भोलि मच्छिन्द्रनाथको भोटो देखाउने, सुरक्षा व्यवस्था कडा

भोलि मच्छिन्द्रनाथको भोटो देखाउने, सुरक्षा व्यवस्था कडा

उपत्यकाकै सबैभन्दा लामो जात्राका रुपमा चिनिने रातो मच्छिन्द्रनाथ अर्थात् मत्स्येन्द्रनाथको रथयात्राको अन्तिम दिन भोली ललितपुरस्थित जावालाखेलमा भोटो देखाइदैंछ । बैशाख २१ गतेबाट ललितपुरको पुल्चोकमा रथारोहण गरी सुरु भएको रथ शहरका विभिन्न ठाउँ हुँदै जावालाखेलमा पुर्याएर भोटो देखाउने चलन छ ।

पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावालाखेलमा पुर्‍याएर भोटो देखाइन्छ । यससँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगेपछि जात्रा समापन हुन्छ ।

राष्ट्राध्यक्षको उपस्थितिमा हरेक वर्ष जावलाखेलमा मच्छिन्द्रनाथको भोटो देखाउने प्रचलन छ । भोलि अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारी जावलाखेल पुगेर भोटो जात्रामा सहभागी हुनुहुनेछ । यो जात्रामा काठमाडौँ उपत्यकाका तीनै जिल्लाका भक्तजनको भिड लाग्ने गर्छ । त्यसका लागि महानगरिय प्रहरी परिसरले ललितपुरले आवश्यक सुरक्षा व्यवस्था मिलाइसकेको बताएको छ ।

बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्ने यो जात्राको विशिष्ट सांस्कृतिक महत्व रहिआएको छ । रातो मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवताको रुपमा पुज्ने गरिन्छ ।

टिप्पणीहरू