सर्वोच्चविरुद्ध बारामा अनसन, काठमाडौँ आउने तयारी

सर्वोच्चविरुद्ध बारामा अनसन, काठमाडौँ आउने तयारी

सर्वोच्च अदालतले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्न रोक लगाएको विरोधमा बारामा रिले अनसन सुरु भएको छ । विमानस्थल निर्माणका सबै प्रक्रिया रद्द गराउने अदालतको फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीहरू अनसन बसेका हुन् ।

फैसलाको विरोधमा १४ दिनदेखि राजमार्ग अबरुद्ध गर्दै आएका यी संघ संस्थाले आन्दोलनको स्वरूप फेरेर रिले अनसनलाई निरन्तरता दिएका हुन् । निजगढ नगरपालिकास्थित सहिद चोकमा हिजोबाट सुरु भएको रिले अनसन आज दोस्राे दिन पनि जारी छ ।

धर्नामा सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठ, निजगढ नगरपालिकाकी पूर्वउपप्रमुख लीलादेवी लामिछाने लगायत १५ जना रहेका छन् ।

श्रेष्ठले विमानस्थल निर्माण गराउन सडक र संसदीय आन्दोलनलाई पनि सँगै अघि बढाउने र केही दिनभित्र प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट गरेर आफ्ना माग पेस गर्न काठमाडाैंमा डेलिगेसन जाने तयारी रहेको बताए ।

टिप्पणीहरू