अनि यो कथाचाहिँ उनै सधैं हार्नेको « Jana Aastha News Online
Logo
१६ आश्विन २०७९, आईतवार
|  Sun Oct 2 2022
Logo
१६ आश्विन २०७९, आईतवार
|  Sun Oct 2 2022

अनि यो कथाचाहिँ उनै सधैं हार्नेको

प्रकाशित मिति :  २४ जेष्ठ २०७९, मंगलवार १९:००


– जीवन डाँगी

चुनावको माहोल । गाउँ–शहर जताततै भोज–भतेर । फूल–माला र सप्तरंगी अबिरले सजिएका– ‘विजयी उम्मेदवार’ । भोटले जित्नेहरूको रूपै रंगीन । ‘जितबहादुर’हरूलाई झ्याम्म–झ्याम्म बाजा बजाउँदै भ्रष्टाचारी अड्डातिर भित्र्याइरहेका कार्यकर्ता, समर्थक र कर्मचारी । फेरि भनौँ– माहोल चिन्तायोग्य र रोमाञ्चित छ ।

यस्तो लाग्छ– काल निम्त्याइरहेका छौँ । आफैँमाथि भारी थपिरहेका छौँ । शासकलाई शक्तिशाली बनाइरहेका छौँ । महाराज मान्न तम्सिरहेका छौँ । थप मासु, भात र रक्सी मागिरहेका छौँ । जित सक्छस् ‘भ्रष्टाचार गर’ भनिरहेका छौँ । खै र, जितमा बधाई थाप्नु, खुशी साटासाट गर्नु राम्रो हो । तर संस्कारै बिर्सिएर, थलै पर्नेगरी उफ्रिनुचाहिँ ज्यादै नराम्रो ।

‘विजयी’ का थुप्रै कथा–कहानी पढियो । राजनीतिक जीवनी नै सुनियो । को हुन्, उनी ? कसरी उदाए ‘फलानो’ राजनीतिमा ? जितभित्र यस्तो छ, रोचक दृश्य! यस्ता वाक्य कति पढियो–पढियो । मैदानमा उत्रिएका सबै खेलाडी समूहको जित कहाँ हुन्छ र ? एउटाले जित्छ, अर्काे हार्छ । कहिलेकाहीँ जित्नेको चर्चा हुँदैन, हार्नेको हुन्छ । किनकि ऊ हारेपछि पनि चर्चा–योग्य मानिन्छ ।

‘विजयी’ पात्र लोकप्रिय तर हार्ने (अ) लोकप्रिय पटक्कै होइन । मत खसाल्नुअघिको दृश्य– मतदाता नाफाको दौडमा हुन्छन् । चाहे त्यो दिगो विकास होस् या मासु, रक्सी र साडी । उनीहरू नगन्य कुरामा लोभिन्छन् । उम्मेदवारको गुलियो गफमा छिट्टै भुल्छन् । स–सानो वस्तुभाउमा बिक्छन् । अपवादबाहेक भोट किन्न नसक्ने कमै उम्मेदवारले चुनाव हारेका छन् । तर, यो यस्तो दुनियाँ हो जसको क्षमता कहिल्यै अन्त्य हुँदैन । जित होस् या हार ।

‘विजयी’ मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षको चर्चा सुनेरै दिक्क लाग्यो । अब ‘विजयी’ हुन नसकेका विजयको कुरा गरौँ । नाम– विजय । स्थान– रोल्पाको माडी । उम्मेदवारी– अध्यक्ष पदमा । प्राप्त मत– ३३८१ । अन्तिम नतिजा पराजय । बधाईका पात्रको मत– ३८३०– ।

निर्वाचन अधिकृतको कार्यालयले सोमबार दिउँसोतिर अन्तिम परिणाम सार्वजनिक गरेपछि विजयकुमार घर्तीमगरले मजैसँग चुनाव हारे । लगत्तै आफ्ना सदाबहार मित्र तथा स्थानीय निर्वाचनका एक मात्र प्रतिस्पर्धी अमरसिंह घर्तीमगर खोज्दै मतगणनास्थल पुगे ।

त्यहाँ पुगेर तनक्क हात तन्काए । बधाई तथा शुभकामना दिए । झ्याप्प अंगालो मारे । माया साटासाट गरे । फोटो खिचे । माडीवासीको पक्षमा राम्रो काम गर्नु भन्दै फेरि बधाई थमाए । अनि बाटो लागे ।

उनी अर्थात् विजय चुनावपछि अलिकति पनि थाकेका छैनन् । डराएका छैनन् । तर्सिएका छैनन् । बरू उत्साहित छन् । सत्यनिष्ठापूर्वक माडीको उकालो यात्रामा हिँडिरहेका उनी कालजयी छन् । कारण हो– शानदार मत प्राप्त हुनु । संघर्षको बाटोमा जे भोग्छन्, त्यही सत्य ठान्छन् । ‘हारले नै निकाल्छ, जितको अर्को फराकिलो राजमार्ग, ’ उनी भन्छन्, ‘संसारमा नहारेको को छ र ! अनि जितमा के छ, हारमा त्यस्तो के छैन ? बुझ्न जाने दुबैमा खुशी छ, उत्तिकै कर्कस पनि ।’

