निःसन्तानको अंश खाने दाउमा काकीमाथि भतिजोद्वारा गोली प्रहार

निःसन्तानको अंश खाने दाउमा काकीमाथि भतिजोद्वारा गोली प्रहार

काकीलाई गोली हान्ने भतिजो पक्राउ परेका छन् । हिजो दिउँसो नवलपरासीको सरावल गाउँपालिका–४ मंगलापुरका २८ वर्षीय हंसराम यादवले ३४ वर्षीय काकी रोशनी यादवलाई गोली हानेका थिए ।

गोली प्रहारपछि भागेका हंसरामलाई आज प्रहरीले सुनवल नगरपालिका–९ को वनकट्टी गाउँबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका उपरीक्षक ऋषिराम कँडेलका अनुसार आफन्तको घरमा लुकिरहेको अवस्थामा पेस्तोलसहित यादव पक्राउ परेका हुन् ।

पक्राउ परेका हंसराममाथि हातहतियार र ज्यान मार्ने उद्योगमा मुद्दा चलाइने एसपी कँडेलले जानकारी दिए । हंसरामका बाबु र काकीबीच अदालतमा अंश मुद्दा चलिरहेको छ ।

काकाको मृत्युपछि निःसन्तान काकीलाई मारेपछि सबै अंश आफ्नो नाउँमा आउने मनशायका साथ हंसरामले काकीमाथि गोली चलाएको बुझिएको छ ।

अंश मुद्दाको मिलापत्र गराउन अदालत जानेक्रममा उनले काकीमाथि दुई राउण्ड गोली प्रहार गरेका थिए ।

टिप्पणीहरू