उडाउन नमिल्ने सेनाको हेलिकप्टर विश्वविद्यालयलाई

उडाउन नमिल्ने सेनाको हेलिकप्टर विश्वविद्यालयलाई

नेपाली सेनाले आफ्नो स्वामित्वमा रहेको हेलिकप्टर विराटनगरस्थित मनमोहन प्राविधिक विश्वविद्यालयलाई दिएको छ । विश्वविद्यालयमा स्नातक अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक अभ्यासका लागि सेनाले हेलिकप्टर सहयोग गरेको हो ।

आज गौचरस्थित मध्य एयर बेशमा आयोजित एक समारोहमा द्वन्द्वताका भारतबाट ल्याइएको NA-039 CHEETAH हेलिकप्टर र सोसँग सम्बन्धित ४७ वटा पार्टपुर्जा विश्वविद्यालयलाई हस्तान्तरण गरिएको जंगीअड्डाले जनाएको छ । विश्वविद्यालयले यस वर्षदेखि सञ्चालन गरेको रेल्वे तथा एरोनटिक्स इन्जिनियरिङ्गको स्नातक तह अध्ययनको प्रयोगात्मक अभ्यासका लागि यो हेलिकप्टर उपयोगी हुने सेनाको विश्वास छ ।नेपाली सेनाको वायु सेवाका महानिर्देशक पाइलट उपरथी आशिषनरसिंह राणाले प्रदेश नं.१ को सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीमार्फत हेलिकप्टर हस्तान्तरण गरेका हुन् ।

भारतको बैंगलोरस्थित हिन्दुस्तान एरोनटिक्स लिमिटेडद्वारा निर्मित उक्त हेलिकप्टर २०५८ मंसिर २६ गते भारत सरकारले नेपाली सेनालाई सहयोगस्वरुप दिएको थियो । निर्माता कम्पनीले तोकिदिएको उडान समयावधि पूरा गरी ग्राउन्डेड गरिएको हेलिकप्टर अहिले प्रयोगबिहीन छ ।विश्वविद्यालयले उक्त हेलिकप्टर र यसमा प्रयोग हुने केही जगेडा सामग्रीहरु प्राप्त गरेपश्चात अध्ययनरत विद्यार्थीहरुको एरोनटिकल विधामा प्राविधिक ज्ञान अभिबृध्दिमा सहयोग पुग्ने नेपाली सेनाले विश्वास लिएको छ । साथै, भविष्यमा पनि नेपाली सेनाद्वारा हवाई साधन मर्मत तथा उडानसम्बन्धी विषयमा प्राविधिक ज्ञान,सीप तथा यस्ता किसिमका अध्ययन सामग्रीहरु हस्तान्तरण गरिने प्रतिवद्धता जनाएको छ ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा.सुवास श्री पोखरेल, रक्षा मन्त्रालयका सहसचिव यज्ञप्रसाद ढुङ्गेललगायत अन्य पदाधिकारीहरु,मेडिकल शिक्षा समन्वय अधिकृत र नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति थियो ।

टिप्पणीहरू