भुसाललाई कार्वाही गर्न खोज्ने अध्यक्षकै व्यापक आलोचना

भुसाललाई कार्वाही गर्न खोज्ने अध्यक्षकै व्यापक आलोचना

अध्यक्ष केपी ओलीको आलोचना गरेको भन्दै नेकपा एमालेले पूर्वमन्त्री तथा स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथि कारवाही प्रक्रिया शुरु गरेको छ । शुक्रबार बसेको एमाले अनुशासन आयोगको बैठकले अध्यक्षको विरोध गरेर भुसालले पार्टी नीति उल्लङ्घन गरेको आरोपमा केन्द्रीय सचिवालयलाई कारवाहीको सिफारिस गरेको हो ।

भुसालले स्थानीय तहको चुनावमा पार्टीले खराब नतिजा ल्याउनुमा अध्यक्ष ओलीले लिएको नीति र उहाँको कार्यशैली मुख्य जिम्मेवार रहेकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनुभएको थियो । एक राष्ट्रिय टेलिभिजनल़ाई अन्तर्वार्ता दिनेक्रममा उहाँले हारको जिम्मेवारी लिएर ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको थियो । त्यसपछि ओली आफैँले भुसाललाई स्पष्टीकरणको पत्र काट्न केशव बडाल प्रमुख रहेको अनुशासन आयोगलाई निर्देशन दिनुभएको बताइएको छ ।

अध्यक्षलाई प्रश्न उठाएकै आधारमा भुसाललाई कारवाही गर्न प्रक्रिया शुरु गरेकोमा एमालेभित्र र आम तहमा समेत आलोचना भैरहेको छ । विगतमा माधव नेपाल समूहमा रहेका र १० बुँदे पक्षधर भनेर चिनिएका नेताहरु यसको विरोधमा बोल्न थालेका छन् । सचिव योगेश भट्टराईले भुसाललाई अनुशासनको कारवाहीको सिफारिश गर्ने आयोगको निर्णयले पार्टी थप कमजोर हुने चिन्ता व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत भट्टराईले आवेग र उत्तेजनामा गरिने क्रिया प्रतिक्रियाले सही ठाउँमा नपुर्‍याउने भन्दै निर्णय फिर्ता लिन आग्रहसमेत गर्नुभएको छ।

त्यस्तै, उपाध्यक्ष युवराज ज्ञवालीले पनि आलोचना गरेकै भरमा नेताहरूलाई कारबाही गर्दा पार्टीकै लागि प्रत्युत्पादक हुने चेतावनी दिनुभएको छ ।

पत्रकार ध्रुव लम्साल भुसाललाई प्रष्टीकरण सोध्ने निर्णयप्रति कटाक्ष गर्दै भन्नुहुन्छ, ‘एमालेजस्तो गौरवशाली पार्टीमा विधिको कुरा गर्ने ? घनश्याम भुसालहरुलाई अब जेल हाल्नुपर्छ। अनि पो संघीय संसदमा २० सिट जितिन्छ ।’

केपी ओलीपक्षकै केही युवा, विद्यार्थीले पनि भुसाललाई स्पष्टीकरण सोध्ने अनुशासन आयोगको निर्णयको विरोध गरेका छन्। निर्वाचनमा पार्टी पराजित भएका बेला वैचारिक नेताको छवि बनाएका भुसाललाई कारवाही गर्दा थप क्षति हुनसक्नेतर्फ उनीहरुले नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

नेता भुसालमाथि कारवाहीको सिफारिस गर्ने अनुशासन आयोगको निर्णयप्रति असन्तुष्ट कतिपयले यहीबेला आयोगका प्रमुख केशव बडालको कार्यशैलीमाथि पनि टिप्पणी गरेका छन् । आफूलाई अध्यक्ष ओलीको ‘एसम्यान’ को भूमिकामा सीमित गरेर बडालले आयोगको प्रतिष्ठा कमजोर पारेको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध भैरहेको छ । बिभिन्न सञ्चारमाध्यममा बडालले दिएका अन्तर्वार्तामा उहाँका उग्र प्रस्तुति सञ्जाल प्रयोगकर्ताहरुले शेयरसमेत गरेका छन् ।

टिप्पणीहरू