प्रधानमन्त्रीमाथि रावलको कटाक्ष : सात पटक प्रधानमन्त्री भए देशै नरहला कि !

प्रधानमन्त्रीमाथि रावलको कटाक्ष : सात पटक प्रधानमन्त्री भए देशै नरहला कि !

नेकपा एमालेका सांसद डा. भीमबहादुर रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको स्वतन्त्रता र स्वाधीनता मासेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयको विनियोजन शीर्षकमाथि छलफलमा भाग लिँदै उहाँले देउवा प्रधानमन्त्री भएका बेला जहिल्यै राष्ट्रियता कमजोर बनाउने गरेको दाबी गर्नुभयो ।

देउवा पाँचपटक प्रधानमन्त्री बन्दा देशमा प्रतिगमन र राष्ट्रघातमात्र भएको भन्दै सातौं पटक प्रधानमन्त्री बन्ने हो भने देशै नरहने खतरा रहेको रावलको टिप्पणी छ ।

‘उहाँ २०५२ सालमा प्रधानमन्त्री हुँदा देश हिंसात्मक द्वन्द्वमा गयो । राष्ट्रिय हितविपरीत महाकाली सन्धि भयो । अर्को पटक प्रधानमन्त्री बन्दा देश प्रतिगमनमा गयो । पाँचपटक प्रधानमन्त्री हुँदा त यस्तो भयो भने सातपटक प्रधानमन्त्री हुन्छु भन्दै हुनुहुन्छ, त्यसो भयो भने त नेपाल नै के हुन्छ भन्न आशंका गर्नुपर्ने भयो’, रावलले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले चिनियाँ आयोजनाबाट उत्पादन गरिएको बिजुली नकिन्ने भन्नु, चिनियाँ आयोजनालाई खोसेर पश्चिमसेती आयोजना भारतलाई दिनु, अमेरिकासँग सामरिक सम्बन्ध स्थापना गर्न खोज्नु, तिब्बत मामिलासम्बन्धी अमेरिकी विदेश उपपमन्त्रीलाई शरणार्थी क्याम्पमा लैजानुजस्ता घटनाक्रमले नेपालको असंलग्न परराष्ट्र नीतिमाथि गम्भीर प्रहार भएको नेता रावलले बताउनुभयो । उहाँले नेपाललाई अविलम्ब शान्ति क्षेत्र घोषणा गर्न पनि माग गर्नुभएको छ ।

टिप्पणीहरू