यसरी पनि चुनाव जितिन्छ र कमरेड ?

यसरी पनि चुनाव जितिन्छ र कमरेड ?

पार्टीभित्रको अन्तर्घातका कारण स्थानीय तहको निर्वाचन हारेको एमालेभित्र त्यसैलाई लिएर रडाको मच्चिएको छ । एमालेको गढ भनेर चिनिएका र निर्वाचनअघि विजय सुनिश्चित ठानिएका पालिकामै लज्जास्पद पराजयका कारण अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले आफ्नैबाट पार्टी जोगाउन चुनौती बढेको बताउनुभएको हो । त्यसबाट उत्पन्न आपसी अविश्वास, विवाद हुँदै आरोपप्रत्यारोप र कारवाहीको तहसम्म पुग्दा लफडा थप चर्किएको हो ।

पूर्वमन्त्री तथा स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी पराजयको मूल जिम्मेवारी अध्यक्षले लिनुपर्ने माग गरेपछि केशव बडाल अध्यक्ष रहेको अनुशासन आयोगले एमालेमा कारवाहीको सिफारिस गरेको छ । अध्यक्षविरुद्ध बोलेको भन्दै आयोग भुसालमाथि खनिएको घटनापछि आएको हलचल साम्य नहुँदै पूर्वमुख्यमन्त्री तथा पूर्वपार्टी सचिव भीम आचार्यले भोट नहाल्ने सबैलाई कारवाही गर्न कटाक्ष गरेका छन् । भुसाललाई कारवाही गरेर पार्टी नेतृत्व उम्किन खोजेको आशंका भीम रावललगायतका अरु असन्तुष्ट नेताहरुले पनि गरेका छन् ।

यस्तो परिस्थितिका बीच भुसालमाथि कारवाहीको डण्डा चलाए आगामी संघीय निर्वाचनमा एमालेको अवस्था झनै नाजुक हुने विश्लेषण स्वयम् अध्यक्षलाई ’बा’ भन्नेहरुले पनि गरिसकेका छन् । त्यसैले केशव बडाल र अध्यक्ष ओलीको चाहनाअनुसार नै केन्द्रीय कमिटीले भुसाललाई ठूलो कारवाही गर्ने सम्भावना नरहेको उनीहरु नै अनौपचारिक कुराकानीमा बताउँछन् । भुसालले आफ्नो अडानमा कायमै रहेको सार्वजनिक अभिव्यक्ति दिइसकेकाले कारवाही गरेको देखाएर थामथुम पार्ने ’बा’ निकटहरुको चाहना पूरा नहुने सम्भावना पनि रहेको एकथरिको बुझाइ छ ।

केन्द्रमा चर्केको यो लफडा तलतिर पुग्दा झन् अराजक देखिन थालेको छ । कतिपय जिल्ला र पालिकामा अन्तरघाती सिध्याउने भन्दै भौतिक कारवाहीको अभियानसमेत चलाइएका छन् । आफ्ना धारणा राखेकै आधारमा कारवाहीको सिफारिसमा परेका भुसालको निर्वाचन क्षेत्र समेत रहेको रुपन्देहीको एमाले सिद्धार्थनगर कमिटी सचिव नारायणप्रसाद भण्डारीले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध लेखेको विषयमा कारवाही होला कि नहोला भनेर यतिबेला रुपन्देहीमा चर्चा शुरु भइसकेको छ । रुपन्देहीको एमालेपंक्ति मात्रै नभई चिया पसल, रेष्टुरेन्ट, कर्भडहल र विभिन्न भेटघाटमा भण्डारीले एमाले उम्मेदवार डा. रामप्रसाद बस्यालको विषयमा टिप्पणी गर्दै लेखेको कुरा अहिले सामाजिक सञ्जालमा व्यापक पारिएको छ ।

एमालेको तर्फबाट सिद्धार्थनगरको मेयरमा भण्डारी पनि आकांक्षी थिए । उनीसँगै नेताहरु डा. बस्याल, राजेन्द्रप्रसाद पन्थी, भरतकुमार पोखरेल र हितराज पन्थीले पनि चाहना राखेका थिए । तर, पार्टीले डा. बस्याललाई मेयरको टिकट दियो । अन्य आकांक्षीहरु बस्याललाई जिताउन जुटे, तर भण्डारी भने लागेनन् । बरु उनले डा. बस्यालको टिकट कन्फर्म हुनेबितिक्कै आफ्नो सामाजिक सञ्जालको वालमा लेखे, ‘हनुमान र चाकडीबाज मूर्दावाद, डमी उम्मेदवार उठाएर भोट बिक्री गर्ने गिरोह मूर्दावाद, पार्टी बनेको र नगर बनेको हेर्न नसक्ने अन्तरघाती मूर्दावाद !’

त्यसैगरी उनले अर्को लामो स्टाटस लेख्दै आफूले हजारौं व्यक्तिलाई पार्टी प्रवेश गराएको दाबीसहित वयोवृद्धलाई बोकेर अर्को पार्टीका उम्मेदवार जिताउन ठूलो चलखेल भएको बताइदिए । आफूसँग धेरै प्रमाण भएको उल्लेख गर्दै उनले आफ्नो भनाइको खण्डन गर्न चुनौती पनि दिएका थिए । त्यहि स्टाटसमा उनले डा. बस्याललाई मानमर्दन गर्नेगरी थप लेखेका छन, ‘८४ पूजा गर्ने उमेरका व्यक्तिलाई उठाउने अनि अर्को पार्टीमा भोट हाल्ने खेल केन्द्रले नबुझेको पक्कै होइन ।’

सामाजिक सञ्जालमा आफ्नै पार्टीका मेयरका उम्मेदवार बस्याललाई बुढो मान्छे भनेर छारष्ट गर्ने भण्डारीले आफ्नो फेसबुुक स्टाटस प्रिण्ट गरेर विपक्षी दलका नेता–कार्यकर्तालाई बाँडेको समेत भेटिएको थियो । पार्टीका नगर सचिवले नै आफ्ना उम्मेदवार बुढो भएकाले उसले काम गर्न नसक्ने प्रचार गरेपछि विपक्षीका लागि त्यो चुनावी मसला हुने नै भयो । खासगरी काँग्रेसले त्यसलाई राम्रैसँग उपयोग गर्यो । परिणामले पनि धेरै मतादाताले बुढो उमेदवार भनेर मत नदिएको देखियो ।

आफ्नै पार्टीका उम्मेदवार हराउने योजनामा लागेका भण्डारीको विषयमा अघिल्लो साता जनआस्थाले ‘रुपन्देहीमा एमालेले यसकारण हार्यो’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । समाचार सार्वजनिक भएपछि उनले ’रुपन्देहीका केही पत्रकारले पीतपत्रकारिता गरेको’ भन्दै धम्कीको भाषामा अर्को स्टाटस लेखे । फेसबुुकमा छिनछिनमा सूचना प्रवाह गर्ने भण्डारीले समाचारको खण्डन गर्ने तौरतरिका बिर्सेर समाचारको सूचना दिने पत्रकारलाई पञ्चायतकालमा पञ्चहरुले धम्काए झैं धम्काएको सञ्चारकर्मीको बुझाइ छ ।

यतिबेला भण्डारीले पार्टीका केन्द्रीय उपाध्यक्ष तथा अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र विष्णुप्रसाद पौडेलको खास मान्छे भन्दै स्थानीय नेता–कार्यकर्तालाई थर्काउने गरेको पनि अर्का एक जना नेताले बताए ।

टिप्पणीहरू