किन झूठो हिसाब निकालेको कमरेड ?

किन झूठो हिसाब निकालेको कमरेड ?

एमालेमा स्थानीय चुनावअघि देशभरको मत विश्लेषण गर्ने काममा खटिएका थिए अध्यक्ष केपी ओलीका राजनीतिक सल्लाहकार तथा उपमहासचिव विष्णु रिमाल । अहिलेसम्म आन्तरिक र बाह्य कुनै पनि चुनावको प्रत्यक्ष प्रतिष्पर्धामा सहभागी नभएका रिमालले ४० देखि ५० प्रतिशतसम्म जित निकाल्ने, आफ्नो दाउपेच सफल भए एमाले ५० देखि ६६% को बीचमा रहने र अन्य दलहरू भने एक तिहाइमा खुम्चिने प्रक्षेपण सुनाएका थिए ।

चुनावको छ दिनअघि बैशाख २४ गते एउटा अनलाइनलाई अन्तर्वार्ता दिँदै उनले भनेकै थिए, ‘अहिले हामी ४० प्रतिशत सजिलै जित्ने स्थितिमा छौँ, हाम्रो दाउपेच सफल हुँदा त्यो ५० प्रतिशतसम्म पुग्न सक्छ ।’ तर, परिणामले रिमालको यस्तो प्रक्षेपणलाई पूर्णतः गलत सावित गरिदिएको छ । उनको दाबीअनुसार एमालेले छ मध्ये ४ अर्थात काठमाण्डौ, ललितपुर, भरतपुर र पोखरा गरी कम्तिमा ४ महानगरपालिका जित्ने पक्का थियो भने वीरगञ्ज र धरान उपमहानगरपालिकासहित ३०१ पालिका प्रमुख जित्नेमा कुनै शंका नै थिएन । त्यो संख्या ५० प्रतिशत पुग्दा ३३७ सिट हुन आउँछ । तर, वास्तविकतामा भने एमाले ०७४ मा जितेको २९६ सिटबाट २०५ मा झरेको छ ।

अर्थात उसले जम्मा २७.७७ प्रतिशत सिट जितेको छ । यहाँसम्म कि बिष्णु रिमालकै जिल्ला नुवाकोटमा एमाले पहिले जितेकै ठाउँबाट तल परेको छ । माओवादीसङ्ग तालमेल गरेको एक ठाउँबाहेक अन्त उसले कतै जित्न सकेन जबकि उनले जिल्लाका १२ मध्ये छ पालिका सजिलै जितिने ठोकुवा गरेका थिए । आफ्नै जन्मथलोको धरातलीय यथार्थ त ठम्याउन नसक्ने श्रोत, साधन र सूचनामा पहुँचधारी उपमहासचिवले अन्तको हिसाब झन् कति गतिलोसङ्ग निकालेका होलान् ! अचम्मै छ ।

चुनावमा पराजित भएपछि समीक्षा गर्ने र त्यसलाई सच्याएर जाने गरिन्छ । हरेक राजनीतिक दलले हारको कारण खोज्ने र अर्को चुनावका लागि तयारी थाल्ने गर्दछन् । तर, एमाले नेताहरू भने चुनावी परिणामलाई लिएर परस्पर विरोधाभाषपूर्ण प्रतिक्रिया जनाइरहेका छन् । ओलीले केही दिनअघि संसदीय दलको बैठकमा अन्तर्घातका कारण पार्टी हारेको बताएर आफैंतिर प्रश्न सोझ्याउनु भएको थियो । तर, भोलिपल्टै आफ्नो अघिल्लो भनाइको खण्डन हुने गरी संसद्को रोष्ट्रमबाट सरकार र सत्ता गठबन्धनका दलले धाँधली गरी आफ्नो पार्टीलाई हराइएको आरोप लगाउनुभयो ।

अध्यक्ष ओली, उपाध्यक्ष बिष्णु पौडेल र महासचिव शंकर पोखरेललगायत शीर्ष नेताहरूबाटै अन्तरविरोधी धारणा आएपछि धेरै नेता–कार्यकर्ता अन्योलमा परेका छन् । तर, कतिपय भने धाँधली र अन्तर्घात दुवै पराजयको मुख्य कारण नरहेको बताउँछन् । भूगोलको राजनीतिमा नभिजेका रिमालजस्ता नेताहरूको सानो कोटरीलाई विश्वास गरेर गलत प्रक्षेपण गर्नु र त्यसैमा आधारित रणनीति बनाइनु नै हारको मुख्य कारण भएको उनीहरूको बुझाइ छ ।

