केपी ओली भन्नुहुन्छ, ‘वामपन्थी गठबन्धन हुँदैन’

केपी ओली भन्नुहुन्छ, ‘वामपन्थी गठबन्धन हुँदैन’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी संघ तथा प्रादेशिक चुनावमा आफ्नो पार्टीले वाम गठबन्धन नगर्ने प्रष्ट पार्नुभएको छ । स्थानीय चुनाव हारेपछि एमालेका कतिपय नेताहरुले वाम तालमेलको आवश्यकतामाथि जोड दिइरहेका बेला ओलीको यस्तो भनाइ आएको हो ।

मुलुकमा एमाले मात्र वामपन्थी पार्टी भएको बताउँदै उहाँले आगामी संसदीय निर्वाचनमा वामपन्थीको नामका अन्य पार्टीसँग गठबन्धन नगर्ने बताउनुभयो । सत्ता गठबन्धन तोड्न एमालेबाट प्रधानमन्त्रीको प्रस्ताव आएको भन्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको भनाइको पनि ओलीले खण्डन गर्नुभयो ।

‘मैले कुनै पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने आश्वसन दिएको छैन्’, आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘मुलुकमा एमालेमात्र वामपन्थी पार्टी हो । अन्य कुनै पार्टी छैनन् । त्यसैले अब आउने संसदीय निर्वाचनमा वामपन्थीको नाम दिएका पार्टीसँग गठबन्धन हुदैन ।‘

उहाँले स्थानीय तहको चुनावमा संख्याका हिसाबले केही कम सिट आएर दोस्रो भए पनि लोकप्रिय मतका हिसाबले एमाले पहिलो भएको समेत दाबी गर्नुभयो । स्थानीय तह चुनावले सबै निर्वाचनको स्थिति तय नगर्ने भन्दै अध्यक्ष ओलीले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीले धेरै स्थानमा जित्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै, उहाँले नेकपा एकीकृत समाजवादीका कार्यकर्तालाई एमालेमा आए समाहित गरिने तर, स्वागत नहुने बताउनुभयो ।

टिप्पणीहरू