अछाम घटनाबारे काँग्रेस महामन्त्रीको आफ्नै तर्क

अछाम घटनाबारे काँग्रेस महामन्त्रीको आफ्नै तर्क

नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले अछामको घटना आपराधिक भएकाले दोषीमाथि कारबाहीको माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा महामन्त्री थापाले पञ्चदेव विनायक नगरपालिका ४, कालिकास्थान कुच्चीका १६ वर्षीय विनोद शाहीको हत्याबारे गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराउने क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई छानेर अनुसन्धान अगावै दोषी किटान गर्नु राजनीतिक प्रतिशोध साँध्ने काम भएको छ ।’ यस किसिमका आरोपले घटना प्रभावित हुने र निर्दोष व्यक्ति फस्न सक्ने आशंका पनि उहाँले गर्नुभयो ।

गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै उहाँले भन्नुभयो, ‘राजनीतिक प्रतिशोध साँध्नका लागि यस्ता घटनाको प्रयोग नहोस् । निर्वाचित भएको जनप्रतिनिधिलाई छानि छानि अनुसन्धान गर्नुभन्दा पहिले नै दोषी किटान गरेर बहस अघि बढाइएको छ । यसबाट गृहमन्त्रालय प्रभावित नहोस्, दोषीलाई कारबाही गरियोस । र्निदोष व्यक्ति नफसोस् ।’

हराएको पाँच दिनपछि मृत फेला परेका शाहीको हत्या भएको नेकपा एमालेका कार्यकर्ताहरुले आरोप लगाएका छन् । उनीहरुले उक्त घटनामा नवनिर्वाचत जनप्रतिनिधिहरुको संलग्ता रहेको आरोप लगाउँदै आएका छन् । एमाले कार्यकर्ताले प्रहरी प्रशासन र नगरप्रमुखविरुद्ध नाराबाजीसमेत गरिरहेका छन् ।

टिप्पणीहरू