संसद बैठकमा सन्दर्भ विनियोजन विधेयक, कुरो प्रधानमन्त्रीको र्‍यालसिंगान

संसद बैठकमा सन्दर्भ विनियोजन विधेयक, कुरो प्रधानमन्त्रीको र्‍यालसिंगान

नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले राजनीतिमा उमेर हद तोक्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले अन्य क्षेत्रमा जस्तै राजनीतिमा पनि अवकाशको निम्ति उमेरहदको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभएको हो ।७० वर्ष उमेर नाघेकालाई कुनै पनि तहको चुनावमा प्रतिस्पर्धा गर्न नपाउने गरी संविधान संशोधन गर्न पनि भट्टराईले सुझाव दिनुभएको छ ।

‘संविधान अब केही विषयमा संशोधन गर्नुपर्ने हुन्छ । निजामती, कानुन सेवा, शिक्षकलगायतका क्षेत्रमा ६५ अथवा ५८ वर्षमा अवकाश प्रणाली राखेका छौँ,’ उहाँले भन्नुभयो, ‘तर, राजनीतिक क्षेत्रमा यो अनियन्त्रित छ । अब ७० वर्ष नाघेका कोही पनि राज्यका कुनै पनि निकायको चुनावमा उठ्न नपाउने व्यवस्था किन नगर्ने ?

सांसद भट्टराईले र्यालसिंगान काढ्ने प्रधानमन्त्री मुलुकलाई आवश्यक नभएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवामाथि कटाक्षसमेत गर्नुभएको छ । गत बुद्धजयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी लुम्बिनीमा आयोजित धार्मिक समारोहमा प्रधानमन्त्री देउवा कुर्सीमा निधाएका बेला र्याल चुहिएको थियो । सोह सन्दर्भलाई लिएर एमाले नेताहरुले त्यतिबेलै प्रधानमन्त्री देउवाको चर्को आलोचना गरेका थिए ।भट्टराईले पनि देउवातर्फ संकेत गर्दै र्याल काढ्ने र कुर्सीमा निदाउने प्रधानमन्त्री नचाहिने बताउनुभएको हो । राजनीतिमा उमेरहदको आवश्यकतामा जोड दिने एमाले नेताहरुले आफ्नै पार्टीमा भने त्यसको कार्यान्वयन गराउन सकेका छैनन् । एमाले विधानमा ‘सबै कार्यकारी कमिटीमा निर्वाचित वा मनोनित हुन उमेरको हद ७० वर्ष हुनेछ’ भनेर लेखिएको छ । तर, गत फागुन ११ गते ७० उमेर पुग्नुभएका केपी शर्मा ओली अहिले अध्यक्ष हुनुहुन्छ ।

चुनावी प्रतिस्पर्धाका लागि ७० वर्षे उमेरहद तोक्नेगरी संविधान संशोधन भए आगामी चुनावपछि बाजा बजाएर सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीको कुर्सीमा उक्लने घोषणा गर्नुभएका अध्यक्ष केपी शर्मा ओलीले के गर्नु होला ? आफ्नै पार्टीको विधान कार्यान्वयन गराउन नसक्ने भट्टराईहरुले संसद्को रोष्ट्रममा उभिएर अरुमाथि कटाक्ष गर्नुभन्दा आफ्ना अध्यक्षलाई पो सम्झाउनु पर्ने त् !

टिप्पणीहरू