीले ‘स्टेट ३’ नै लेखेर प्लेट बनाएका छन् । उनीहरूले अब आफ्नो प्लेट फेर्नुपर्ने हुन्छ ।

टिप्पणीहरू