कसले छेड्याे प्रधानमन्त्री अमेरिका जाने कुरा ?

कसले छेड्याे प्रधानमन्त्री अमेरिका जाने कुरा ?

‘कुरा गर्‍यो, कुरैको दुःख’ भनेजस्तो प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका जाने चर्चा चलिरहेको छ । तर, यसबीच नेपालका प्रधानसेनापति पनि अमेरिका जाने र उताबाट प्यासिफिक कमाण्डका जनरल चाल्र्स ए. फ्लिन नेपाल आउने कारण प्रधानमन्त्री जाने तिथि तय हुन सकेको छैन ।

अनुमान गरिँदै छ, के यो भ्रमण ढिला हुन लागेको हो ? या, तत्काल भ्रमण नै नहुने हो ? किनभने, जुलाई महिनासम्म स्याण्डबाई बसेको वासिङ्गटन डिसी स्थित नेपाली दूतावासमा राजनीतिक मामिला हेर्ने द्वितीय सचिव उत्तम घिमिरेलाई परराष्ट्र मन्त्रालयले भर्खर तीन साताका लागि छुट्टी दिएको छ ।

यदि प्रधानमन्त्रीको भ्रमण हुने भएको भए बिदाको सिफारिस हुनु नपर्ने, भए पनि स्वीकृत नहुनु नपर्ने हो । उनी छुट्टीमा कामबाट अलग भइसकेका छन् । त्यहाँस्थित नेपाली दूतावासमा जम्मा सात कर्मचारी छन् । सैनिक सहचारी कर्णेल भुवनपूर्ण सत्याल र इकोनोमिक काउन्सिलर हुमकान्त भण्डारी छुट्टै सेवाका भए । राजदूत श्रीधर खत्री भर्खरै गएका । डिसिएमका रुपमा कुमार खरेल डेढ वर्षदेखि काम गरिरहेका छन् ।

प्रधानमन्त्रीअघि नै प्रधानसेनापति जाँदा सबै कर्मचारीको धपेडी नहोला, तर प्रधानमन्त्रीको भ्रमणमा भने तिनले खटिनै पर्छ । उत्तम खरेल आफैँ पनि एक वर्षभन्दा बढी बसिसकेका अफिसर हुन् । थर्ड सेक्रेटरी जनक सिंह नयाँ छन् । नयाँ गएका राधारमण दुबेले कुरा बुझ्नै बाँकी छ । यसकारण पनि प्रश्न उठ्यो – के प्रधानमन्त्रीको भ्रमण ढिलो हुन लाग्दैछ ? या भ्रमण हुने हल्ला मात्रै हो ?

यता, परराष्ट्र मन्त्रालयमा केही ‘नयाँ’ कुरा सुनिँदैछ । कुनै मुलुकमा एउटै परिवारबाट राजदूत र दोस्रो हैसियतको डिसिएम जानु नै नयाँ हुने त्यहाँका कर्मचारीहरु बताउँछन् । भर्खरै राजदूत सिफारिस भएर एग्रिमोका लागि पठाइएका घनश्याम भण्डारी बंगलादेश जाने भएपछि परराष्ट्र सेवामै उपसचिव रहेकी पत्नी ललिता सिलवाल पनि त्यहीँको पोस्टिङमा जाने संभावना प्रवल बनेको हो ।

असोजमा कुमार राई ढाकाबाट फर्किएपछि ललिताको त्यहाँ पोष्टिङ हुनसक्छ । एकातिर, पतिपत्नीले सँगै बस्न पाउनुपर्ने नैसर्गिक अधिकारसँगै व्यवहारिक कठिनाई पनि हेर्नुपर्छ । अर्काेतिर पति–पत्नी एकै ठाउँ बस्दा हुने स्वार्थको द्वन्द्वका कुरा पनि छन् ।

यदि ललिता ढाका गइन् भने त्यतातिर रुची राखेका नारायण वाग्ले अन्य देश रोज्नुपर्ने अवस्थामा पुग्छन् । यसबीच, अष्ट्रियाको राजदूतबाट फिर्ता भएर मन्त्रालयमा प्रशासन हेरिरहेका सहसचिव प्रकाश सुवेदी असार ४ गते अनिवार्य अवकाशमा जाँदै छन् ।

