साइकल लेन कि बालेन ?

साइकल लेन कि बालेन ?

केही समयदेखि नै हो, केही नागरिक यो शहरलाई साइकल सिटी बनाउने अभियानमा लागिरहेका छन् । उनीहरू चाहन्छन् कि काठमाडौँ पूरै साइकल सिटी बनोस् ।

त्यसैले उनीहरूले शुरुदेखि नै भनिरहेका छन्, काठमाडौँमा पनि साइकल लेन चाहियो । साइकल लेनको माग राखी साइकलवादीहरू कराइरहेको धेरै भइसक्यो । तर, माग पूरा भने भएको छैन । यसपालिको चुनावमा पूरा होला कि जस्तो लाग्ने संकेत भने अलि अलि मिलेको छ ।

त्यो के हो भन्दा, उनीहरूले साइकल लेन मागिरहेका थिए, मेयरका रूपमा ‘बालेन’ आइदिएको छ । आखिर चाहिएको लेन न हो । साइकल लेन मागेको, बालेन आइदियो । के फरक पर्छ र । अहिलेलाई बालेनबाटै काम चलाउनुस् ।

साइकल लेन भनेपछि त्यहाँ साइकल मात्रै चल्छ– त्यो सबैलाई थाहा छ । तर, बालेनमा के–के चल्छ त्यो अहिलेसम्म थाहा भइसकेको छैन । अथवा, बालेनमा क–कसले के–के चलाउँछ त्यो पनि थाहा भएको छैन । बालेन यो शहरमा आएको नयाँ लेन चाहिँ हो ।

तर यो लेनमा के के गुडाउन मिल्छ, त्यो भने अझै पत्तो लागेको छैन । अहिले बालेन आएका कारण साइकल लेनवालाहरू भने जिल परेका छन् । किनभने मागेको साइकल लेन थियो, हातमा आइदियो बालेन । अब यसमाथि गुडाउने के ?

टिप्पणीहरू