सशस्त्रमा जान्दाजान्दै काण्डैकाण्ड

सशस्त्रमा जान्दाजान्दै काण्डैकाण्ड

आजकल सशस्त्र प्रहरीहरूबीच ‘अजव नेपाल गजब ताल जो सुकै हाकिम भए पनि बज्राचार्य फुक्काफाल’ भन्ने कहावत जन्मिएको छ । जागिर खाएदेखि काठमाडौँ उपत्यकाबाट बाहिर नगएका एक जना डिएसपीको फुर्तिफार्ती अचाक्ली भएपछि यस्तो कहावत जन्मिएको हो । ती पात्र हुन् सिसम ब्याच नम्बर तेस्रो, परिचय पत्र १०१४ धारक सशस्त्र प्रहरीका नायब उपरीक्षक (डिएसपी) समयानन्द बज्राचार्य ।

वि.सं. २०६० सालमा इन्स्पेक्टरबाट जागिर शुरु गरेका बज्राचार्य उनी ०७० सालमा डिएसपी बने । जागिरको दौरान मुख्यालयस्थित मद्दति सेवा निर्देशनालय र मर्मत फाँटको प्रमुख भएर आठ वर्ष बिताए । यसबीच, केही समयका लागि कर्मचारी प्रशासन (कप्र) मा पनि बसे । त्यसपछि सशस्त्र स्कुलमा इञ्चार्ज भएर दुई वर्षजति हाजिर पड्काए । अहिले उनी सशस्त्र प्रहरी अस्पतालमा छन् ।

जोसुकै आइजिपी फेरिए पनि उनी भ्यालीभित्रै यताबाट उता सरुवा भएर बस्ने पावरफुल डिएसपीका पर्छन् । यस्तै पारा हो भने उपत्यकाभित्रै बसेर पेन्सन पकाउने भाग्यमानी अधिकृत बन्नेछन् । अरूलाई कार्यसम्पादनका लागि विभिन्न जिल्लामा पठाउनेको सूचीमा चढ्नै लागेका बज्राचार्यले सशस्त्र प्रहरीको बढुवामा खेल खेल्न ताहुरमाहुर गरेपछि भने अन्य अधिकृत छक्क परेका छन् । स्नातकोत्तर तह उत्तीर्ण गरेका उनले सन् २०१२ मा युएन मिसन इस्ट टिमोर पदक र १४औं सशस्त्र प्रहरी दिवसका दिन ५ हजार नगदसहित आईजीपीबाट पुरस्कृतसमेत भएका छन् ।

अर्कोतर्फको एसएसपीको बढुवा निम्ति अहिलेसम्म सूचना निकालिएको छैन । कामु एसएसपीहरूबाटै काम चलाइएको अवस्था छ । एसएसपीको बढुवा वा पदपूर्ति हुनेबित्तिकै चार जना डिआईजीहरूको पनि पदपूर्ति हुने देखिन्छ । तर, नियमावलीमा चार वर्ष कन्फर्म एसएसपी भएका मात्रै डिआइजी बन्न सक्ने व्यवस्था भएकाले बढुवा हुन नसक्ने अवस्था छ । त्यसैले गर्दा नियमावली संशोधन गरेर भए पनि बढुवा हुने ताकमा केही अधिकृत रहेको बताइन्छ ।

बढुवासम्बन्धी गृह मन्त्रालयले पठाएको सूचना भने बीचैमा हराएको गुनासो छ । अहिले सशस्त्र प्रहरीमा १२ जना कामु एसएसपी छन् । यी सबैको बढुवाको सूचना प्रकाशित गरे पनि बढुवा भने गरिएको छैन । सि.सं. १ का केही अधिकारी अहिले कन्फर्म वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भएपछि डिआइजी हुनेछन् ।

नियमावलीमा तीन वर्ष कामु एसएसपी भएपछि कन्फर्म बन्ने र त्यसपछि रिक्त डिआइजी पदमा यीमध्येबाटै बढुवा गर्नुपर्ने अवस्था छ । उनीहरूको बढुवा हुनासाथ सशस्त्र प्रहरीमा एसपी र डिएसपी र इन्स्पेक्टरहरूको पनि बढुवाको लट ह्वारह्वार्ती खुल्छ । तर चोर बाटोबाट आफ्ना मान्छेलाई बढुवा गर्न तयारी गरेपछि बढुवासम्बन्धी सहमति पत्र अर्थ मन्त्रालयमा अड्केर बसेको बताइन्छ । – उमेश कारञ्जित

टिप्पणीहरू