एमाले बैठकमा भीम रावलले अमेरिकी मन्त्रीको कुरा उठाउँदा ओलीले छेक्दै भन्नुभयो– भोलि म बोलिहाल्छु, भो त्यो पर्दैन

एमाले बैठकमा भीम रावलले अमेरिकी मन्त्रीको कुरा उठाउँदा ओलीले छेक्दै भन्नुभयो– भोलि म बोलिहाल्छु, भो त्यो पर्दैन

स्थानीय तह निर्वाचनसम्म पुग्दा एमालेको पराजयका विविध आयाम छन्, तर त्यसबारे छलफल, चर्चा र बहस गरिँदैन । बरु, आफ्नो मन बुझाउन मनलाग्दी विश्लेषण गरिँदैछ । स्थानीय निर्वाचनको परिणाम आएपछि एमालेले एकदिन संसदीय दलको बैठक बोलायो । जनताबीच काम गरेर आएका, चुनाव जितेका अनेकन नेता त्यहाँ थिए । तर, तिनका कुरा सुनिएन । मात्रै अध्यक्ष केपी ओलीले बोल्नुभयो, मन लाग्नेले ताली बजाए, नलाग्ने चूपचाप बसे । बैठक सकियो ।

यस्तो एकल प्रस्तुतिसहितको बैठकमा केही नेता बोल्न चाहेका थिए, तर समय पाएनन् । तिनले राजीनामा माग्लान्, नेतृत्वको आलोचना गर्लान् र बैठकलाई लम्ब्याएर समय बर्बाद पार्लान् भन्ने चिन्तामा हुनुहुन्थ्यो ओली । उहाँले धाँधली भयो, घेराबन्दी भयो भन्दै समीक्षालाई टार्नुभयो ।

तर, पराजयप्रतिको आफ्नो कमजोरी स्वीकार्ने, नैतिक जिम्मेवारी लिनेजस्ता कुरा गर्नुभएन । हार्नुको कारणबारे उहाँको निश्कर्ष थियो, ‘माथि कांग्रेसले गर्दा, तल अरुले गर्दा †’ जबकि, ०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीले गरेका धाँधली, मतदाता तर्साउन अपनाइएका शैलीदेखि अनेकन प्रमाण थिए । एमाले तेस्रो दल हुन पुग्नुका पछाडि माओवादीले के–के हत्कण्डा अपनायो भन्ने कुरा पनि छर्लङ्ग थियो ।

तर, नैतिक रूपमा पदमा रहिरहन उचित नलागेर तत्कालिन महासचिव माधवकुमार नेपालले राजीनामा दिनुभयो । अहिलेको स्थिति ०६४ को जस्तो होइन । मतदान हुन्जेल, मतगणना चलुन्जेल नभएको धाँधली एकाएक परिणाम आउन थालेपछि कसरी भयो ? यसको जवाफ एमालेजनसँग छैन, ओलीसँग पनि छैन । त्यसैले ०६४ को पराजयपछिको अभ्यासकै आधारमा पनि उहाँले राजीनामा दिनुपर्ने हो । त्यसमाथि यसचोटि त उहाँकै कार्यशैली, उहाँकै छनौटका उम्मेदवार हुनाले एमाले पराजित भएको छ ।

यस्तो बेलामा कुरा बुझेका केही नेता पनि ओलीका कुरामा आगोमा घ्यु थपेझैँ गर्दैछन् । कारण हो, उहाँ अहिले कान्लाबाट झर्नुभएको छ, घोप्टेभिरबाट नझारी उहाँको चेत खुल्दैन भनेर । जस्तो कि विष्णु पौडेल । ओलीका अभिव्यक्तिमा सबभन्दा बढी लोली मिलाउने व्यक्ति हुन्, महासचिव शंकर पोखरेल ।

एकजना एमाले नेता भन्छन्, ‘ओलीले अर्को एउटा ठक्कर नखाई शंकर पोखरेल गलत रहेछन् भन्ने कुरा चाल पाउनुहुन्न । जब त्यो कुरा चाल पाउनुहुन्छ, अनि बल्ल विष्णु पौडेल ठीक थिए भन्नेमा पुग्नुहुन्छ ।’ ती नेता भन्छन्, ‘यसकारण विष्णु पनि आगोमा घ्यु थप्दै हुनुहुन्छ ।’

संसदीय दलको बैठकमा ओली बोल्दाबोल्दै भीम रावलले देशभित्र गम्भीर कूटनीतिक विचलन आएको भन्दै शरणार्थी शिविरहरूमा अमेरिकी उपविदेश मन्त्री निर्वाध पुगेकोप्रति आपत्ति जनाउँदा ओलीले तिनलाई पनि आफ्नो कुराको रूपमा संलेषण गर्दै बोलिरहनुभयो । रावलको भनाई थियो, यस्तो बेला चुप लाग्नुहुन्न ।