वास्तवमा एमाले पराजित हुनुको कारण के हो त ? ‘एमालेको जति ‘शक्ति’ हो त्यति सिट जितिएको छ, १० बुँदे पक्षधर भनिएका एक नेताले दाबीका साथ भने, ‘हामीले योभन्दा धेरै जित्ने स्थिति नै थिएन किनभने एकातिर पाँचदलीय बलियो गठबन्धन हाम्रो प्रतिस्पर्धी थियो, अर्कोतिर पार्टी विभाजन भएको थियो । यस्तो प्रतिकूल अवस्थामा ६० प्रतिशत जित्ने कुरा आफैंमा मनगढन्ते विश्लेषण हो ।’ उनका अनुसार अध्यक्षलाई खुशी पार्नैका लागि चुनावी प्रतिस्पर्धाको अनुभव नै नभएका नेताहरूले हावादारी तथ्यांक सुनाउने गरेका हुन् ।

अध्यक्ष ओलीमा देखिने ‘कन्फिडेन्स’को आधार पनि यस्तै सतही तथ्यांक हो भनिन्छ । हुन पनि देशभरका चुनावी सभामा ‘एकल साँझ’ जसरी छाउनुभएका ओलीले एमालेलाई क्विन्टल र अरुलाई एक किलोको ढक भन्नुभएको थियो । सामूहिक छलफलबाट वस्तुवादी निश्कर्ष निकालेर नतिजाको आकलन गर्नुपर्नेमा अमूक व्यक्तिले भनेका कुरालाई अन्तिम सत्य मानेर दौडिनुको कारण अहिलेको परिणाम हात लागेको भन्नेहरू एमालेमा धेरै छन् । सार्वजनिक र औपचारिक रूपमा अध्यक्षलाई चित्त नबुझ्ने खालको टिप्पणी गर्न नचाहने एक नेताले भने, ‘मैले भनेको भनेर त नलेख्नु होला तर, आफूलाई अध्यक्षको निकट भन्ने र आफैँ सर्वेसर्वा ठान्नेहरूले पार्टी डुबाए ।’

यता रिमाल भने ५० प्रतिशत जित्ने आफ्नो दावी झण्डै आधामा खुम्चिँदा पनि हार स्वीकार गर्नुको साटो अनेक तथ्यांक जम्मा पारेर एमाले पहिलो पार्टी बनेको दावीमा रमाइरहेका छन् । उनले सार्वजनिक गरेको मत विश्लेषणसहितको चार्टमा एमालेले ३५ प्रतिशत लोकप्रिय मत पाएर पहिलो दल बनेको दाबी गरिएको छ । पालिका प्रमुख र उपप्रमुखले पाएको मतलाई आधार मानेर गरिएको विश्लेषणमा कांग्रेस ३० र माओवादी केन्द्र १४ प्रतिशतमा खुम्चिएको देखाइएको छ । एमालेका थुप्रै नेता–कार्यकर्ताले त्यसैलाई सामाजिक सञ्जालमा शेयर गरेर आत्मरति लिइरहेका छन् ।

तर, रिमाललगायतका नेताहरूले बुझ्नुपर्ने कुरा के हो भने ‘पहिलो हुने निर्वाचित हुने’ निर्वाचन प्रणालीमा लोकप्रिय मतको कुनै अर्थ हुँदैन । एक भोटले जिते पनि जित्नेले नै पालिकाको नेतृत्व गर्ने हो । यो निर्वाचन प्रणालीमा एक भोटको हारजित र पाँच हजार मतान्तरको हारजित एउटै हो । अर्को कुरा रिमालले चुनावअघि सुनाएको विश्लेषणमा ४० देखि ५० प्रतिशत पालिका जित्ने भनिएको थियो, लोकप्रिय मतको कुरा गरिएकै थिएन । अध्यक्ष ओलीले त पाँचदलीय गठबन्धनलाई एमाले एक्लैले धुलोपिठो पारिदिने दाबी गर्नुभएको थियो ।

त्यसैले रिमालको पछिल्लो तर्कलाई एमालेका अधिकांश नेता–कार्यकर्ताले ‘चित्त बुझाउने बाटो’ भनेका छन् । कतिपयले तथ्यांकका नाममा मिथ्यांक प्रस्तुत गरेर उनले हार स्वीकार गर्न नसकेको पनि बताएका छन् । हारलाई आत्मसात गरेर आत्मसमीक्षासहित आगामी निर्वाचनको तयारीमा लाग्नुपर्नेमा रिमालहरू हिजोको आफ्नो विश्लेषण सही सावित गराउन गलत तथ्यको सहारा लिइरहेको १० बुँदे पक्षधर एक नेताको बुझाइ छ ।

उनी भन्छन्, ‘चुनावअघि दावी गरेजति जित्न नसक्नु हार हो । हार स्वीकारेर कमिकमजोरीको समीक्षा गर्नुपर्नेमा अझै खुट्टा माथि उचाल्नु भनेको अहंकार मात्रै हो । यसले उनीहरूलाई व्यक्तिगतरूपमा के–के लाभ हानी हुन्छ थाहा छैन, तर पार्टीको हित चैं गर्दैन ।’

टिप्पणीहरू