घनश्याम भुसाललाई पुर्जी काट्न ओलीको निर्देशन

घनश्याम भुसाललाई पुर्जी काट्न ओलीको निर्देशन

स्थानीय चुनावमा अनपेक्षित नतिजा व्यहोरेको नेकपा एमालेमा त्यसैलाई लिएर विवाद चर्किएको छ । अध्यक्ष खड्गप्रसाद शर्मा ओलीसहितका शीर्ष नेताहरुले पार्टी पराजय हुनुमा अन्तर्घात प्रमुख कारण रहेको बताएपछि तलका कार्यकर्ता आरोप-प्रत्यारोप र कुटाकुटमा उत्रिन थालेका छन् ।

ओलीसहित एमालेका अधिकांश ठूला नेताले चुनावअघि ६० प्रतिशत स्थानीय तह जित्ने दाबी गर्नुभएकाे थियाे । तर, सोअनुसारको परिणाम प्राप्त नभएपछि एकले अर्कालाई आरोप लगाउने होडबाजी चलिरहेको छ । ओलीले केही दिनअघि संसदीय दलको बैठकमा लज्जास्पद अन्तर्घात पार्टी पराजयको मुख्य कारण भएकाले छानबिन हुने बताउनुभएको थियो । हिजो फेरि उहाँले आफ्नै नेताहरुबाट पार्टी जोगाउन चुनौती थपिएको बताएपछि एमालेमा अन्तर्घातको विषय चर्कोरुपमा उठेको हो ।

यसैबीच हारको नैतिक जिम्मा लिएर पद त्याग गर्न अध्यक्ष ओलीलाई सुझाव दिने स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने तयारी भैरहेको स्रोतले बताएको छ । अनुशासन आयोगको बैठक राखेर तत्काल भुसाललाई पूर्जी काट्न अध्यक्षले आयोग प्रमुख केशव बडाललाई भनिसकेको र सोहीअनुसार गर्ने तयारी थालिएको बताइएको छ ।

स्रोतका अनुसार अस्ति बसेको आयोगको बैठकमा भुसाललाई स्पष्टीकरणको पत्र काट्ने बडालको तयारी थियो । तर,केही सदस्यले व्यक्ति विशेषलाई पत्र काट्नु भन्दा पनि सिंगो पार्टी पराजयको समीक्षा हुनुपर्ने बताएपछि बडालले ‘माथिको प्रेसर’ भन्दै अध्यक्षले नै यसो गर्न भनेको संकेत गरेका हुन् ।

बताइएअनुसार उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव पद्मा अर्याललाई पनि पत्र काटिने सम्भावना छ । उहाँहरुमाथि पोखरा महानगरमा आफ्ना उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप छ । पोखरामा एमाले कार्यकर्ताहरुले मेयरका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यसँग पैसा लिएर आफ्नै उम्मेदवारलाई हराउन बनाएको योजनासहितको अडियो बाहिरिएको थियो । त्यसमा गुरुङ र अर्यालको पनि नाम जोडिएपछि उनीहरुलाई समेत प्रष्टीकरणको पत्र थमाइने सम्भावना रहेको स्रोतको भनाइ छ ।

अध्यक्ष ओलीको फोटोसहितको फ्लेक्स बोर्ड बनाएर बिजुलीका पोलमा झुन्ड्याउनेहरुले हारको जिम्मा पनि लिनुपर्छ । राम्रो काम गरेकोमा जश उनीहरुले लिने अनि हारको जिम्मा चैँ अरुले लिइदिनु पर्ने ?

भुसालले भने चुनावी परिणाम सार्वजनिक हुँदै गर्दा एक राष्ट्रिय टेलिभिजनमा अन्तर्वार्ताका क्रममा अध्यक्षले हारको जिम्मा लिनुपर्ने बताउनुभएकाे थियाे । उहाँले अध्यक्षले नैतिकताका आधारमा राजीनामा दिनु उपयुक्त हुने आशय पनि प्रकट गर्नुभएकाे हाे । त्यसैलाई लिएर स्पष्टीकरण सोधिहाल्न ओलीले केशव बडाललाई निर्देशन दिनुभएको छ ।

ओलीले अन्तर्घातले चुनाव हारेको भनेपछि खासगरी १० बुँदे पक्षधर भनिने तत्कालीन माधव नेपाल समूहका नेताहरु पनि तारोमा परेका छन् । तर, उक्त समूह निकट स्रोतले भने महाधिवेशनपछि पार्टीमा संगठित समूह नरहेको भन्दै ओलीनिकट नेताहरुबाटै अन्तर्घात भएको समेत दाबी गरेको छ । अध्यक्ष ओलीसँग निकटता देखाएर अरुलाई नगन्ने प्रवृत्ति नै अन्तर्घातको मूल शक्ति भएको बताइन्छ ।

ओली नेतृत्वको सरकारले गरेका काम र प्रतिनिधिसभा विघटनको निर्णयको पुनर्समीक्षा नगरी चुनावको वस्तुनिष्ठ समीक्षा हुनै नसक्ने मत पनि एमालेमा छ । त्यतिबेलाको सरकारले जनतामा प्रभाव पार्ने गरी लोकप्रिय काम गर्न नसकेको बरु संसद भंग गरेर बदनामी कमाएकाले चुनावमा अनुकूल परिणाम नआएको भन्नेहरु एमालेमा धेरै छन् ।

‘अध्यक्ष ओलीको फोटोसहितको फ्लेक्स बोर्ड बनाएर बिजुलीका पोलमा झुन्ड्याउनेहरुले हारको जिम्मा पनि लिनुपर्छ । राम्रो काम गरेकोमा जस उनीहरुले लिने अनि हारको जिम्मा चै अरुले लिइदिनु पर्ने ?’ आक्रोशित हुँदै एक नेताले भने । अध्यक्षले पार्टीलाई एकल नेतृत्वमा चलाएको र सरकारमा हुँदा एकलौटी गरेकाले अहिले अन्तर्घात भनेर उम्कन नमिल्ने उनको भनाइ छ ।

‘पार्टीमा अन्तर्घात भएको भनिएको छ । यदि हो भने पनि त्यसको जिम्मा त अध्यक्षले नै लिनुपर्ने होला नि ! कि उहाँ अनुशासनहीन फौजको कमाण्डर भएर बसिरहनु हुन्छ ? ति नेताले अध्यक्षसँग सोधे । स्थानीयस्तरमा राम्रो काम गरेर लोकप्रियता कमाएका धेरै उम्मेदवारले राष्ट्रिय राजनीतिका कारण चुनाव हार्नुपरेको तथ्य नभुल्न उनले आग्रहसमेत गरेका छन् ।

टिप्पणीहरू