यससँगै मन्त्रालयमा राहदानी, युरोप–अमेरिका महाशाखा, सार्कसहितका क्षेत्रीय सहयोग संगठन हेर्ने, शिष्टाचार महापाल, प्रशासन, नीति योजना–विदेश बस्ने नेपाली, मध्य एसिया, अफ्रिकाजस्ता शाखा र विभाग कसले हेर्ने भन्ने कुराको अन्यौलता आउन थालेको छ । घनश्याम भण्डारी न्युयोर्कको सेकेण्ड म्यानबाट दुई वर्ष पनि नबसी फर्किएर बंगलादेशको राजदूत हुन पाए । न्युयोर्कमा सहसचिव पठाउनुपर्नेमा अहिलेसम्म रिक्त छ ।

यता मन्त्रालयमा चार सहसचिव फाजिलमा छन् । तेजबहादुर क्षेत्री, घनश्याम लम्साल, सुरेन्द्र यादवसहित फाजिलका सहसचिवहरुबाटै मन्त्रालयका खालि ठाउँ भरिने सम्भावना छ । अर्का सहसचिव कौशलकिशोर रायलाई अस्थाई कामकाज हेर्ने गरी बेइजिङ पठाइएको छ । पहिला कौशलले उपसचिवमा त्यहीँ काम गरेका थिए ।

अनुभवी मानिने उनी जाँच दिएर सहसचिव उत्तीर्ण भएका हुन् । परराष्ट्रमा माघअघि नियमित प्रक्रियाबाट सहसचिव आउने अवस्था छैन । बेल्जियमको राजदूतबाट फर्किएर चाइना डेस्क हेर्ने सहसचिव लोकबहादुर थापा दुर्गाबहादुर सुवेदी (दुबसु क्षेत्री) जापान गएजस्तै कतै जान इच्छुक थिए । अब दुवसुले छोडेको शिष्टाचार महापालमा जान सक्छन् ।

कौशलकिशोरलाई लामो समय चीनमा राखिएजस्तै निर्मल काफ्लेलाई पनि त्यहीँबाट सीधै न्युयोर्क पठाइएको हो । उनी त्यहाँबाट फर्किएर अहिले ब्राजिलमा राजदूतका रुपमा नियुक्ति सिफारिश भएको छ । सुरेन्द्र यादव या कौशलकिशोर रायमध्ये एकजना न्युयोर्क, एकजना बेइजिङ या असोजपछि दिल्ली जाने स्थिति रहन्छ । दिल्ली दूतावासमा रहेका रामप्रसाद सुवेदीको असोजमा दुई वर्षे कार्यकाल सकिन्छ । सिनियर सहसचिवहरु त्यहाँ जान मान्दैनन् । जेनेभाबाट तीर्थ वाग्ले फर्किएपछि पद घटाएर उपसचिव राखिएकामा त्यहाँ जंगबहादुर गुरुङ गइसकेका छन् ।

यसवीच नेपाल त्यही देश हो, जहाँ विदेशी गुप्तचरका प्रमुख आउँदा सरकार प्रमुख नै आएजस्तो यहाँका प्रधानमन्त्रीले रातभरि भेट्ने र नयाँ–नयाँ राजनीतिक घटनाक्रम सिर्जना गर्ने काम भएको थियो । कूटनीतिक दृष्टिले कस्ता पाहुनालाई कुन स्तरका पदाधिकारीले कति महत्व दिने भन्ने कुरा निर्धारित हुन्छन् । अमेरिकी सेनाका प्यासिफिक कमाण्डर चाल्र्स ए. फ्लिनको आज देखि ११ सम्म हुने भ्रमण तालिका हेर्दा यो यात्रालाई नेपालले एकदम उच्च महत्व दिएको छर्लङ हुन्छ ।

परराष्ट्रको शिष्टाचार श्रोतका अनुसार शनिबार माउण्टेन फ्लाइटमा सहभागी भएर नेपालका प्रधानसेनापति प्रभुराम शर्मासँग सर्वोच्च शिखर सगरमाथाको बेसक्याम्प कालापत्थर छेउ चिया र कफी खाने गरी एभरेष्ट भ्यु होटल बुक गरिएको छ । उनको सम्मानमा रात्रिभोजको आयोजना गरिँदै छ । त्यसो त नेपाल आफैं पनि अमेरिकाद्दारा मायाँ गरिएको मुलुक हो ।

सेनालाई यताउता गरी वर्षको कम्तिमा १० वटा तालिम दिने, युएसएआइडी, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषमार्फत पनि गतिलै सहयोग उपलब्ध गराउनेजस्ता भूमिका उसले इमान्दारीपूर्वक खेलेको पाइन्छ । राजाले नेपाली जनताको लोकतान्त्रिक अधिकार हनन गर्दा कडा प्रतिवाद गर्ने प्रमुख राष्ट्र अमेरिका नै थियो ।

टिप्पणीहरू