आहा ! सबैले यस्तै गरे पो…

आहा ! सबैले यस्तै गरे पो…

-आषिका लम्साल

मोरङका मनकारी युवाले दुई विद्यार्थीलाई स्नातकसम्म पढाउने जिम्मेवारी लिएका छन् । उनले सामुदायिक विद्यालयमा अध्ययनरत अति विपन्न दुई जना विद्यार्थीलाई उच्चशिक्षा सम्म पढाइदिने जिम्मेवारी लिएका हुन् ।

मोरङको सुनवर्षी नगरपालिका ३ मा बसोवास गर्दै आएका २७ वर्षे युवा वीरेन्द्र साहले सोही नगरपालिकामा रहेको वीरेन्द्र सार्वजनिक माविमा प्राथमिक तहमा पढ्दै गरेका अति विपन्न एक जना दलित बालिका र एक जना बालकलाई उच्चशिक्षासम्म पढाउने जिम्मेवारी लिएका हुन् ।

विद्यार्थीका अभिभावक र विद्यालयको रोहवरमा साहले दुवै विद्यार्थीलाई पोशाक, स्टेशनरी र अन्य भैपरी आउने खर्च व्यहोर्ने गरि स्नातक तहसम्म पढाउने लिखित सम्झौता गरेर जिम्मेवारी लिएका छन् ।

उनले जिम्मा लिएका विद्यार्थीहरुमा कक्षा ३ मा अध्ययनरत छात्रा कविताकुमारी खत्वे र कक्षा २ का सन्तोष ठाकुर हुन् । उनीहरुको परिवारको अवस्था नाजुक भएकाले दुबैलाई स्नातक तहसम्म पढाउने अभिभावकत्व आफूले लिएको साहले बताए ।मनकारी साहले शुक्रबार लिखित सम्झौता गरेपछि विद्यार्थीलाई पोशाक र आवश्यक स्टेशनरी पनि खरिद गरेर हस्तान्तरण गरेका छन् । ‘आफूले विद्यालयमा पढ्दा भोगेको जस्तै समस्या अरुले भोग्नु नपरोस् भनेर आर्थिक क्षमताले भ्याएसम्म त्यस्ता विपन्न परिवारका विद्यार्थीलाई स्नातक तहसम्म पढाउन सकेको सहयोग गर्नेछु,’ सञ्चारकर्मी साहले भने । मनकारी वीरेन्द्र सुनवर्षी नगरपालिकामा मध्यमस्तरको किराना पसल सञ्चालन गर्दै आएका एक जना व्यापारीका छोरा हुन् ।

आर्थिक अवस्था सबल भएका नेता, कर्मचारी, समाजसेवी, अधिकारकर्मी मात्र नभएर सञ्चारकर्मीहरुले समेत विपन्न परिवारका विद्यार्थीहरुलाई अध्ययनबाट वञ्चित हुन नदिन विभिन्न तरिकाले सहयोग गर्न सकिने उनी बताउँछन् ।सानै उमेरमा कलाकारिता, पत्रकारितासँगै समाजसेवामा समेत सक्रिय २७ वर्षे साहले यसअघि धेरै दुःखीहरुको निम्ति खाद्यान्न र उपचार सेवामा सहयोग जुटाइसकेका छन् । राजेन्द्रप्रसाद र प्रमिलादेवी साहका जेठा छोरा वीरेन्द्रले गतै वैशाख २१ गते सोहीनगरपालिकाको ३ नम्बर वडा निवासी रत्न दर्नाल र कल्पनादेवी दर्नाल (परियार) की जेठी छोरी २५ वर्षीया सम्झना दर्नालसँग बाजा बजाएर धार्मिक परम्पराअनुसार भव्य रुपमा मागी विवाह गरेका थिए ।

टिप्पणीहरू