त्रिभुवन विश्वविद्यालयका उपकुलपति चार महिनापछि कार्यालय छिर्दै

त्रिभुवन विश्वविद्यालयका उपकुलपति चार महिनापछि कार्यालय छिर्दै

त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा लगाइएको ताल्चा महिनौंपछि खोलिएको छ । विभिन्न माग राख्दै आंशिक प्राध्यापकहरुले माघ २१ गतेदेखि लगाएको ताल्चा चार महिनापछि आज खोलिएको हो । त्रिविको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच छ बुँदे सहमति भएपछि उक्त ताल्चा खुलाइएको बताइएको छ ।

त्रिविको वार्ता टोली र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच २०७८ मंसिर ८ गतेसम्म कार्यरत आंशिक शिक्षकलाई करार गर्न मन्त्रिपरिषदले स्वीकृत गरेको एक हजार चार सय २९ वटा कोटा कार्यान्वयन गर्न सरकारसँग आवश्यक बजेटको लागि १५ दिनभित्र पहल गर्ने सहमति भएको छ ।समिति र वार्ता टोलीबीच विश्वविद्यालयमा रहेको रिक्त दरबन्दीको अध्ययन गरी आंशिक प्राध्यापकको समस्या समाधान गर्ने सहमति भएको हो । उनीहरुबीच क्याम्पस तथा केन्द्रीय विभागले आंशिक शिक्षकहरुको नियुक्ति गर्दा केन्द्रीय कार्यलयको पूर्वस्वीकृति लिएर मात्र परिपत्र गर्नेलगायत छ बुँदे सहमति भएको हो ।

यसअघि नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले पनि माघ ७ गतेबाट लगाएको ताल्चा अस्ति खोलेको थियो । योसँगै अब चार महिनाभन्दा बढी समयदेखि बन्द त्रिविका प्रशासनिक कामहरु नियमित हुने बताइएको छ ।

टिप्पणीहरू