खोपमा सरकारले कमिसन खाएको पूर्वमन्त्रीको आरोप

खोपमा सरकारले कमिसन खाएको पूर्वमन्त्रीको आरोप

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद तथा पूर्वमन्त्री खगराज अधिकारीले २४ लाख मात्रा कोरोनाविरुद्धको खोप हराएको आरोपसँग कमिसनको कुरो उठाउनु भएको छ । आज प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद अधिकारीले सरकारसँग खोप हराएको र सरकारले कमिसन लिएको बारे जवाफ दिन माग गर्नुभएको हो ।

उहाँले २४ लाख खोपबारे आफूहरु (एमाले) ले प्रधानमन्त्री शेरबहादुर देउवाको समेत ध्यानाकर्षण गराएको जानकारी गराउँदै उक्त आरोप लगाउनुभएको हो । ‘२४ लाख मात्रा खोप कहाँ गयो ? हामीले प्रश्न उठाई राखेका छौं,’ उहाँले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीज्यूकोमा गएर भनिएको छ, त्यो २४ लाख खोप कम्पनीबाटै कमिसनमा हराएको हो ?’

सांसद अधिकारीले आफू स्वास्थ्यमन्त्री भएको बेलामा एचआईभी एड्सदेखि क्यान्सरसम्मका एक सय ३९ किसिमका औषधि निःशुल्क दिने व्यवस्था गरेको दाबी गर्नुभयो । ‘तर अहिलेको सरकारले औषधि निःशुल्क गरेको भनेर भ्रम छर्यो, यसको जवाफ चाहियो,’ उहाँले अगाडि भन्नुभयो, ‘म स्वास्थ्यमन्त्री हुँदा नै ७२ वटा नयाँ औषधि निःशुल्क बनाएको हो । एचआईभी एड्सदेखि क्यान्सरसम्मका १ सय ३९ वटा औषधि त त्यतिबेलै निःशुल्क गरिएको थियो । अहिले यहाँ ठूलै काम गरेँ भनेर भ्रमको खेती गरिँदैछ । यसको जवाफ चाहिएन सभामुख महोदय ?’

गत वर्षको भन्दा स्वास्थ्य क्षेत्रमा सरकारले २२ प्रतिशतले बजेट घटाएको उल्लेख गर्दै उहाँले आक्रोश समेत व्यक्त गर्नुभयो ।

टिप्पणीहरू