पैसाकै पछि कुदेनन् । पदकै पछि दौडिएनन् । भ्रष्टसँग संगत गरेनन् । बरू विस्तारै हिँडे । एक्लै हिँडे । जनतासँग हिँडिरहे । दौडिनबाट रोकिए । आज पनि गाउँ–समाजको सेवामै छन् । भुइँ तहमा छन् । चिल्लो–घुम्ने कुर्सीमा छैनन् । मानव सेवामा छन् । दुःख, सुखमा छन् । माडीका असली जनप्रतिनिधि हुन्, विजय ।

जित्नु औपचारिकता मात्रै हो । सबैभन्दा ठूलो कुरा राजनीतिमार्फत् माडी गाउँको समाजसेवामा भिज्नु हो भन्ठान्छन् । विडम्बना, जो जनतासामु माझिएको छ, ऊ जित्दैन । हुन त जितसुकै प्रतिभाशाली खेलाडी भए पनि मैदान पसेपछि जितको ग्यारेन्टी दिन सक्दैन । हो ! त्यसैगरी विजयले पनि माडी गाउँपालिकामा जित्न सकेनन् । तर पाउनुपर्ने मत पाए । चानचुन साढे ४ सय मत थप्न सकेनन् । अन्ततः पराजय भोगे ।

उनलाई हराउन को–को सम्म लागेनन् ! पूर्वसभामुख ओनसरी घर्तीमगर, पूर्वमन्त्री वर्षमान पुन, सांसद दिपेन्द्र पुन । हराउनमै लाग्यो माडी सरकार, प्रदेश सरकार । बाँकी कुरा नगरौँ, हारे पनि आरोप थुपारेजस्तै देखिन्छ । आफै बुझ्नुहोस्, चुनाव जित्न के–केसम्म गर्छन्, त्यही–त्यही गरे ।

राजनीतिक मैदानका भद्र खेलाडी ‘विजयी बिनाका विजय’ले पूर्ण जिम्मेवारीका लागि माओवादी केन्द्रको ‘होम ग्राउन्ड’मा शानदार प्रदर्शन गरे । मतदाताको मन जिते । पहिलो पटक भोट माग्दै हिँडे । कमजोर संगठन हुँदाहुँदै अपार माया पाए । सोचेभन्दा राम्रो जनमत पाउँदा हारको अनुभूति क्षणभरमै हराएको बताउँछन्, उनी ।

नेकपा (एमाले) को कमजोर भू–गोलमा उनको प्रदर्शन उत्कृष्ट रह्यो । मत एमाले कार्यकर्ताले मात्रै दिएनन् । कांग्रेसले दिए । विप्लवले दिए । माओवादिले पनि दिए । कुना–कुनाका मतदाताले दिए । माडीवासीको त्यही मतले हार्दा पनि हजारौँ शब्दका पात्र बनिरहेका छन्, विजय ।

विजय घर्तीगाउँ क्षेत्रमा सबैलाई मन पर्ने मानिस हुन् । चुनावमा अरू कसैले जित्यो । त्यो कुनै आश्चर्यको कुरा होइन । किनकि उनी त्यहाँबाट हराउँदैनन् । भाग्दैनन् । न भ्रष्टाचारमा डुब्छन् । सरल छन्, समाजसेवामै रहन्छन् ।

मैदानमा उत्रिनुको मुख्य उद्देश्य जित्नु नै हो । तर कसै न कसैले हार्नैपर्छ । माडी गाउँपालिकामा विजयले पनि हारे । खेलकुद र जीवनको लक्ष्य उस्तै–उस्तै मानिन्छ । जित्नका लागि संघर्षको सामना गर्नुपर्छ । तर सधैं जितै हात पार्नुपर्छ भन्ने छैन, त्यसैले विजयले यो पालि अरूलाई जिताउन आफू हारिदिए ।

हारमा पनि जित हुन्छ भन्ने कुरा सधैं मनमा राखेको बताउँछन्, विजय । आगामी दिनमा आफ्नो प्रतिद्वन्द्वी र परिस्थितिलाई वास्तै नगरी उत्कृष्ट काम गर्नुपर्ने उनको भनाइ छ । हरेक पल आफ्नै चुनौतीसँग माडीका जनताको सेवामा आफ्नो शतप्रतिशत योगदान दिन तयार छन्, विजय । लगातार राम्रो खेल्नु हरेक खेलाडी र चुनावमा शानदार मत ल्याउनु उम्मेदवारको धर्म हो । चाहे त्यो खेल मैदान होस् या चुनावी मैदान । आखिर मैदान त, मैदान हो ।

