‘मनी इज नथिङ’ भन्दै नक्कली डलर बोक्ने भारतीय पत्रकार थुनामा

‘मनी इज नथिङ’ भन्दै नक्कली डलर बोक्ने भारतीय पत्रकार थुनामा

भारतको पश्चिम बंगालस्थित कोलकाताका एक जना फोटो पत्रकार झापामा जेल जीवन बिताइरहेका छन् । २४ वर्षीय दुर्लभ राय चौधरी नक्कली डलर बोकेको अभियोगमा समातिएका हुन् ।

उनी गत मंसिर २ गते कोलकाताबाट सिलिगुडी हुँदै काँकडभिट्टाबाट नेपाल छिरेपछि भद्रपुर विमानस्थलबाट पक्राउ परेका थिए । भद्रपुर विमानस्थलबाट काठमाडौं जाने क्रममा नक्कली डलरसहित समातिएका हुन् ।

उनले फोटोकपी गरिएको एक सय दरको डलर २२६ थान बोकेका थिए । प्रहरीले मंसिर २४ गते झापा जिल्ला अदालतमा पेश गरेपछि उनलाई खोटा मुद्रासम्बन्धी अभियोगमा पुर्पक्षका लागि हिरासतमा राखिएको थियो । अदालतको आदेशपछि उनी अहिले झापा कारागारमा छन् ।

चौधरीले ‘मनी इज नथिङ’ नामको छोटो फिल्म बनाएर युट्युब च्यानलमा राख्ने प्रयोजनका लागि नेपाल आएको अदालतमा दिएको बयानमा बताएका छन् ।

अदालतमा विचाराधीन मुद्दामाथि नेपाली फोटो पत्रकारहरुले आफ्ना धारणा राखेका छन् । चौधरी नक्कली नोटको कारोबारी नभएको दाबी गर्दै राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले रिहाइका लागि अनुरोध गरेका हुन् ।

उनले नक्कली मुद्रा अपचलनका लागि नभएर भिडियो सुटिङका लागि मात्र अमेरिकी डलरको फोटोकपी गरेको वन्तको भनाइ छ ।

टिप्पणीहरू