सरकारले नै कर्मचारीलाई घुस दिएको आरोप

सरकारले नै कर्मचारीलाई घुस दिएको आरोप

सरकारमाथि चुनाव जित्नका लागि १५ प्रतिशत तलव बढाएर कर्मचारीलाई ‘घुस’ दिएको आरोप लागेको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले पेट्रोलियम पदार्थलगायका दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले भने, ‘अहिले १५ प्रतिशत कर्मचारीको तलबबृद्धि पनि चुनाव जित्नकै लागि हो । चुनाव जित्नका लागि कर्मचारीलाई एक प्रकारको घुस दिइएको हो ।’

अध्यक्ष गजुरेलले चुनावमा जित्नका लागि जनतालाई जसरी पनि खुशी पार्नुपर्ने भएकाले सरकारले सोहीअनुसार नै बजेट ल्याएको दाबी गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा आगामी कात्तिक मसान्तभित्र संघ र प्रदेशको पनि चुनाव सम्पन्न गरिसक्ने पक्षमा रहेको उल्लेख गर्दै उनले भने, ‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संघ र प्रदेशको चुनावमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य गरेर जाने डरले पनि प्रधानमन्त्री देउवा निर्वाचन छिटो सम्पन्न गराउने पक्षमा हुनुहुन्छ ।’

गजुरेलले भारतीय विद्युतीय गाडी उत्पादक कम्पनीहरुसँग कमिशन खाएर सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीको सञ्चालनमा जोड दिने गरी बजेट ल्याएको आरोप पनि लगाएका छन् । तर पेट्रोलियम पदार्थको विकल्पको बारेमा उक्त दल र तिनका नेताको कुनै प्रस्ताव छैन ।

टिप्पणीहरू