साँझ नपर्दै सन्चो, त्यो बैठकको घन्चोमन्चो !

साँझ नपर्दै सन्चो, त्यो बैठकको घन्चोमन्चो !

साँझ नपर्दै सञ्चो नहोलाजस्तो भयो भन्दै सचिवालय बैठक वीचैमा छाड्नुभएका प्रधानमन्त्री केपी ओली बेलुका यति हट्टाकट्टा हुनुभयो कि, मन्त्रीदेखि अझै माथिसम्म भेट्न पुग्ने ! ।

बुधबार अपराह्न बोलाइएको सचिवालय बैठकमा ‘सञ्चो नहोलाजस्तो भयो’ भन्दै उठ्नुभएका सम्माननीय प्रधानमन्त्री केपी ओलीको रातिको अवस्था त्यस्तो रहेन ।

बैठकमा जब वामदेवले प्रधानमन्त्रीको अनुमान र अपेक्षाभन्दा फरक किसिमको प्रस्तुति राख्नुभयो, प्रधानमन्त्री त्यहीँबाट दिक्दार हुनुभएको भैसेपाटी श्रोत बताउँछ।

वामदेवले भन्नुभयो,‘ममाथि सबैबाट खेलबाड भइरहेको छ, तपाईंबाट पनि भयो । अब मिलेर जानुपर्छ, तपाईंले एक पद छाडेर जानुपर्छ ।’
यति कुरा सुन्दैमा प्रधानमन्त्रीको अनुहारमा फरक हाउभाउ देखिइसकेको थियो ।

वामदेवले भन्दै जानुभयो, ‘मलाई केही चाहिएन,तर पार्टी त राम्रो बनाउनुपर्यो नि । कार्यसूची र एजेण्डा तयार गर्ने कुरामा चाहिँ किन ध्यान नदिएको ? यत्रा साथीहरुले कुरा उठाइरहनुभएको छ । त्यसैले अहिले नै एउटा पद छाड्नुभयो भने राम्रो हुन्छ । नभए, तलतल गयो भने दुबै पद सुरक्षित छैनन् ।’

यति कुरा सुन्नेबित्तिकै प्रधानमन्त्री जुरुक्क उठ्नुभयो । भन्नुभयो, ‘सञ्चो नहोलाजस्तो भयो । जिउ दुःख्यो । थाकेँ । आराम गर्छु ।’ र, बैठकबाट बाहिरिनुभयो ।

त्यसरी निस्कनुभएका प्रधानमन्त्रीले केही बेरमै रक्षा र परराष्ट्रमन्त्रीहरुसँग भेट्न भने भ्याउनुभयो ।
बैठकको शुरुवातमै प्रधानमन्त्रीले हात्तीबन, खुमलटार, कोटेश्वरतिर गरिएका भेटबारे कुरा उठाउनुभएको थियो ।
‘कतिबेला खुमलटार पुग्या छ, कतिबेला हात्तीबन पुग्या छ । गौतमजी पनि जानुभएछ’ भन्दै

प्रधानमन्त्रीले सुनाउनुभयो, ‘मलाई थाहा हुँदैन ? एक–एक कुरा थाहा हुन्छ मलाई ।’

वामदेवले हिजै विहान प्रचण्डसँगको भेटमा ‘अस्ति जे–जे भयो, भयो । ममाथि धोका भयो । सोझोपनको फाइदा उठाइयो’ भन्नुभयो ।
तर, अचम्म के छ भने, प्रधानमन्त्रीले फ्याँक्नुभएको तुरुपबाट धोका पाएपछि वामदेव अझै महासचिव विष्णु पौडेललाई भने विश्वास गरिरहनुभएको छ । उहाँले प्रचण्डलाई सुनाउनुभयो, ‘विष्णुले त प्रयास गर्नुभएकै हो ।’

खासमा वामदेवलाई अल्मल्याएर आफ्नो पक्षमा राख्ने कामका लागि विष्णु प्रयोग भएको र वामदेव प्रयोग गरिन सफल हुनुभएको बुझाई नेकपा नेताहरुमा छ । तर,वामदेव यो कुरा मान्न तयार हुनुहुन्न ।

टिप्पणीहरू