विरोधमा विज्ञप्ति निकालौं तर ओलीले त्यसलाई टार्दै भन्नुभयो– भो परेन, भोलि नीति तथा कार्यक्रममाथि मैले टिप्पणी गरिहाल्छु । त्यहीबेला यो प्रसंग पनि कोट्याउँला । ‘चुनावमा ३ जना मरे’ ओलीको यो हिसावमा योगेश भट्टराईले ताप्लेजुङमा वैशाख २८ गते अर्का १ जना पनि मरेको भनी संख्या थप्न लगाउनेबाहेक कोही कसैले चुनावको नाममा ‘च’ उच्चारण गरेको पाइएन ।

एकथरि नेता बैठक हल बाहिर निस्किएर चर्चा गर्दै थिए, अमेरिकी मन्त्रीको कुरा उठाउँछु भन्ने स्वयं ओली पनि कूटनीतिक मर्यादामा कति नैतिक हुनुहुन्छ भन्ने कुरा रअका प्रमुख सामन्त गोयलसँग बालुवाटारमा मध्यरातको भेटले बताउँछ । उनीहरूको चर्चाको कोण थियो, लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको चुच्चे नक्सामा । ०७७ पुस ५ अघि सामन्त गोयललाई मध्यरात बालुवाटार बोलाएर उहाँले पार्टीे सचिवालय बैठकको दृश्य देखाउनुभयो ।

०७७ वैशाख अन्त्यमा चुच्चे नक्सा ओलीका कारण नभई पार्टी सचिवालय बैठकको दबाबका कारण जारी भएको थियो । उहाँले गोयललाई देखाउनुभएको भिडियो दृश्यमा माधव नेपाल, प्रचण्डसहितका नेताले उक्त नक्सा जारी गराउन दबाब दिएको छर्लङ्ग थियो । त्यस्तो भिडियो देखाएपछि सामन्तले आफ्ना प्रधानमन्त्रीलाई ओलीबारे राम्रो र माधव–प्रचण्डबारे नराम्रो कुरा सुनाउने नै भए । गरे पनि त्यसै ।

संसदीय दलको बैठक बसेको भोलिपल्ट ओलीले संसदमा नीति तथा कार्यक्रममाथि आफ्नो टिप्पणी पेश गर्ने क्रममा लगातार तीन घण्टा भाषण गर्नुभयो । भन्नुभयो, ‘इपिजीको रिपोर्ट भारतीय प्रधानमन्त्रीले नबुझे पनि एकतर्फी रूपमा नेपालले बुझ्नुपर्छ ।’ हाँस्यास्पद कुरा के छ भने, नेपाल–भारत प्रवुद्ध समूह (इपिजी) बन्यो, ओलीबाटै । जब त्यसको रिपोर्ट तयार भयो, त्यसबेला पनि उहाँ नै प्रधानमन्त्री हुनुहुन्थ्यो ।

अहिले उहाँ जसरी शेरबहादुर देउवालाई उक्त प्रतिवदेन एकतर्फी रूपमा भए पनि बुझ्न भन्दै हुनुहुन्छ, त्यो मौका हिजो उहाँ आफैँ प्रधानमन्त्री हुँदा पनि थियो । तर, उहाँले बुझ्नुभएन । कारण हो, भारतसँग उहाँ देखिँदा लडाइँ गरेजस्तो, भित्रभित्र मिलेको । र, उक्त प्रतिवेदन एक्लै बुझ्नु भारतलाई जिस्क्याउनु वा ऊसँगको कूटनीतिक सम्बन्धमा औँलो ठड्याउनुजस्तो हुन्छ ।

विश्व राजनीतिमा शीतयुद्धपछि विकसित हुन नसकेको ध्रुवीकरण अहिले विकास भएको छ । अर्थात्, एमसीसी फर्काएको र चीनसँग सान्निध्यताको बदलास्वरूप श्रीलंकालाई अस्तव्यस्त बनाइएको छ । पाकिस्तानमा धेरै सम्भावना बोकेर उदाएका इमरान खान जब सि चिनफिङ र पुटिनसँग नजिकिए, तब उनलाई कसरी हिँडाइयो ? घटना ताजै छ ।

अहिले भारत–अमेरिका निकटताका नाममा जसरी ओली देउवा सरकारतिर औँलो उठाउँदै हुनुहुन्छ, यसले उहाँलाई र उहाँको पार्टीलाई पुग्नसक्ने क्षतिबारे सोच्नुभएको हो कि होइन ? बुझ्न सकिएको छैन ।

टिप्पणीहरू