मर्यादा पालकको काँधमा चढ्ने सांसदको आक्रोश

मर्यादा पालकको काँधमा चढ्ने सांसदको आक्रोश

एमालेले गरेको संसद अवरोधका क्रममा प्रतिनिधिसभा बैठकमा अराजकता प्रदर्शन गरेकी सांसद गङ्गा चौधरीले मन्त्रीहरुलाई कुर्सी छोड्न चेतावनी दिएकी छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले थारु समुदायलाई हेपेको भन्दै मन्त्रीहरुलाई थर्काएकी हुन् ।

थारू समुदायको संरक्षण र संविधानप्रदत्त अधिकारसमेत नदिएको आरोप लगाउँदै चौधरीले मन्त्रीहरूलाई कुर्सीमा बस्ने अधिकार नै नरहेको दाबी गरिन् । राजनीति सिद्धान्त,दायित्व र मौलिक हकबारे संविधानमा हेर्न आग्रह गर्दै उनले विभागीय मन्त्रीहरूलाई जिम्मेवारीको कुर्सीमा बस्ने अधिकार र हैसियत नै नभएको दोहोर्याइन् ।

‘विभागीय मन्त्रीज्यूहरू, तपाइँहरू के गरेर कुर्सीमा बस्नुभएको छ ? जनताको संरक्षण गर्न सक्नुहुन्न भने कुर्सीमा बस्ने हक,अधिकार र हैसियत पनि छैन,’ चौधरीले भनिन् ।

चौधरी गत वर्ष एमालेले गरेको संसद अवरोधका क्रममा मर्यादा पालकको काँधमा चढेर चर्चामा आएकी सांसद हुन् । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयकहरु पेश गर्दैगर्दा एमाले सांसदहरुले नारावाजी गर्देै वेल घेराउ गरिरहेका थिए । त्यहिक्रममा चौधरीलगायतका केही सांसद मर्यादा पालकको काँधमा चढेर रोष्ट्रमतर्फ जान खोजेका थिए ।

उनीहरुलाई रोक्न खोज्ने महिला मर्यादा पालकको टाउकोमा समाएर कपाल लुछ्ने,लछार्ने,अश्लिल शव्द बोल्नेजस्ता असंसदीय हर्कत गरेको भन्दै चौधरीको व्यापक आलोचना भएको थियो ।

टिप्पणीहरू