शंकाको घेरामा गृहमन्त्री

शंकाको घेरामा गृहमन्त्री

प्रमुख प्रतिपक्षको लगातारको अवरोधका कारण झण्डै एक वर्षसम्म अवरुद्ध भएको संघीय संसद निर्वाचनलगत्तै आह्वान भएको बजेट अधिवेशनपछि सुचारु भएको छ । संसदले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्नेछ । बजेटमाथिको सैद्धान्तिक छलफलपछि सांसदहरुले बिनोयोजन विधेयकमाथि धारणा राख्ने क्रम अहिले जारी छ ।

छलफलमा भाग लिने क्रममा सांसदहरुले मुलुकका जल्दाबल्दा समस्याका विषयमा पनि सरकार, विभागीय मन्त्रालय र सम्बन्धित मन्त्रीलाई कडा प्रश्न राखिरहेका छन् । सांसदहरुका यस्ता प्रश्न अधिकांश गृहमन्त्री बालकृष्ण खाँणतर्फ सोझिएका छन् । शान्ति सुरक्षाका सम्बन्धमा उनीहरुले गृहमन्त्रीसँग जवाफ पनि मागिरहेका छन् ।

स्थानीय चुनावमा भएका शान्ति सुरक्षासँग सम्बन्धित विषय, विभिन्न जिल्लामा घटेका हत्या हिंसाका घटना आदिलाई लिएर संसदमा गृहमन्त्री खाँणको चर्को आलोचनासमेत भइरहेको छ । शान्ति सुरक्षा कायम गर्न असफल रहेको भन्दै कतिपय सांसदले गृहमन्त्रीको राजीनामा पनि मागेका छन् ।

मुख्यगरी बर्दिया, अछाम, रोल्पा, बाजुरालगायत जिल्लामा भएको घटनाबारे एमालेका सांसदहरूले आपत्ति जनाएका छन् । उनीहरुले गृहमन्त्रीसँग ती जिल्लामा भएका घटनाको यथार्थ अवस्था बताउन माग गरेका छन् ।

अस्तिको बैठकमा एमाले सांसद यज्ञ बोगटीले अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको मृत्यु प्रकरणलाई लिएर गृहमन्त्रीको चर्को आलोचना गर्दै सत्यतथ्य छानबिनको माग गर्नुभएको थियो ।

प्रहरीले उजुरीसमेत लिन नमान्नु सामान्य विषय नहुने भन्दै उहाँले गृहमन्त्रीले यसबारे सदनलाई जानकारी गराउन जोडदार माग राख्नुभयो । जवाफमा गृहमन्त्री खाँणले प्रहरीले जाहेरी लिने विश्वास दिलाउनु भयो । उक्त घटनाको छानबिन गर्न सभामुख अग्नि सापकोटाले सरकारलाई निर्देशनसमेत दिनुभएको थियो ।

एमालेकै सांसद गंगा चौधरीले पनि बर्दियामा गोली लागेर नवीना थारुको मृत्यु भएको घटनाबारे गृहमन्त्रीलाई कडा प्रश्न गर्नुभयो । ‘थारु गाउँमा सरकारले गोली किन हान्छ ?’, हिजोको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले सोध्नुभयो । जवाफ दिने क्रममा गृहमन्त्रीले जाति विशेषलाई लक्षित गरी प्रहरीले गोली नहानेको र सरकारले प्रहरीलाई त्यस्तो आदेश पनि नदिइएकोमा आश्वस्त पार्नुभयो ।

हिजोकै बैठकमा एमालेका अर्का सांसद आशाकुमारी विकको प्रश्न पनि गृहमन्त्रीतिरै तेर्सियो । देशभर बलात्कारका घटना बढेको र रोल्पा कारागारभित्र सुन्दर हरिजनको रहस्यमय मृत्यु भएको घटनाले सरकार शान्ति सुरक्षा कायम गर्न असफल देखिएको भन्दै उहाँले गृहमन्त्रीलाई प्रश्न गर्नुभयो, ‘बलात्कार र हिंसाका घटना टुलुटुलु हेरेर बस्ने गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनु पर्दैन ?’

काँग्रेसका प्रभावशाली नेतासमेत रहेका गृहमन्त्री खाँण प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्रका रुपमा चिनिनुहुन्छ । २०७८ असार २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भएकै दिन सानो आकारको क्याबिनेट गठन हुँदा खाँण पहिलो रोजाइमा पर्नुभएको थियो ।

पहिले रक्षामन्त्री भएर काम गरेको अनुभवसमेतका आधारमा उहाँले कुशलतापूर्वक गृहमन्त्रालय हाँक्ने अपेक्षा धेरैले गरेका थिए । तर, सांसदहरुले उठाएका प्रश्नले त्यसअनुसार कार्यसम्पादनमा गृहमन्त्री चुकेको त होइन ? भन्ने प्रश्न पनि उठेको छ ।

शान्तिसुरक्षाको विषयमात्रै होइन प्रहरीको सरुवा बढुवामा पनि गृहमन्त्री विवादमुक्त हुनुहुन्न । आईजीपी नियुक्तिदेखि एआइजी र डिआईजी बढुवामा उत्पन्न विवादले उहाँको भूमिका र निर्णय क्षमतामाथि धेरैले शंका गर्न थालेका हुन् ।

टिप्पणीहरू