कोरियाको रोजगार अनुमति प्रणाली (इपीएस) खुल्छ : मन्त्री श्रेष्ठ

कोरियाको रोजगार अनुमति प्रणाली (इपीएस) खुल्छ : मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सञ्चालन हुने कोरियन भाषा परीक्षा प्रभावकारी र विश्वसनीय रहेको बताउनुभएको छ । ललितपुरको भैंसेपाटीमा सञ्चालन भइरहेको कोरियन भाषा परीक्षाको निरीक्षण गर्ने क्रममा मन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो ।

उहाँले सरकारी तवरमा श्रमिक पठाउन सञ्चालित भाषा परीक्षा प्रणालीलाई वैज्ञानिक बनाउँदै लगेकोमा कोरियाको मानव संसाधन विकास विभाग (एचआरडी) को प्रशंसा गर्नुभएको छ ।

वैदेशिक रोजगार विभागअन्तर्गत (ईपीएस) शाखाले कोरिया जान आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा सञ्चालन गरिरहेको हो । कृषि तथा पशुपालन र उत्पादनमुलक समूहमा रोजगारीका लागि कोरिया जान ४४ हजार आठ सय ५३ जना युवाले आवेदन दिएका छन् ।

कृषि र पशुपालन क्षेत्रमा जाने १० हजार आठ सय ५८ जना छन् । उत्पादनमूलक समूहमा ३३ हजार छ सय ९५ जना छन् । कृषि तथा पशुपालनमा जाने १० हजार आठ सय ५८ जनामध्ये छ हजार पाँच सय ९७ जनाको परीक्षा अहिले भइरहेको छ भने बाँकी चार हजार दुई सय ६१ जनाको आगामी असार १३ गतेबाट सुरु हुँदैछ ।

अन्य परीक्षा पनि नियमित रुपमा सञ्चालन हुने इपीएस कोरिया शाखाले जनाएको छ । सन् २००७ मा दुई देशका सरकारबीच श्रमका लागि नेपाली श्रमिक लैजाने सहमति भएको थियो ।

श्रमिकहरू जाने क्रम सन् २००८ बाट सुरु भएको थियो । कोरियामा नेपालीहरू उत्पादन र कृषि तथा पशुपालन गरी क्षेत्रमा कार्यरत छन् । सन् २०२० देखि रोकिएको रोजगार अनुमति प्रणाली (इपीएस) छिट्टै नवीकरण हुनेसमेत मन्त्री श्रेष्ठले बताउनुभयो ।

टिप्पणीहरू