धुलिखेलमा जफतपछि अन्तको निम्ति धमाधम

धुलिखेलमा जफतपछि अन्तको निम्ति धमाधम

एमालेबाट फुटेर बनेको नेकपा समाजवादीले धुलिखेलको धोकाका कारण जमानत गुमाएको छ । गठबन्धनसँग चित्त दुखाए पनि जिल्ला समन्वय समितिमा यसअघि भएको सहमति कार्यान्वयनका लागि दबाब दिएको छ ।

समाजवादी प्राप्त दुई नगर प्रमुख र दुई उपप्रमुखमध्ये मण्डन देउपुरको नगर प्रमुख पदमा विजयी भएको थियो । धुलिखेलको प्रमुखमा जमानत जफत हुने गरी कांग्रेसबाट स्वतन्त्र उठेका उम्मेदवारलाई अरु दलले मत राखे । एमालेले नगर प्रमुख पदमा विजय हासिल ग¥यो । कांग्रेस प्राप्त १३ सिटमै विजयी भयो । माओवादीलाई पाँचखालको उपप्रमुखमा कांग्रेसले धोका दियो ।

समाजवादी बनेपा र पनौतीको उपप्रमुख पदमा पराजित भएको छ । कांग्रेसले बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध, बेथान्चोक, रोशी, तेमालमा प्रमुख र महाभारत, खानिखोला, भुम्लु, मण्डन, धुलिखेलमा उपप्रमुख पदमा उम्मेदवारी दिएको थियो । माओवादी केन्द्रले खानीखोला, महाभारत, भुम्लु र चौरीमा अध्यक्ष, पाँचखाल, नमोबुद्ध, रोशी, तेमाल र बेथान्चोकमा उपप्रमुख पायो ।

माओवादीले पाँचखालबाहेक ७ स्थानमा विजय हासिल गरेको छ । कांग्रेस १३, माओवादी ७ र नेकपा समाजवादीको जिल्ला समन्वय समितिका लागि एक मत छ । बहुमतका लागि १४ मत आवश्यक पर्छ । एक मत मात्रै रहेको नेकपा समाजवादीलाई यसअघि जिल्ला समन्वय समितिको प्रमुख दिने प्रदेश स्तरको सहमति भाँड्न कांग्रेस उद्यत छ ।

जिल्ला समन्वय समितिका लागि एमालेसँग भने चार मत मात्रै छ । यसअघि सिंगल जिल्ला समन्वय समिति र एक्लै ७ वटा पालिका जितेको उसलाई फुटको असर त छँदै छ, झनै गठबन्धनले खुम्च्याएको छ । जनप्रतिनिधिका हिसाबले दोश्रो भएको एमाले मतका हिसाबले पहिलो भएको छ । कांग्रेसले एमालेसँग वार्ता अघि बढाएर माओवादी र समाजवादीलाई धोका दिने तयारी पनि भइरहेको छ ।

तर, मंसिरमा हुने संघीय र प्रदेश तहको निर्वाचनमा एमालेलाई हराउन पनि गठबन्धनको सहमति तोड्न नहुने पक्षमा तीव्र दबाब छ । समाजवादीलाई प्रमुख दिँदा कांग्रेसले उपप्रमुख र माओवादीले सदस्य पाउनेछ । माओवादी र कांग्रेस मिलेर समाजवादीलाई अलग्याउने तयारी पनि छ । समाजवादीका विद्यार्थी नेता दीपक गौतम र यसअघि जिल्ला विकास समिति सदस्य भएका सुरेश कक्षपति प्रमुखका दावेदार हुन् ।

एमालेबाट कांग्रेस भएका साधुराम बडाललाई धुलिखेलको सदस्यमा हराइएको छ भने मण्डन देउपुरका नगर प्रमुख टोकबहादुर वाइबाका सल्लाहकार गोकुल गौतम पनि सदस्यमा पछि परेका छन् । पनौतीका दीपक थापालाई पनि हराइएको छ । कांग्रेसले समन्वय समितिका निम्ति हेभिवेट भएका कसैलाई पनि उठाएको छैन । जिल्ला समन्वय समितिको प्रमुख हुने व्यक्ति सिडिओलाई समेत निर्देशन दिनसक्ने हैसियतको हुने भएकाले त्यस्तै नेताको खोजी भइरहेको छ ।

९ सय ३३ को जमानत जफत

काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय तहमा उम्मेदवारी दर्ता गरेका २ हजार ४ सय ६७मध्ये ९ सय ३३ जनाको जमानत जफत भएको छ । धुलिखेलबाट नेकपा समाजवादी प्रमुख पदका उम्मेदवार दयासागर श्रेष्ठको जमानत जफत भएको छ । धुलिखेलमा गठबन्धनले दयासागरलाई मत नदिई कांग्रेसले बागी उठाएका बस्नेतलाई मत राख्न ह्विप लगाएको थियो ।

धुलिखेलका ९८ जना उम्मेदवारले जमानत गुमाएका छन् । सबैभन्दा धेरै बनेपा नगरपालिकामा १ सय २८ जनाले जमानत गुमाएका छन् भने पनौतीमा १ सय २६ जनाको त्यही हालत छ । खानीखोलामा २७, चौरीदेउरालीमा ४३, तेमालमा ८२, नमोबुद्ध ६१, पाँचखालमा ६३, बेथान्चोकमा ३६, भुम्लुमा ६३, मण्डनदेउपुरमा ८९, महाभारतमा ३६ र रोशीमा ८१ जना उम्मेदवारले जमानत गुमाएका छन् ।

निर्वाचनका लागि २ हजार ७ सय ३३ जनाले उम्मेदवारी दर्ता गराएको भए पनि गठबन्धनका कारण २ सय ६६ जनाले फिर्ता लिएका थिए । उम्मेदवारी दर्ता गरेकामध्ये ८ सय ३४ जनाको जमानत जोगिएको छ ।

गठबन्धनका तर्फबाट कांग्रेसले ४ प्रमुख र ३ अध्यक्ष, २ उपप्रमुख र ४ उपाध्यक्षमा विजय प्राप्त गरेको छ । कांग्रेसले माओवादीलाई पाँचखालको उपप्रमुखमा असहयोग गरेर पराजय गराएको छ भने बनेपा, धुलिखेल, पनौतीमा समाजवादीलाई असहयोग गरेको छ । त्यस्तै माओवादी ४ वटा पालिकामा अध्यक्ष, एक पालिकामा उपप्रमुखसहित ३ वटा पालिका उपाध्यक्षमा विजयी भएको छ ।

नेकपा एमाले धुलिखेलको प्रमुखसहित बनेपा, पनौती र पाँचखालको उपप्रमुख पदमा विजयी भएको छ । ४३ वटा वडासहित २ सय ४५ सिटमा एमाले, ६० वडाध्यक्षसहित ३ सय १४ पदमा नेपाली कांग्रेस, २५ वडाध्यक्ष सहित १ सय १२ पदमा माओवादी र ४ वडाध्यक्षसहित २१ पदमा समाजवादी विजयी भएका छन् । राप्रपा १, स्वतन्त्र ७ जनाले विजय हासिल गरेका छन् । काभ्रेमा ७ सय १ मध्ये तेमाल ३ मा दलित सदस्य नभएकाले ७ सय जनप्रतिनिधि निर्वाचित भएका हुन् ।

टिप्पणीहरू