उनी मरिमेटी निर्वाचन जित्नकै लागि मैदानमा छिरेका होइनन् । लोकतान्तिक आचरण बिर्सिएनन् । राजनीतिक संस्कार भुलेनन् । मित्रप्रति कहिल्यै मन दुख्ने रबैया देखाएनन् । बरू उल्टै सम्मान गरे । अरूका टिप्पणी सुने । अनि घरदैलोमा पुगे । यो उनको निर्दोष स्वभाव पनि हो । हुन त कतिपय यही स्वभावलाई कमजोरी ठान्छन् । तर उनी यस्तै हुन् । यस्तै रहन्छन् ।

भोट खसाल्ने मिति नजिकिँदा कतिपय उम्मेदवार पैसा बाँड्छन् । घर–घरमा साडी पुर्याउँछन् । मुख–मुखमा मासु, भात र रक्सी । फरर…झण्डा । निकै तामझाम गर्छन् । कतै कतै गरे पनि तर पराजित विजय यस्ता सबै अस्त्रबाट टाढा रहे । निकै पर रोकिए । मानौँ कि यो घिनलाग्दो माहोलमा चुनाव जित्न चाहेनन्, जस्तो । पैसा–पैसाले जितीरहेको स्थानीय चुनावमा निष्ठा र आफ्नो वास्तविक स्वभाव परिवर्तन गरेनन् । लडे । शानदार ढंगले हारे । खर्चिलो उम्मेदवार बनेनन् । ‘मत–माया’ देखेपछि पराजित भएको आभाष नै गरेनन् ।

परिस्थिति जस्तोसुकै होस्, काँडाले पनि कोपिला चुम्छ । हारले हरपल कठिनाइसँग जुध्न सिकाउँछ । उम्मेदवारले जित्न चाहन्छन् । तर सबैले जित्दैनन् । कहिलेकाहीँ जित्नैपर्ने पात्र पनि हारिदिन्छन् । हुन त हारको पछाडि जितको ठूलो रहस्य लुकेको छ । उनी हारमा आत्तिएका छैनन् । आफ्नै कर्मामा तल्लिन छन् ।

‘माडीवासी आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीबाट अमूल्य भोट प्राप्त गरेँ । उहाँप्रति उच्च सम्मान व्यक्त छ । मलाई भोट नदिएर सहयोग गर्नुहुने मित्रप्रति पनि आभार छ, ’ विजय थप्छन्, ‘चुनाव हो, हार जित भइहाल्छ । यसमा कुनै गुनासो छैन । बरू मतदाताप्रति ऋणी छौँ । भुल्ने छैनौँ ।’

राजनीतिक उचाइ रहरलाग्दो बन्यो । हर मतदाताको विश्वास थपियो । गाउँ–गाउँमा हजारौँ समर्थक–प्रशंसक छन् । राजनीतिक वातावरण भएको परिवारमा जन्मिए । बाजे, बुबा र दाइबाट राजनीतिक संस्कार सिके । राजनीतिको नशा चढ्यो । आफै मैदानमा ओर्लिए । उनी इमानदारीपूर्वक भन्छन्, ‘एउटा चुनाव हारेँ । यसले जीवनमा अनेकौँ कठिनाइसँग लड्न मद्दत गर्नेछ । जित्नेगरी भोट नदिए पनि अमूल्य मन दिनुभएकोमा हार्दिक सम्मान छ ।’

सुख–दुःख, आशा–निराशा र जित–हारका अनेक रंगहरू छन्, उनीसँग । नैराश्य र उदासिनताले घेरिएका छैनन् । तीव्र इच्छाशक्ति छ । सधैं माडीका जनताको भविष्यलाई दीर्घ रूपमा हेर्छन् । ‘कमरेडहरू हो, त्यसैले हारसँग नडराऊ । हामीहरू विविधताले भरिपूर्ण छौँ, ’ उनी भन्छन् ।

मतले हार्ने तर मनले जित्नेहरू आशावादी र मेहनती हुन्छन् । तिनीहरू सधैं जित्छन् । भनिन्छ– इतिहास जित्नेकै हुन्छ । तर कहिलेकाहीँ चुनावी मैदानमा यस्ता पात्र खडा भैदिन्छन्, हारेपनि चर्चामै । जनतासँगै । किनबेचको होइन, विचारको राजनीति गर्छन् । पदीय लोभ राख्दैनन्, उनी अर्थात् घर्तीगाउँका सदावहार ‘विजयी’ विजय… । थप उचाइका लागि भव्य शुभकामना छ । यस्ता पनि उम्मेदवार । यसैगरी चर्चा पाइयोस् ।


प्रतिक्रिया दिनुहोस !