प्रधानमन्त्रीको अमेरिका भ्रमणवारे उठ्यो प्रश्न

प्रधानमन्त्रीको अमेरिका भ्रमणवारे उठ्यो प्रश्न

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउनुपर्ने माग राखेका छन् । केपी ओली नेतृत्वको तत्कालीन सरकारमा परराष्ट्र मन्त्री हुँदा अमेरिकाको इण्डोप्यासिफिक रणनीति र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा रहेका ज्ञवालीले अहिले त्यसतर्फ संकेत गर्दै प्रधानमन्त्रीको भ्रमणमाथि आशंका गरेका हुन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा समय मागेर ज्ञवालीले प्रधानमन्त्री देउवाको भ्रमण राजकीय,सद्भावना अथवा व्यापारिक कुन प्रकारको रहेको भन्दै यसबारे संसदमा जानकारी दिनुपर्ने बताए । सत्तारुढ दलकै प्रमुख सचेतकले प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्नुपर्ने बताएको भन्दै उनले यो सामान्य विषय नभएकाले पनि सदनलाई जानकारी गराउनुपर्नेमा जोड दिए ।

ज्ञवालीले भने, ‘प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा सदन अनुत्तरित रहनु हुँदैन भन्ने मलाई लाग्छ । सम्माननीय प्रधानमन्त्रीज्यूको तर्फबाट यस विषयमा सदनलाई अविलम्ब जानकारी गराउनु आवश्यक छ भन्ने कुरा म अनुरोध गर्न चाहन्छु ।’

प्रधानमन्त्रीको भ्रमणबारे प्रश्न गर्ने ज्ञवालीमाथि पनि परराष्ट्र मन्त्री हुँदा त्यस्तै प्रश्न उठेको थियो । उनले अमेरिका भ्रमणका बेला नेपाललाई इण्डोप्यासिफिक रणनीति (आइपिएस) मा सहभागी गराउने सम्झौतामा हस्ताक्षर गरेर गोप्य राखेको तत्कालीन नेकपाका नेताहरुले आरोप लगाएका थिए । त्यसबारे विवाद बढेपछि उनले पार्टीको बैठकमा जवाफसमेत दिनुपरेको थियो ।

२०७६ माघमा बसेको नेकपाको केन्द्रीय कमिटी बैठकले पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा तीन सदस्सीय अध्ययन तथा सुझाव कार्यदल गठन गरेको थियो । कार्यदलले यथाअवस्थामा सम्झौता अनुमोदन गर्न नहुने निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो । कार्यदलले बुझाएको प्रतिवेदनमा एमसीसी आइपिएसको अंग भएकाले यथास्थितिमा अनुमोदन गर्न नहुने भन्दै ११ वटा बुँदा सच्याउन सरकारलाई सुझाव दिइएको थियो ।

तर, कार्यदलका सदस्य रहेका ज्ञवालीले भने हुबहु एमसीसी पारित गराउनुपर्नेमा जोड दिँदै प्रतिवेदनमा आफ्नो फरक मत राखेका थिए । नेकपा विभाजनको कारणसमेत मानिएको एमसीसी विवादमा ज्ञवालीको भूमिकालाई लिएर आमतहमा पनि प्रश्न र आशंका हुने गरेका थिए ।

टिप्पणीहरू